काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारको चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को चार महिनाको देशको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिनामा चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब ७६ करोड रहेको थियो । त्यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति ३१८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २०५ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ ।
२- विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को चार महिनाको देशको आर्थिक तथा वित्तीय प्रतिवेदनमा विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भएर ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ । त्यस्तै अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई २७ अर्ब २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले वद्धि भई ३ खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

३- नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी झिकाउन आदेश गरेको छ । सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकारी वकिल कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट र प्रतिवादीका साक्षीहरू प्रतिवादीमार्फत नै झिकाइ भौतिक उपस्थिति वा भिडियो कन्फ्रेन्समार्फत बकपत्र गराउन आदेश जारी गरेको छ ।

त्यस्तै इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ मंसिर २५ मा गरेको गरेको निर्णय झिकाउन पनि आदेश गरेको छ । २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

त्यसलगत्तै पतञ्जलीले बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकको साँगा,नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) मा ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा पछि मन्त्रिपरिषदबाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरेको थियो ।

भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिले ठहर गरेको थियो । अख्तियारले यस प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपाल गत असारमा विशेष अदालतले तोकेको ३५ लाख धरौटी रकम तिरेर रिहा भएका थिए ।
४- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । त्यस्तै आयोगको सदस्यमा प्रा. डा. सुनीति श्रेष्ठलाई नियुक्त गरिएको छ ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले विभिन्न राजनीतिक दल र सरोकारवालाहरूसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको गरेको छ । मन्त्री खरेलका अनुसार संवाद समितिको संयोजकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।
५- पुर्व शिक्षामन्त्री रघुजी पन्तले एमालेको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्ष ओलीको प्यानलमा नपरेपछि पन्तले उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका हुन् । उनलाई ईश्वर पोखरेल पक्षको समर्थन रहेको बताइएको भए पनि पन्तले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । ओलीपक्षबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् ।
६- नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत लगातार दोस्रो हार बेहोरेको छ । सोमबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको बंगलादेशले २४.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३१.१ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो । नेपालका लागि अभिशेख तिवारीले सर्बाधिक ३० रन बनाए भने आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाएका थिए ।
त्यस्तै बंगलादेशका बलर मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शाहरिआर अल अमिम र अजुजुल हाकिमले २-२ विकेट लिएका थिए । यो हारसँगै नेपालको सेमिफाइनलको सम्भावना लगभग सकिएको छ । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग बुधबार खेल्ने तालिका रहेको छ ।
७- केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्षका लागि आफ्नो उम्मेदवार दर्ता गराएका छन् । एमालेको ११औं महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा ओलीले अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि ईश्वर पोखरेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । आज साढे ३ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ ।
एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन् । एमालेको पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् ।
८- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० मा कारोबार भएको थियो । आज होटल, लगानी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिम स्टार उर्जाको शेयर ६.९५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढीएनगाडी ग्रुप पावरको १४ करोड २५ लाखको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाखको कारोबार भएको छ ।
९- धनुषाको विदेह नगरपालिका-२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आइटी ल्याव स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा ८ लाख ६२ हजार १५२ अनियमितता गरेको भन्दै प्रधानाध्यापक ठाकुरसहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारले प्रधानाध्यापक ठाकुर र विद्यालयका तत्कालीन लेखापाल स्व. अरुण कुमार कुशियैतकी श्रीमती सरिता देवी कुशियैतविरुद्ध मुद्धा दायर गरेको जानकारी दिएको छ ।
१०- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते विश्वासको मत लिने भएका छन् । यादव यहि मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यादव कांग्रेससहित जसपा नेपाल, जनमत, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिसहित ७ दलका ७७ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
विश्वासको मत लिनु अघि यादवले आज मन्त्रिपरिषद्को विस्तारको तयारी गरेका छन् । हाल मुख्यमन्त्री यादवसँगै जनमत पार्टीका महेश प्रसाद यादव, कांग्रेसका जंगीलाल राय र नेपाल कम्युनिष्ट पार्टीका कनिष पटेल मन्त्री रहेका छन् । मुख्यमन्त्री यादवलाई समर्थन गरेका लोसपा, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छैन ।
११- बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ को घरेलु बक्स अफिसमा शानदार कमाई जारी रहेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको दश दिनमा ३६४ करोडभन्दा बढी कमाएको छ । पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो शुक्रबार, शनिबार र आइतबार कीर्तिमानी कमाई गरेको हो ।
बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दोस्रो शुक्रबार ३४ करोड ७० लाख कमाएको थियो भने दोस्रो शनिबार ५३ करोड ७० लाख कमाएको छ । त्यस्तै फिल्मले आइतबार मात्र ५८ करोड २० लाख कमाएको छ । फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा ३६४ करोड ६० लाख भारु कमाएको छ । फिल्मले पहिलो साताको पहिलो तीन दिन भन्दा दोस्रो साताको पहिलो तीन दिनमा बढी कमाई गरेको छ । फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ ।
फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा ७०.६० करोड भारु कमाएको छ । रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।
त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।
१२- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर २७ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म करिब १७ करोडभन्दा बढी गरेको छ भने गत साता रिलिज भएको अभिमन्यु च्याप्टर १ ले दर्शकलाई आकर्षित गर्न असफल भएको छ ।
परानले अहिलेसम्म १७ करोड ३९ लाख ४९ हजार ५०१ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ६ लाख १२ हजार ८०८ टिकट बेचेको छ । त्यस्तै फिल्म हर्षले २८ लाख ७६ हजार २८६ कमाइ गर्दा ८ हजार ७६६ टिकट बिक्री भएको छ । त्यस्तै निकै प्रचार गरिएको अभिमन्यु च्याप्टर-१ ले एक सातामा केवल २१ लाख १० हजार २०५ ग्रस कमाई गरेको छ । यस फिल्मका ६ हजार ६८६ टिकट बिक्री भएको छ ।
१३- काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले धितो सकार गर्ने व्यवस्थामा परिमार्जन गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा धितो सकार गर्दा तीन पटकसम्म बिक्री प्रयास प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको हो ।
यसअघि एक पटकको लिलाम प्रक्रियामा बिक्री नभए आफैंले सकार गर्दै आएका थिए । राष्ट्र् बैंकले गरेको परिमार्जनमा उल्लेख छ: इजाजतपत्रप्राप्त संस्थाले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्नेछ । कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैँले सकार गर्नुपर्नेछ । सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्याङ्कन गर्नु पर्नेछ ।
यदि धितोको बजार मूल्य कर्जाको लेना रकम भन्दा कम भएमा कम भएजति रकम सोही आर्थिक वर्षमा नाफा- नोक्सान हिसावमा खर्च लेख्ने व्यहोरा लेखा नीतिमा उल्लेख गर्नु पर्नेछ । तर, यसरी मूल्याङ्कन गर्दा त्यस्तो गैर बैंकिङ्ग सम्पत्ति वापतको रकम सम्पूर्ण रुपमा हिसाब मिलान नभएसम्म लेना रकममध्येको ब्याज रकमलाई नाफा-नोक्सान हिसाबमा आम्दानी जनाउन पाइने छैन र त्यस्तो रकमलाई गैर बैंकिङ्ग सम्पत्ति वापतको नोक्सानी व्यवस्थामा सार्नु पर्नेछ ।
१४- नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको केन्द्रीय समितीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
साथै केन्द्रीय समितिको बैठकले १३औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा उनको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएका ९१ बर्षिय उपाध्यायको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
१५- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकोले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उदेश्य अनुरुप अघि बढेको बताएका छन् ।
सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको कास्की पोखरामा उद्दघाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फाल्गुन २१ मा सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएर सोहि बमोजिम तयारी भईरहेको बताएका हुन् । गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सुभारम्भ गर्दै मन्त्री अर्यालले स्वतन्त्र विश्वसनीय निष्षक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन एकिकृत सुरक्षा योजना-२०८२ स्वीकृत भई सोहि बमोजिम कार्य भईरहेको व्यहोरा बताएका छन् ।
उनले फरार कैदी बन्दीका सम्बन्धमा कुल फरार कैदीमध्ये ठुलो संख्यामा करिब करिब ७० प्रतिशत कैदी बन्दी हाल फिर्ता आईसकेको र बाँकी पनि आउने क्रममा रहेको र यसका लागि गृह प्रशासनले चनाखो भई काम गरिरहेको बताए । भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये हाल सरकारले सबै प्रदेशमा यस्तो सुरक्षा गोष्ठी गर्नु पनि एक प्रमुख कारण भएको बताउँदै, यस सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने विश्वाससमेत मन्त्री अर्यालले गरे ।
१६- नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत आज उम्मेदवार दर्ताको कार्यतालिका रहेको छ । आज साढे १ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा गएका छन् । यसैबीच पार्टीको संगठनमा पकड हुने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ ।
ओली पक्षबाट महासचिवमा पोखरेल दोहोरिएका छन् । महासचिवमा ओली पक्षबाट प्रदीप ज्ञवालीले महासचिवमा दाबि गरेपनि ओली आफ्ना विश्वासपात्र मानिएका पोखरेलकै पक्षमा गएका छन् । ओलीले यसअघि उपमहासचिव रहेका ज्ञवालीलाई उपाध्यक्षमा बढुवा गरेका छन् । त्यस्तै ईश्वर पोखरेल पक्षले भने महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडी सारेको छ । अब पार्टीको हाइप्रोफाइल पद महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिष्पर्धा हुने भएको छ ।
१७- नेपाली बजारमा सुनको मुल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ३८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३८२५ मा कारोबार भएको थियो ।
१८- गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले संघको १२औँ अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । आइतबार राति बसेको कमिटीको दोस्रो बैठकले आगामी सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ मा महाधिवेशन तथा निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै संस्थागत एकता र सुदृढीकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ । बैठकले राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकतालाई सहजीकरण गर्न गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरेको छ ।
उक्त समितिमा टीका गुरुङ (राधिका) सह–संयोजक रहेकी छिन् भने सदस्यहरूमा नारायण काफ्ले, शनी ओली र चिरञ्जीवी खड्का रहेका छन् । यसैगरी, बृहत् एकताको सन्देश प्रवाह गर्न र महाधिवेशनको तयारीस्वरूप विभिन्न क्षेत्रमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने निर्णय भएको महासचिव लामाले जानकारी दिए । जस अनुसार डिसेम्बर १९मा मध्यपूर्व तथा अफ्रिका क्षेत्रमा, डिसेम्बर २०मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्रमा र डिसेम्बर २१मा अमेरिकाज तथा युरोप क्षेत्रमा कार्यक्रम आयोजना हुने छ ।
त्यसैगरी बैठकले स्टेरिङ कमिटीले अनुशासन र जिम्मेवारीलाई कडाइका साथ लागु गर्ने निर्णय गर्दै कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठक बस्नु अगावै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिसक्नुपर्ने समय सिमा पनि तोकेको छ । हस्ताक्षर नगर्ने सदस्यलाई आगामी बैठकमा सहभागिता जनाउन नदिने निर्णय पनि गरिएको छ । त्यसैगरी सदस्यता समितिमा २ जना सदस्य थप गरी ७ सदस्यीय बनाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले १२औँ महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन र तत्काल तयारी थाल्न विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपाली समुदाय तथा राष्ट्रिय समन्वय परिषदहरूलाई अपिल गरेको छ । मंसिर १४ गते प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका महेशकुमार श्रेष्ठ र डा. बद्री केसी पक्षबीच एकता भएको थियो ।
१९- अष्ट्रेलियाको बोन्डी बीचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १० वर्षीया बालिकासहित १५ पुगेको छ । सो घटनामा आक्रमणकारीमध्ये एक जनाको पनि मृत्यु भएको छ । प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताएका छन् । जसमा बुबा ५० वर्षका छन् र छोरा २४ वर्षका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मृत्यु भएको थियो । २४ वर्षीय पुरुषको अवस्था गम्भीर छ । घ
टनापछि घटनास्थलमा ड्युटीमा रहेका प्रहरी अधिकारीहरू सहित ४२ जनालाई अस्पताल लगिएको थियो । प्रहरीले ५० वर्षीय पुरुषसँग हतियारको लाइसेन्स रहेको बताएको छ । उनको नाममा छ वटा हतियार दर्ता गरिएको छ र बोन्डी बीचमा छ वटा हतियार बरामद गरिएको छ । घटनास्थलमा दुई विस्फोटक पदार्थ पनि फेला परेको छ, जसलाई प्रहरीले निष्क्रिय पारेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भविष्यमा हुने आक्रमण रोक्न सबै आवश्यक स्रोतहरू तैनाथ गरिने बताएका छन् । उनले अष्ट्रेलियाली समाजबाट यहूदी विरोधी भावनालाई पूर्ण रूपमा उन्मूलन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
२०- भारतले दक्षिण अफ्रिकाविरुद्धको जारी टी-२० सिरिजमा दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले दक्षिण अफ्रीकालाई ७ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको केवल ११७ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
भारतका लागि अभिषेक शर्माले ३५ रन बनाएका थिए भने शुभमन गिलले २८, तिलक बर्माले २६ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले सर्बाधिक ६१ रन बनाए भने डोनोभान फेरेइराले २० रन बनाएका थिए । त्यस्तै भारतीय बलर अर्शदिप सिंह, हर्षित राना, वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिएका थिए । यो जितपछि भारत ५ खेलको सिरिजमा २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल बुधबार लखनउमा हुने तालिका रहेको छ ।
FACEBOOK COMMENTS