काठमाडौँ । आज संयुक्त राष्ट्रसंघ स्थापना भएको दिन अर्थात अक्टोबर २४ । आजकै दिन सन् १९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो ।
नेपालसहित सबै सदस्य राष्ट्रहरुले आज शान्ति, एकता र विश्वव्यापी साझेदारीको प्रवर्द्धन गर्दै राष्ट्रसंघ दिवस मनाउदैछन् ।
दोस्रो विश्वयुद्धको समाप्तिपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । सोही दिनलाई सन् १९४८ देखि संयुक्त राष्ट्रसंघ दिवसका रुपमा मनाउन लागिएको हो । विश्वमा शान्ति स्थापना, मानव अधिकारको रक्षा र अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघको स्थापना गरिएको हो । अमेरिकाको न्यूयोर्क शहरमा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघमा हाल १९३ राष्ट्र सदस्य रहेका छन् ।
नेपालसहित १४ वटा देशले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेका थिए । दिवसका अवसरमा नेपालमा रहेका संयुक्त राष्ट्रसंघका निकायले पनि विभिन्न कार्यक्रम गर्दैछन् । युद्धको विभीषिकाबाट विश्व र भावी पुस्तालाई बचाउन आजकै दिन उक्त विश्व संस्थाको स्थापना भएको हो ।
सुरक्षा परिषद्का पाँच स्थायी राष्ट्र चीन, फ्रान्स, बेलायत, अमेरिका र तत्कालीन सोभियत संघसहितका राष्ट्रले संयुक्त राष्ट्रसंघ स्थापनासम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेसँगै यो विश्व संस्था अस्तित्वमा आएको पाइन्छ ।

FACEBOOK COMMENTS