काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी फागुन २० मा रिक्त हुने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो । फागुन २० मा पदावधि सकिने सांसदमा सबैभन्दा बढी नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ७ जना, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाका एक–एक जना रहेका छन् ।
त्यस्तै एक जना मनोनीत सांसद छन् । पदावधि सकिने एमालेका सांसदमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी रहेका छन् । त्यस्तै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेका छन् । एकीकृत समाजवादीका डा. बेदुराम भुसाल र बामदेव गौतमको कार्यकाल सकिँदैछ । गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन तर हाल उनी एकिकृत समाजवादीमा रहेका छन् । त्यस्तै जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोसपाका शेखरकुमार सिंहको पदावधि सकिदैछ ।
२- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथिको प्रारम्भिक सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटविरुद्ध परेका १६ रिटमाथि बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा भएको सुनुवाईपछि कारण देखाउ आदेश जारी भएको हो ।
प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै दायर गरिएका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संबैधानिक इजलासले ७ दिन भित्र जवाफ दिन भन्दै कारण देखाउ आदेश जारी गरेको छ । संबैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका थिए ।

३- राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । राष्ट्रपति पौडेल कतारको दोहामा हुने दोस्रो सामाजिक विकास विश्व सम्मेलनमा भाग लिन कार्तिक १७ देखि २० गतेसम्म त्यसतर्फ जाने भएका छन् ।

४- भारत र अष्ट्रेलियाबीचको टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध भएको छ । बुधबार क्यानबेरामा भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ९.४ ओभरमा एक विकेट गुमाउदै ९७ रन बनाएपछि बर्षका कारण खेल हुन नसकेको हो । यसअघि बर्षाका कारण खेललाई १८-१८ ओभरमा घटाइएको थियो ।

वर्षाले खेल दुई पटक अवरोध गरेको थियो । पहिलो पटक पाँच ओभर सकिएपछि खेल रोकिएको थियो, तर दुई ओभर काटेर पुनः सुरु गरिएको थियो । खेल पुनः सुरु हुँदा १८ ओभरको खेल खेल्ने निर्णय गरिएको थियो । ५ खेलको सिरिजको पहिलो खेल रद्ध भएपछि अब दोस्रो खेल शुक्रबार मेलवर्नमा हुने तालिका रहेको छ ।

५- इजरायलले गाजामा भिषण आक्रमण गरेको छ । मंगलबार राति गाजामा इजरायली आक्रमणमा लगभग १०४ प्यालेस्टिनीहरू मारिएको रिपोर्टमा बताइएको छ । मृत्यु हुनेहरूमा ४६ बालबालिका र २० महिला पनि रहेका छन् भने २५० जना घाइते भएका छन् । इजरायली रक्षा बलले ‘दर्जनौं आतंकवादी लक्ष्य र आतंककारीहरूलाई’ लक्षित गरेको दाबी गरेको छ । यो आक्रमणपछि इजरायली सेनाले आफ्नो आक्रमण रोकेको बताएको छ ।

इजरायलले हमासका ३० अड्डामा आक्रमण गरेको जानकारी दिएको छ । सेनाले हमासले युद्धविराम उलंघन गरेमा फेरी आक्रमण गर्ने भन्दै अहिलेका लागि आफुहरुले युद्धविरामको पालना गरेको बताएको छ । इजरायलले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा भएको युद्धविरामको पालना नगरेको बन्धकका गलत शव हस्तान्तरण गरेको र पुरै शव पनि अहिलेसम्म हस्तान्तरण नगरेको आरोप लगाएको छ ।
६- गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । छलफलमा गृहमन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिन प्रतिदिन सुधार हुँदै गएको जानकारी गराएका छन् । भेटमा अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि छलफल भएको मन्त्री अर्यालको सचिवालयले जानकारी दिएको छ ।
७- सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको छ । वुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए । त्यस्तै बैठकले संघीय संसदका सांसदको स्वकीय सचिव हटाउने निर्णय गरेको छ । त्यसैगरी कतारको दोहामा हुने दोस्रो सामाजिक विकास विश्व सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेलको कार्तिक १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
८- नेप्से आज सामान्य घटेको छ । बुधबार नेप्से ५.१७ अंकले घटेर २५६६. १६ विन्दुमा पुगेर रोकिएको छ । आज ३२१ कम्पनिका एक करोड १५ लाख १ हजार २८४ कित्ता शेयर ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ मा कारोबार भएको थियो । आज होटल, हाइड्रो, माइक्रो फाइनान्स र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर मुल्य घटेका छन् ।
आज खानि खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्तको शेयरमा ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी आज ज्योति विकास बैंकको बन्डको शेयर ५.६६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २३ करोड ६५ बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोड १९ लाख बराबरको कारोबार भएको छ ।
९- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । प्रचण्डले नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने उल्लेख गर्दै उनीहरुका माग पुरा गर्न सरकारसँग माग गरेका हुन् ।
उनले भनेका छन्: यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरूद्ध विभिन्न चरणमा आन्दोलनरत् छन् । नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन। त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ ।
१०- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता रहेको बताएका छन् । बुधबार शुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता रहेको बताउदै बलियो क्रान्तिकारी शक्तिको निर्माण क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकताबाट हुनसक्ने बताएका हुन् ।
नेपालले समानता भएका दलसँग एकता गर्न ढिला गर्न नहुने धारणा राखेका छन् । आफ्नो प्रतिवेदनमा एमालेमा गरिएको विद्रोहको औचित्य पुष्टि भएको उल्लेख गर्दै भने- ʻएमालेमा गरिएको विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन। हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन ।ʼ नेपालले केपी ओलीलाई अहंकारी भन्दै उनलाई सत्ता च्युत गरिएको बताए ।
नेपालले संविधान खारेजी र संसद् विघटनको माग जेन–जी पुस्ताको नभएको दाबी गर्दै घुसपैठियाहरूले संसद् विघटन गराएको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘जेन–जी पुस्ताको माग वर्तमान संविधानको खारेजी र संसदको विघटन थिएन । उनीहरूको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने थियो। प्रतिनिधि सभाको विघटन गराउने काम घुसपैठियाहरूले गरे ।’ लोकतन्त्रलाई नै समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको बताउदै नेपालले भनेका छन्- ‘यसमा जेन–जी पुस्तासमेत सचेत हुन जरुरी छ। लोकतन्त्र नै रहेन भने वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतालगायत सबै प्रकारका मौलिक हक र नागरिक अधिकार खोसिने छन् ।’
११- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाँउपालिका-३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै उपर उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ । अध्यक्ष मडैले उपभोक्ता समितिको माईन्युटिङ्गको प्रतिलिपि नक्कली तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारी विना चेकमा किर्ते हस्ताक्षर गरी उक्त चेकको प्रयोग गरी १८ लाख १५ हजार अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
१२- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार मानव अधिकार आयोगसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन् । उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए । आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनले जानकारी दिए ।
१३- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतीय पावरमन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँ दिल्लीमा रहेका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।
विद्युत मन्त्रमालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युतव्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति,दुवै देशबीच दीर्घकालीन ऊर्जाक्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो । भेटमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।
१४- नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की -दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम -जे=भि तथा शेयरहोल्डर सम्झौतापत्र मा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणकातर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्रर पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरेका हुन् । संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ ।
१५- शक्तिशाली आँधी मेलिसा क्यारेबियन राष्ट्र जमैकामा पुगेको छ । मेलिसालाई शताब्दीको सबैभन्दा खतरनाक आँधीको रूपमा वर्णन गरिएको छ । जमैकाभरि ३०० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । सरकारले ६ लाख मानिसहरूलाई सुरक्षितस्थानमा सारेको बताएको छ । आँधीको प्रभावका कारण जमैकामा तीन जना, छिमेकी हैटीमा तीन जना र डोमिनिकन रिपब्लिकमा एक जनाको मृत्यु भएको छ । यो आँधी यति शक्तिशाली छ कि यसले सम्पूर्ण देशहरूलाई तहसनहस पार्न सक्ने चेतावनी दिइएको छ ।
श्रेणी ५ को आँधीलाई सबैभन्दा खतरनाक श्रेणी मानिन्छ । संयुक्त राष्ट्र संघले मेलिसा आँधीलाई शताब्दीको सबैभन्दा शक्तिशाली आँधी घोषणा गरेको छ । यो आँधी पहिले हैटी र डोमिनिकन रिपब्लिकमा आएको थियो र अहिले जमैका नजिकिँदै गर्दा यो अझ खतरनाक भएको छ । यसको अवतरणको समयमा, प्रति घण्टा ३०० किलोमिटरसम्मको हावा र भारी वर्षा भइरहेको थियो । यो हावाको गति यति बलियो छ कि यसले ठूला भवनहरू ध्वस्त पार्न सक्छ । यसले बिजुली र सञ्चार प्रणालीलाई पनि नष्ट गर्न सक्छ ।
१६- नेपाली बजारमा सुनको मुल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ३७ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर २९६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २९२० मा कारोबार भएको थियो ।
१७- सोलुखुम्बु लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेका पाइलट विवेक खड्का सकुशल रहेका छन् । लुक्ला विमानस्थल प्रमुख जेनिश राजभण्डारीका अनुसार खड्कालाई कैलाश एयरको हेलिकप्टरले उद्धार गरेर लुक्ला विमानस्थल पुर्याएको छ । उनी सकुशल रहेको र अस्पताल जान पर्ने अवस्थामा समेत नरहेको बताइएको छ । हेलिकप्टर दुर्घटनापछि लुक्ला विमानस्थलले रामेछाप र काठमाडौंका लागि हुने नियमित उडानहरू रोकेको छ ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग बैठकमा भाग लिन दक्षिण कोरिया जाँदैछन् । उत्तर कोरियाले सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । यो परीक्षणलाई उत्तर कोरियाको आणविक हतियारलाई वैध बनाउने सानो प्रतीकात्मक प्रयास मानिएको छ ।
उत्तर कोरियाको सरकारी मिडियाका अनुसार, क्षेप्यास्त्रहरू ठाडो रूपमा प्रहार गरिएका थिए र लगभग ७,८०० सेकेन्डसम्म हावामा रहेको उल्लेख गरेको छ । दक्षिण कोरियाको भ्रमणको क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने कुनै संकेत हालसम्म देखिएको छैन । ट्रम्पले आज दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङसँग भेट गर्नेछन् । दक्षिण कोरिया अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिन दबाबमा छ ।
१९- नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको जानकारी दिएको हो । सिआईबीले भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन् ।
विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । २०८१ को असोज ११ मै सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि प्रहरीमा जाहेरी पठाए पनि भट्टचन सत्तारुढ दलका सांसद भएको र शक्तिको पहुँचमा रहेकाले अनुसन्धान अघि बढ्न सकेको थिएन ।
२०- एप्पलको बजार पूँजीकरण पहिलो पटक ४ ट्रिलियन डलर नाघेको छ । एप्पल एनभिडिया र माइक्रोसफ्ट पछि यो आँकडा पार गर्ने तेस्रो कम्पनी बनेको छ । एनभिडिया ४.७१ ट्रिलियन डलरको बजार मूल्यको साथ विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो । त्यस्तै माइक्रोसफ्ट ४.०६ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी रहेको छ । अब एप्पल ४ ट्रिलियन डलरको कम्पनि बनेको छ । यो संख्या भारतको जीडीपी बराबर रहेको छ ।
आईएमएफका अनुसार, भारतको जीडीपी हाल ४.१३ ट्रिलियन डलर रहेको छ । एप्पलपछि गुगल समुह एल्फावेटको बजार मुल्य ३२४ ट्रिलियन डलर रहेको छ भने अमेजनको २४२ ट्रिलियन डलर रहेको छ । अक्टोबर २८ मा, एप्पलको स्टक व्यापारको क्रममा २६९.८७ डलरको सर्वकालीन उच्चतम स्तरमा पुगेको थियो, जसले कम्पनीको बजार पूँजीकरण पहिलो पटक ४ ट्रिलियन पार गर्यो । कम्पनीको स्टक हाल २६८.५१ डलरमा कारोबार भइरहेको छ । सेप्टेम्बर ९ मा लन्च गरिएको आईफोन १७ सिरिजका कारण एप्पलको बजार मूल्याङ्कन बढेको छ ।
आईफोन १७ सिरिज लन्च भएदेखि एप्पलको स्टक १५ प्रतिशतले बढेको छ । त्यतिबेला कम्पनीको स्टक २३४ डलर रहेको थियो । यस वर्षको सुरुमा, कम्पनीको स्टक ऋणात्मक थियो, तर अहिले सकारात्मक भएको छ । काउन्टरपोइन्ट रिसर्चको तथ्याङ्क अनुसार, अमेरिका र चीनमा आईफोन १७ को बिक्री अघिल्लो मोडेलको तुलनामा १४ प्रतिशत बढी भएको छ । रिपोर्टका अनुसार, एप्पल एआई दौडमा अलि पछाडी रहेको छ, जसले स्टकमा दबाब दिएको छ । एप्पल इन्टेलिजेन्स सुइट र च्याटजीपीटी एकीकरण आयो, तर सिरीको एआई अपग्रेड अर्को वर्षसम्म स्थगित गरियो ।
FACEBOOK COMMENTS