काठमाडौं । पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा विशेष ध्यान दिन थालेका छन् ।
तर, यो वर्षको तिहारको तीन दिनमा मात्र छिमेकी मुलुक भारतबाट साढे ५ करोडबराबरको केरा र सुन्तला खरिद गरिएको छ । भारतबाट साढे २ करोडबराबरको केरा आयात हुँदा कैलालीको टीकापुरमा फलाइएको केरा भने खेर गएको छ ।
भारतबाट केरा आयात हुँदा कैलालीको केरा किन काठमाडौं आएन त ? कैलालीको केरा किन कुहिने अवस्था आयो त ? नेपाल फलपूmल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँको स्पष्ट जवाफ छ, ढुवानीको समस्या ।
बानियाँ भन्छन्, कैलालीको टिकापुरमा उत्पादन भएको केरा समयमै काठमाडौं पुर्याउन नसक्दा भारतबाट २ करोड ५० लाख मूल्यको केरा आयात गर्नुपर्यो ।’ बानियाँका अनुसार, टीकापुरबाट काठमाडौंमा सामान ल्याउन भारतभन्दा धेरै समय लाग्छ । भारतको सामान काठमाडौं ल्याउन दुई दिन लाग्छ । तर, टीकापुरबाट काठमाडौं पु¥याउन दुई दिनभन्दा बढी लाग्छ । बाटोमै धेरै समय लाग्ने हुँदा कुहिनेलगायतका कारण भारतकै केरा रोजाइमा पर्न गयो । ‘उत्पादन भएर पनि बजारीकरण गर्न ढुवानीको समस्या छ । कैलालीमा उत्पादित केराले यो समस्या भोगिरहेको छ,’ बानियाँले भने ।
ढुवानी मात्रै होइन, नेपाली उत्पादनमा ग्रेडिङ गर्ने प्रणाली पनि छैन । ग्रेडिङ नहुँदा पनि धेरै सामान कुहिने गर्छ । ग्रेडिङ राम्रो नहुँदा किसान र व्यापारी दुवैलाई नोक्सानी हुन्छ । ‘सामान ढुवानीमा सहजता र राम्रो ग्रेडिङ गेरर सामान बजारमा पठाउने हो भने भारतबाट केरा आयात गर्नुपर्ने अवस्था नै छैन, नेपालमै उत्पादित केरा राम्रो छ, ढुवानीमा असहजता र ग्रेडिङको अभावमा नेपाली किसानको केरा खेतमै कुहिने अवस्था छ,’ अध्यक्ष बानियाँ भन्छन् । उनले यो वर्ष ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत आयात गरेर तिहारका लागि आवश्यक मागलाई आपूर्ति गरेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS