१- नेपालमा विदेशी पर्यटकको अगामन १.८ प्रतिशतले बढेको छ । गत बर्षको नोभेम्बर महिनामा भन्दा यस बर्षको नोभेम्बरमा नेपाल आउने विदेशी पर्यटकको संख्या १.८ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको नोभेम्बरमा कुल एक लाख १६ हजार ५५३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको नोभेम्बरमा एक लाख १४ हजार ४९६ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को नोभेम्बरमा यो संख्या एक लाख ३० हजार ३०२ रहेको थियो । नोभेम्बर महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् ।
भारतबाट नोभेम्बर महिनामा १८ हजार ९९५ जना अर्थात १६.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै नोभेम्बरमा अमेरिकाबाट ११ हजार २५४ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ । त्यसैगरी चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९ जना, बंगलादेशबाट ५ हजार ६५३, अस्ट्रेलियाबाट ५ हजार ३९३ जना, श्रीलंकाबाट ४ हजार ८३१ जना, म्यानमारबाट ४ हजार ४८४ जना फ्रान्सबाट ४ हजार २११ जना र जर्मनीबाट ४ हजार १३४ पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार जनवरी देखि नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ पर्यटक नेपाल आएका छन् । अघिल्लो बर्ष २०२४ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५२० पर्यटक नेपाल आएका थिए । जबकी कोरोना अघि २०१९ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ९६ हजार २९८ पर्यटक नेपाल आएका थिए ।
२- कालिकोटको नरहरिनाथ गाउँपालिका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष दल बहादुर बिश्वकर्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ८ जनाविरुद्ध गाउँपालिकाको वडा नम्बर ७ मा ओखेनी ओडीखोला सिंचाई कुलो निर्माणको क्रममा १९ लाख ४८ हजार ४८८ अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले उपाध्यक्ष बुढा र वडा अध्यक्ष विश्वकर्मालाई कानुन अनुसार कैद र जरिवानाको माग गरेको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, तत्कालीन सव-इन्जिनियरहरु अमर शाही र अनिल कुमार बिष्ट, उपभोक्ता समितका अध्यक्ष नरेश बहादुर शाही, सचिव कासी बिश्वकर्मा र कोषाध्यक्ष मधु बिश्वकर्माविरुद्ध जनही १९ लाख ४८ हजार ४८८ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेको छ ।

३- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का बुबा डा. रामनारायण शाहको अन्त्येष्टि गरिएको छ । सोमबार पशुपति आर्यघाटमा शाहको अन्त्येष्टि गरिएको हो । उनको सोमबार बिहान सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । पिसाबमा संक्रमण भएपछि उनलाई आइतबार अस्पताल पुर्याएर भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । शाहका श्रीमती, दुई छोरा र एक छोरी छन् । पशुपतिमा अन्त्येष्टिमा ठुलो संख्यामा उपस्थिति रहेको थियो । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्तादेखि कलाकार निश्चल बस्नेत, रास्वपाका नेताहरु शाहको अन्त्यष्टिमा सहभागी भएका थिए ।

४- लामो समयको विवादपछि नेपाली काँग्रेसले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रिय समितिको बैठकले पार्टीको १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् । महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक पटक पटक बैठक सरिरहेको थियो ।

कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले केन्द्रीय समितिको बैठकमा पेश गरेर सर्वसम्मत पारित भएको महाधिवेशनको कार्यतालिका अनुसार केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण मंसिर २० गतेभित्र गर्ने, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने समय मंसिर २४ गतेसम्म तोकिएको छ । त्यस्तै एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य पुस ८ गतेभित्र सम्पन्न गर्ने समय तोकिएको छ भने एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने समय पुस १० गतेसम्म तोकिएको छ ।

त्यसैगरी दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि पुस ११ सम्म तोकिएको छ । त्यस्तै नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर पुस १२ गते भित्र केन्द्रमा पठाउने, क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई पुस १४ गतेसम्म बुझाउने, केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई पुस १४ गते भित्र बुझाउनुपर्ने समय सीमा तोकिएको छ । त्यस्तै काँग्रेसले सार्बजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुसार पुराना क्रियाशील सदस्यता नवीकरण मङ्सिर मसान्त भित्र गरिसक्नुपर्ने समय तोकेको छ ।

जिल्लाले पुस ३ गते भित्र क्रियाशील सदस्यको नवीकरणको सुची केन्द्रमा पठाउनुपर्ने समय तोकिएको छ । त्यसैगरी जनसम्पर्क समितिको क्रियाशील नवीकरण मङ्सिर मसान्त भित्र, नयाँ क्रियाशील सदस्य र नवीकरणको सूची पुस ३ गते भित्र केन्द्रमा पठाउनु पर्ने र केन्द्रबाट पुस ५ गतेसम्म सो नामावली स्वीकृत गर्नुपर्ने र अधिवेशन पुष १५ गते भित्र हुनुपर्ने समय तोकिएको छ । त्यसैगरी काँग्रेसको गाउँ/नगर वडा अधिवेशन पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते , दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते र प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने कार्यतालिका पारित गरिएको छ । त्यस्तै केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा हुने तालिका रहेको छ ।
त्यस्तै काँग्रेसले महाधिवेशनका लागि आवश्यक पर्ने विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति, केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने विषय आवश्यक परामर्श गरेर सभापति/ कार्यवाहक सभापतिले गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ ।
५- दक्षिण अफ्रिकाका पुर्व कप्तान फाफ डुप्लेसिस नेपाल प्रिमियर लिग खेल्न काठमाडौँ आइपुगेका छन् । फाफ सोमबार अपराहन्न काठमाडौँ आइपुगेका हुन् । उनले सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किंग्सबाट एनपीएलका अबका खेलहरु खेल्ने छन् । फाफ विश्व क्रिकेटमा हाइप्रोफाइल क्रिकेटर हुन् । उनले आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको कप्तानी समेत गरेका थिए भने दिल्ली र चेन्नई सुपरकिंग्स जस्ता टिमबाट समेत खेलेका थिए ।
६- सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । सोमबार न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारको आयोग खारेज गर्ने निर्णय बदर गरिदिएको हो । गत असोज २३ गते बसेको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो ।
बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले गत कार्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । आजको सर्वोच्चको आदेशसँगै भूमि समस्या समाधान आयोग ब्युतिएको छ ।
७- युइए एसीसी पुरुष यू–१९ प्रिमियर कपको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले प्रतियोगिताको उपाधि जितेको हो । फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछाएको नेपालले ३३.२ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४५.५ ओभरमा अलआउट हुदै १४७ रन बनाएको थियो । नेपाल फाइनलमा पराजित भएपनि आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा भने छनौट भएको छ ।
८- भारतीय नेशनल काँग्रेसकी अध्यक्ष सोनिया गान्घी र राहुल गान्धीविरुद्ध एफआइआर दर्ता गरिएको छ । नेशनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धीविरुद्ध एफआईआर दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मुद्धा दर्ता भएपछि वरिष्ठ वकिल तथा कांग्रेस नेता अभिषेक मनु सिंघवीले नेशनल हेराल्ड मुद्दा एउटा अनौठो उदाहरण हो जहाँ कुनै पनि मौद्रिक लेनदेन वा लाभ बिना नै मनी लान्ड्रिङको मुद्दा बनाइएको आरोप लगाएका छन् । उनले भने- ‘नेशनल हेराल्डको मूल कम्पनी एसोसिएटेड जर्नल्स लिमिटेड धेरै पुरानो कम्पनी हो ।
यो कम्पनीले ब्रिटिश कालमा पनि बेलायतीहरूको विरुद्धमा उभिएको थियो । अखिल भारतीय कांग्रेस समितिले विभिन्न समयमा कम्पनीलाई ऋण प्रदान गरेको थियो, जुन एक समयमा ९० करोड थियो ।’ सिंघवीले कम्पनीलाई बलियो बनाउन यसको ऋणलाई इक्विटीमा परिणत गरिएको थियो र ऋणलाई इक्विटीमा परिणत गर्न अर्को कम्पनी, यंग इन्डियन गठन गरिएको थियो । यसरी, एजीएलको शेयर होल्डिङ यंग इन्डियनको हातमा आयो । यो सम्पूर्ण प्रक्रियामा न त पैसा न त सम्पत्ति हस्तान्तरण गरिएको थियो । उनले यस विषयमा कुनै सरकारी गुनासो नभएको बेला, ईडीलाई मुद्दामा संलग्न गराउन सकिँदैन किनभने ईडी ऐनले केवल एक अधिकार प्राप्त अधिकारीले मात्र उजुरी दर्ता गर्न सक्ने उनले बताए ।
आइतबार, प्रवर्तन निर्देशनालय (ईडी) को उजुरीको आधारमा, दिल्ली प्रहरीले नेशनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धी विरुद्ध एफआईआर दर्ता गरेको बताइएको छ । कांग्रेसका सञ्चार प्रमुख जयराम रमेशले भाजपाको आलोचना गर्दै सम्पूर्ण मुद्दालाई झूटो र आधारहीन भनेका थिए ।
९- नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्मलाई थप्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् । आजको बैठकले पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै एक महिनाको ग्रेस पिरियड राखेर केन्द्रीय समितिको म्याद माघ मसान्तसम्म थपिएको प्रवक्ता महत्तले जानकारी दिएका हुन् । काँग्रेसको वर्तमान कार्यसमितिको म्याद मंसिर २३ गते सकिदैछ ।
१०- नेप्सेमा सामान्य गिरावट देखिएको छ छ । सोमबार नेप्से ४.२८ अंकले घटेर २६४५. २४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२५ कम्पनिका एक करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी निफ्रा ग्रीन इनर्जी डिभेन्चरको शेयर ९.५१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी युनाइटेड मोदीको २७ करोड १० लाख कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको १५ करोड ३८ लाखको कारोबार भएको छ ।
११- ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गरेका छन् । नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्मको ९५ किलोमिटर सडक एशियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति २५ प्रतिशत छ ।
मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने कामलगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मन्त्री घिसिङ सडक स्तरोन्नतिको काम सुरु भएको तर जुन गतिमा हुन पर्ने हो त्यसअनुसार काम हुन नसकेको देखिएको बताए । हिउँद सुरुभएसँगै कामको गति बढाउनु पर्ने उपयुक्त मौसम भएको उल्लेख गर्दै मन्त्री घिसिङले जनशक्ति थप गरी कामको गति बढाउन आग्रह गरे ।
सडकको दायाँबायाँ रहेको विद्युतका पोल सार्न केही समस्या देखिएकाता पनि समस्या समाधान नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरी गरी निर्माण प्रभावित हुन नदिने उनले बताए । सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । काँकडभिट्टादेखि झापाको केरखा सितापुरीसम्म ४५ किलोमिटर खण्डको निर्माण प्रगति २९ प्रतिशत छ । यो खण्ड निर्माणका लागि कात्तिक २०८० मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सितापुरीदेखि सुनसरीको लविपुरसम्म ५० कलिोमिटर सडकको निर्माण प्रगति १३ प्रतिशत मात्र छ । आयोजनामा १३४ वटा कल्भर्ट तथा वन्यजन्तुमैत्री अण्डरपास, ७ वटा सवारी अण्डरपास, ५ वटा आकाशे पुललगायतका सडक संरचना निर्माण हुनेछन् ।
१२- दक्षिण भारतीय सिनेमाकी चर्ची अभिनेत्री सामन्था रुथ प्रभुले वैवाहिक सम्बन्ध शुरु गरेकी छन् । अभिनेता नागा चैतन्यसँग सम्बन्ध विच्छेद भएको लगभग चार वर्षपछि, सामन्था रुथ प्रभुले नयाँ जीवन सुरु गरेकी हुन् । सामन्थाले सोमबार निर्देशक राज निदिमोरुसँग विवाह गरेको जानकारी दिएकी छन् । सामन्थाले इन्स्टाग्राममा सुन्दर विवाहका तस्बिरहरू सेयर गरेकी छन्, जसमा उनी रातो साडीमा दुलहीको रूपमा सजिएकी देखिन्छिन् ।
सामन्थाले २०१७ मा अभिनेता नागा चैतन्यसँग विवाह गरेकी थिइन् । यद्यपि, २०२१ मा उनीहरूको सम्बन्ध विच्छेद भयो । नागा चैतन्यले पछि गत वर्ष अभिनेत्री शोभिता धुलिपालासँग विवाह गरे । त्यस्तै निर्देशक राज निदिमोरुको पनि दोस्रो विवाह हो । राजले २०१५ मा शिमाली डीसँग विवाह गरेका थिए भने २०२२ मा डिभोर्स भएको थियो । राज चर्चित लेखक-निर्देशक जोडी राज एण्ड डिकेका राज हुन् । दुवै जना बलिवुड र दक्षिण भारतमा थ्रिलर सिनेमा र सिरिज निर्माणका लागि चर्चित छन् । दुवैले द फ्यामिली म्यान, फर्जी जस्ता सिरिज निर्माण गरेका छन् ।
१३- बंगलादेशको एक अर्को अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ । स्थानीय मिडियाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको सशस्त्र कारावास, उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्षको सशस्त्र कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ ।
सोमबार, ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दीकी सहित १७ जनाविरुद्ध आफ्नो फैसला सुनाएको हो । भ्रष्टाचार विरोधी आयोगले पूर्वाचल नयाँ शहर परियोजनाको लागि सरकारी जग्गा अधिग्रहण गरेको आरोपमा मुद्दा दायर गरेको थियो । यसबाहेक, पूर्व आवास तथा सार्वजनिक निर्माण राज्यमन्त्री शरीफ अहमद र सार्वजनिक निर्माण मन्त्रालय, राजुक र प्रधानमन्त्री कार्यालयका १४ अधिकारीहरूलाई पनि मुद्दामा अभियुक्तको रूपमा नाम दिइएको छ । हसिनालाई यसअघि मृत्यु दण्डको सजाय सुनाइएको थियो भने एक अदालतले २१ बर्षको सजाय सुनाएको थियो ।
१४- नेपाली बक्स अफिसमा फिल्म परानले दर्शकलाई आकर्षित गर्नेक्रम जारी रहेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर १३ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म १६ करोड कमाई गरेको छ । परानले अहिलेसम्म १६ करोड १६ लाख ७७ हजार ५५८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ । त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड २३ लाख ५२ हजार ३१५ ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ९० हजार ९०४ टिकट बेचेको छ ।
त्यसैगरी जारी-२ ले अहिलेसम्म ६ करोड १९ लाख ३५ हजार ८५३ ग्रस कमाई गरेको छ । त्यस्तै जारी-२ को कुल २ लाख ६ हजार २३९ टिकट बिक्रि भएको छ । त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ७४ लाख ९१ हजार ४६१ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख ४३ हजार ३३५ टिकट बिक्रि गरेको छ ।
१५- चक्रवातका कारण भएको भारी वर्षाका कारण इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेका छन् । अझै पनि धेरै क्षेत्रहरू अझै पनि प्रमुख शहरहरूबाट विद्युत लाइन काटिएको छ र केही क्षेत्रहरू पाँच दिनदेखि मोबाइल सिग्नलविहीन छन् ।
उष्णकटिबंधीय आँधी कोटो भियतनाम नजिकै जमिनमा आएपछि थप तीन जनाको मृत्यु भएको छ । गत महिनाको सुरुमा भियतनामले दिनभरि भारी वर्षाको अनुभव गरेको थियो जसमा कम्तिमा ९० जनाको मृत्यु भएको थियो । त्यस्तै थाइल्याण्डमा १७० र मलेसियामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । नोभेम्बरको सुरुमा फिलिपिन्समा आएको आँधीमा ३०० जनाको मृत्यु भएको थियो ।
१६- भारतमा टेलिफोन जडानको कुल संख्या १२३ करोड नाघेको छ । पछिल्लो रिपोर्ट अनुसार १२३ करोड मध्ये ११८.४ करोड मोबाइल प्रयोगकर्ता छन् भने ४ करोड ६० लाख वायरलाइन ग्राहकहरू रहेका छन् । भारतमा रिलायन्स जियो सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी रहेको छ । रिपोर्ट अनुसार, जियोका हाल ४८.४७ करोड प्रयोगकर्ता रहेका छन् । जियोले फोरजी र फाइभ जी सेवाहरूको द्रुत रूपमा विस्तार गरिरहेको छ भने पहुँच र ग्रामीण क्षेत्रमा सुधारिएको नेटवर्क कभरेजले जियोको ग्राहक आधार लगातार बढिरहेको छ ।
त्यस्तै अर्को टेलिकम कम्पनि एयरटेलका हाल ३९ करोड ३६ लाख प्रयोगकर्ता रहेका छन् । एयरटेलको निरन्तर बढ्दो प्रिमियम प्रयोगकर्ता आधारले यसलाई देशको दोस्रो ठूलो टेलिकम कम्पनी बनाएको छ । त्यस्तै सरकारी स्वामित्वमा रहेको टेलिकम कम्पनी बीएसएनएलका हालसम्म ९ करोड २५ लाख प्रयोगकर्ता पुगेका छन् । त्यस्तै भोडाफोन-आइडिया (वी) ले बढ्दो कठिनाइहरूको सामना गरिरहेको छ ।
कम्पनीका हाल २० करोड प्रयोगकर्ता रहेका छन् । कमजोर नेटवर्क लगानी र ग्राहकहरूलाई कायम राख्न असफलता वी को लागि प्रमुख चुनौती बनेको बताइएको छ । भारतमा मोबाइल जस्तै ब्रोडब्यान्ड खण्ड द्रुत गतिमा बढिरहेको छ । अक्टोबरको रिपोर्टका अनुसार ब्रोडब्यान्ड प्रयोगकर्ताहरूको कुल संख्या ९९ करोड ९८ लाख पुगेका छन्, जुन सेप्टेम्बरमा ९९ करोड ५६ लाख थियो । एकै महिनामा ४२ लाख नयाँ प्रयोगकर्ताहरू थपिएसँगै, भारत अब १ अर्ब ब्रोडब्यान्ड जडानको ऐतिहासिक कोशेढुङ्गा पुग्ने बाटोमा पुग्न लागेको छ ।
१७- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार सार्बजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा दोब्बरले वृद्धि गर्ने नीति ल्याएको छ । मौद्रिक नीतिको समिक्षामा यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा ४.२५ प्रतिशत कायम गरिएको छ ।
त्यस्तै करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाखबाट बढाएर १ करोड कायम गरिएको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १४ सयले बढेर तोलाको २ लाख ५३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ३५३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३४९० मा कारोबार भएको थियो ।
१९- चर्चित अन्तर्राष्ट्रिय संगीत च्यानल एमटिभी बन्दको घोषणा गरिएको छ । मनोरञ्जन कम्पनी प्यारामाउन्ट ग्लोबलले यसको पाँच प्रमुख संगीत च्यानलहरु एमटीभी म्युजिक,एमटीभी बिट्स, एमटीभी ८०, एमटीभी ९०, क्लब एमटिभी र एमटीभी लाइभ आउदो डिसेम्बर अन्त्यदेखि स्थायी रूपमा प्रसारण बन्द गर्ने घोषणा गरेको छ । यी च्यानलहरु विश्वभरका विभिन्न मुलुकहरू पहिलो चरणमा बेलायत र आयरल्याण्डमा, त्यसपछि अन्य युरोपेली देशहरु, अस्ट्रेलिया, पोल्याण्ड, ब्राजिल लगायत कतिपय अन्तर्राष्ट्रिय बजारहरुमा बन्द हुने बताइएको छ ।
यो कदमले करिब चार दशक लामो संगीत-च्यानल युगको अन्त्य हुन लागेको छ । एमटीभीले अब केवल आफ्नो मुख्य च्यानल एमटीभी एचडी मात्रै चलाउनेछ, जसले मुख्यतः रियालिटी शो र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गर्नेछ । यस बन्दका कारण डिजिटल स्ट्रिमिङ प्लेटफर्महरु जस्तै युट्युब तथा टिकटकको उदय र दर्शकहरुको संगीत-भिडियो हेर्ने शैलीमा आएको परिवर्तनलाई मानिएको छ ।
अब तुरुन्त आफुलाई मनपर्ने भिडियो, नयाँ गीत खोज्न र हेर्न र शेयर गर्न डिजिटल माध्यम उलब्ध रहेकाले संगीत टिभी च्यानलको सान्दर्भिकता नै सकिएको निष्कर्षसहित यी च्यानल बन्द हुन लागेका हुन् । एमटीभीका प्रशंसकहरु र संगीत-प्रेमीहरुका लागि यो एक ‘युगको अन्त्य’ झैं महसुस गरिरहेका छन् । किनकि यी च्यानलहरुले ८०-९० को दशकको संगीत, सङ्गीत भिडियो, लाइभ प्रदर्शन र लोकप्रिय संगीत संस्कृति निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
२०- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति आइज्याक हर्जोगसँग औपचारिक रूपमा माफीको लागि अनुरोध गर्दै पत्र लेखेका छन् । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति आइज्याक हर्जोगले यो ‘असाधारण अनुरोध’ लाई विचार गर्नु अघि न्याय अधिकारीहरूको राय लिने जानकारी दिदै यो कदमले महत्वपूर्ण परिणामहरू निम्त्याउन सक्ने बताएको छ । विगत पाँच वर्षदेखि, नेतन्याहू तीन अलग-अलग मुद्दाहरूमा मुद्दाको सामना गरिरहेका छन् । उनीमाथि घूसखोरी, धोखाधडी र विश्वास उल्लंघनको आरोप छ । उनले आरोपहरू अस्वीकार गर्छन् ।
एक भिडियो सन्देशमा, नेतन्याहूले हमाससँगको युद्धलाई उल्लेख गर्दै उनी कानुनी प्रक्रिया निष्कर्षमा पुग्न चाहेको तर राष्ट्रिय हितले अन्यथा माग गरेको बताएका छन् । यस महिनाको सुरुमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली राष्ट्रपति हर्जोगलाई नेतान्याहूलाई ‘पूर्ण माफी’ दिन अपील गरेका थिए । इजरायल पुगेर संसदमा सम्बोधन गर्दै सो आग्रह गरेका थिए । त्यतिबेला, हर्जोगले माफीको लागि औपचारिक अनुरोध आवश्यक रहेको बताएका थिए । आइतबार, राष्ट्रपति कार्यालयले नेतान्याहूको अनुरोधको घोषणा गर्यो र उनको पत्र जारी गर्यो, जसमा घटनाको ‘गम्भीरता र प्रभाव’ का कारण यो निर्णय गरिएको हो । राष्ट्रपति कार्यालयले राष्ट्रपतिले कहिले निर्णय लिनेछन् भन्ने कुरा अहिलेसम्म बताएको छैन ।
FACEBOOK COMMENTS