काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सकिएको छ । बन्दसत्रले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका विधान संशोधन र राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मत पारित गर्दै बन्द सत्र समाप्त भएको हो ।
अब बन्दसत्र सकिएसँगै विशेष महाधिवेशन निर्वाचनको चरणमा पुगेको छ । आजैको बन्दसत्रले निर्वाचन समिति बनाएसँगै निर्वाचन समितिले निर्वाचनका कार्यक्रम गरिरहेको छ । निर्वाचन समितिले आज मनोनयन दर्ता गर्ने र बुधबार निर्वाचनका कार्यक्रम गर्ने भएको छ । निर्वाचनको प्रक्रिया बुधबार बिहान ८ बजेदेखि शुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
२- नेपाली काँग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदन संशोधनसहित सर्वसम्मतिले पारि गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा बन्दसत्रले विधान संशोधन र राजनीतिक प्रस्ताव पारित गरेको हो ।
बन्दसत्र आज सकिने र नयाँ नेतृत्व चरण बुधबार हुने भएको छ । आज मनोनयन दर्ता हुने र निर्वाचन भने बुधबार गर्ने बताइएको छ । यसअघि बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले महाधिवेशन प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिदै आएका सुझावलाई प्रतिवेदनमा समावेश गर्ने प्रतिबद्धता जनाएका थिए ।

३- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले डेढ बर्षअघि बेपत्ता भएको गणपति डिलक्स गाडीको अवशेष त्रिशुली किनारमा भेटिएको छ । बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष पुस २७ गतेदेखि बालुवामा पुरिएको अवस्थामा भेटिएको थियो र यो गणपति डिलक्सको बेपत्ता गाडी रहेको पत्ता लागेको छ । प्रहरीले दुर्घटनाभएको भन्दै करिब ३०० मिटर तल बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको गाडी फेला परेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय रोशन भुजेलले भेटाएपछि प्रहरीलाई खबर गरेपछि पुस २७ गतेदेखि बस बालुवाबाट निकाल्न शुरु गरिएको थियो । २०८१ को असार २८ गते बिहान करिब ३ बजे दुवै बस सिमतालमा पहिरोले बगाएपछि बेपत्ता रहेका थिए । बसमा ६२ जना यात्रा रहेको र तीन जना मात्र बच्न सफल भएका थिए । फेला परेका चौबिस जनाका शवमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको थियो । बसमा रहेका ३५ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

४- बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षा चिन्ताका कारण २०२६ को टी- २० विश्वकप खेलहरू भारतमा नखेल्ने आफ्नो अडानलाई दोहोराएको छ । आईसीसीसँगको भिडियो कन्फरेन्सपछि बोर्डले विज्ञप्ति जारी गर्दै बंगलादेशका खेलहरू भारत बाहिर सार्ने आफ्नो अनुरोध दोहोर्याएको बताएको छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ टी- २० विश्वकप फेब्रुअरी ७ मा सुरु हुने तालिका छ । बंगलादेशले हाल आफ्नो पहिलो तीन खेल कोलकातामा र अन्तिम समूह खेल मुम्बईमा खेल्ने तालिका छ । आईसीसीले प्रतियोगिताको कार्यक्रम पहिले नै घोषणा भइसकेको र बीसीबीलाई आफ्नो अडानमा पुनर्विचार गर्न अनुरोध गरे पनि, बोर्डको अडान पुरानै रहेको छ ।

आईसीसीले स्पष्ट रूपमा प्रतियोगिता नजिक आइसकेका र कैयौ खेलका टिकट बिक्रि समेत भइसकेको, खेलाडी र अफिसियलका होटल र फ्लाइटका टिकटसमेत बुक भइसकेको हुनाले खेल स्थलहरूमा परिवर्तन गर्न असम्भव रहेको स्पष्ट गरेको छ । बंगलादेशमा पछिल्लो समय हिन्दूहरूमाथि लगातार भइरहेको आक्रमणपछि भारतमा त्यसको विरोध शुरु भएको थियो । विरोधको क्रममा बंगलादेशका खेलाडीलाई आइपिएलमा खेल्न दिन नहुने माग गरिएको थियो । बंगलादेशलाई टी- २० विश्वकपमा समूह सी मा रहेको छ । उसले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, फेब्रुअरी ९ मा इटाली र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग सामना गर्नेछ । तीनवटै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा खेलिनेछ । साथै टोलीको अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुने तालिका रहेको छ ।

५- नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को तयारीका लागि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ । नेपालले क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंका ए र कोल्ट्ससँग श्रीलंकामा जनवरी २०, जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने छ । त्यस्तै नेपाली टिमले भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।
क्यानले विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमदलाई छनौट गरेको छ । आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।
६- अमेरिकी कांग्रेसी र्यान्डी फाइनले ‘ग्रीनल्याण्ड एनेक्सेसन एण्ड स्टेटहुड एक्ट’ नामक विधेयक पेश गरेका छन् । विधेयकले अमेरिकी सरकारलाई ग्रीनल्याण्डलाई गाभ्ने र पछि यसलाई अमेरिकी राज्य बनाउने कानुनी अधिकार दिने लक्ष्य राखेको छ । कांग्रेसी र्यान्डी फाइनले विधेयकको घोषणा गर्दै यो कदम रूस र चीनको प्रभावको सामना गर्न आवश्यक रहेको बताएका छन् । त्यसपछि राज्यत्वको लागि आवश्यक सुधारहरूको पूर्ण प्रतिवेदन कांग्रेसमा पेश गरिनेछ ।
यदि पारित भएमा विधेयकले अमेरिकालाई ग्रीनल्याण्डलाई आफ्नो ५१औं राज्य बनाउने अधिकार प्रदान गर्नेछ । यद्यपि, विधेयक भर्खरै मात्र पेश गरिएको छ र सदन र सिनेट दुवैमा पारित हुन आवश्यक छ । धेरै विज्ञहरू यो पारित हुने सम्भावना धेरै रहेको छैन, किनकि यसले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दछ । डेनमार्कले विगत ३०० वर्षदेखि ग्रीनल्याण्डलाई नियन्त्रण गर्दै आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तावलाई समर्थन गर्दै ग्रीनल्याण्ड अमेरिकी रक्षाको लागि आवश्यक छ भन्ने कुरामा जोड दिएका चाहन । उनले हालै अमेरिकालाई ग्रीनल्याण्ड चाहिन्छ र यस दिशामा कदम चालिरहेको छ, चाहे अन्य देशहरूले यसलाई मन पराउछन् वा नपरोस् भन्ने धारणा सार्बजनिक गर्दै आएका छन् ।
ट्रम्प प्रशासनले ग्रीनल्याण्डका बासिन्दाहरूलाई संयुक्त राज्य अमेरिकामा सामेल हुन भुक्तानी गर्ने तरिकाहरूबारे पनि छलफल गरेको छ । डेनिस र ग्रीनल्याण्डका अधिकारीहरूले ट्रम्पको दृष्टिकोणको कडा आलोचना गरेका छन्, यसलाई अपमानजनक भनेका छन् । यदि विधेयक पारित भएमा, अमेरिकी राष्ट्रपतिले ग्रीनल्याण्डलाई अमेरिकी क्षेत्रमा गाभ्न डेनमार्कसँग वार्ता र अन्य उपायहरू सहित सबै कानुनी रूपमा आवश्यक कदम चाल्ने अधिकार पाउनेछन् । राष्ट्रपतिले ग्रीनल्याण्डलाई ५१औं राज्य बनाउन कुन संघीय कानूनहरू परिवर्तन गर्नुपर्छ भनेर रूपरेखा सहित कांग्रेसमा प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि ग्रीनल्याण्डले आफ्नो संविधान बनाउनुपर्नेछ, जुन अमेरिकी संविधानसँग मेल खान्छ । संसदले यसलाई अनुमोदन गर्नेछ र ग्रीनल्याण्ड पूर्ण अमेरिकी राज्य बन्न सक्छ (जस्तै अलास्काले गरेको थियो) ।
७- गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ । प्रशान्तको जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार मंगलबार अन्त्यष्टि गरिएको हो । प्रशान्तको पार्थिव शरीरलाई सोमबार अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ पुर्याइएको थियो । उनको अन्त्येष्टिमा सयौँको सङ्ख्यामा नेपाली भाषीको उपस्थिति रहेको थियो ।
४३ वर्षको उमेरमा प्रशान्तको आइतबार दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट निधन भएको थियो । सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि प्रशान्त लोकप्रिय बनेका थिए । पहिलो पटक नेपाली मुलका गायक इण्डियन आइडलमा गएको भन्दै उनलाई जिताउन नेपालमा पनि अभियाननै चलाइएको थियो । कोलकोता प्रहरीका जागिरे रहेका प्रशान्त इन्डियन आइडल जितेपछि जागिर छोडेर गायन र अभिनयमा केन्द्रित बनेका थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतला नेपाली फिल्म अभिनय गरेका छन् ।
८- नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका तत्कालिन केन्द्र प्रमुख सिंहसहित तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोक प्रसाद काफ्ले कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौँका सेक्युरिटी गार्ड राम कुमार पुर्जा र हेम शर्मा रिमालले प्राधिकरणको पिभिसी तार बाहिर बेचेर १३ लाख ९२ हजार ६०३ नोक्सानी पुर्याएको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको छ ।
९- नेप्से आज सामान्य बढेको छ । मंगलबार नेप्से ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ मा कारोबार भएको थियो । आज बैंकिङ, फाइनान्स, होटल्स, जीवन वीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने दोर्दी खोला हाइड्रोको शेयर ९.३८ प्रतिशतले बढेको छ । त्यस्तै आज रसुवागढी हाइड्रोको शेयर सबैभन्दा बढी ६.०९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी राढ़ी जलविद्युतको ५४ करोड ६५ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ३४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
१०- नेकपा एमालेका महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाह झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावमा लड्ने भएपछि टिप्पणी गर्दै राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने बताएका छन् । बालेनले ओलीविरुद्ध चुनाव लड्ने तयारी गरिरहेको विषय सामाजिक सञ्जाल र मिडियामा चर्चा भएपछि नेता बस्नेतले काठमाडौँको असफल मेयरको रुपमा जनमत गुमाएको भन्दै आफ्नो जन्मथलो महोत्तरीमा राजनीतिक उपस्थिति देखाउन नसकेको आरोप लगाएका छन् ।
उनले भनेका छन्- ‘काठमाडौँमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिती देखाउन नसक्ने ‘फेसबुकिया प्रधानमन्त्री’ भनेर चिनिने तथा विदेशीको मतियार लुसिफरको उपमा पाएको व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ । यदि यो कुरा सत्य हो भने, निर्वाचन मा लज्जासपद पराजय भोगेर गायकबाट राजनीतिमा प्रवेश गरेका यो पात्र अब राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने छ ।’
११- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् । विभिन्न १७ भन्दा बढी दल र समुह मिलेर बनेको नेकपाले आफ्न दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यलाई शपथ गरेका हुन् । काठमाडौँ उपत्यका रहेकाले केन्द्रीय सदस्यले पार्टी कार्यालय, पेरिसडाँडामा उपस्थित भएर भौतिक रूपमा र उपत्यका बाहिर रहेकाले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिएका छन् ।
१२- अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् । उनी हाल राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेका छन् । नेकपाले उनलाई पोलिटब्युरो सदस्य बनाउने भएको छ ।
नेकपाले सायमीलाई भित्र्याउने कार्यक्रम बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा गर्ने भएको छ । २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए । विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।
१३- राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवन कुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमदसहितका नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । सर्लाहीको बागमतीस्थित सिता पार्टी प्यालेसमा आयोजित वृहद् कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई खादा ओढाएर र उज्यालो नेपालको टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा नवप्रवेशी केन्द्रीय नेता त्रिभुवन कुमार सिंहले अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हुँदा गरेको काम र पछिल्लो ११५ दिन सरकारमा रहेर देखाएको कार्यसम्पादनबाट आफू गहिरो रूपमा प्रभावित भएको बताए । उनले परिणाममुखी नेतृत्व, इमान्दार कार्यशैली र निर्णय क्षमताका कारण कुलमान घिसिङ देशका लागि भरोसायोग्य नेता बनेको उल्लेख गरे ।
सिंहले उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डा बोकेको पार्टी भएकाले आफ्नो राजनीतिक यात्रा यही पार्टीबाट अघि बढाउने निर्णय गरेको स्पष्ट पारे । कार्यक्रममा अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी व्यक्तिको प्रचारका लागि होइन, प्रणाली सुधार र जनसेवाका लागि अघि बढेको राजनीतिक शक्ति भएको बताउँदै नयाँ प्रवेशीहरूसँगै देश परिवर्तनको अभियान अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन् ।
१४- राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् । प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको नाम रहेकोमा उनले सोमबार आयोग पुगेर नाम फिर्ता लिएकी हुन् । कास्कीकी पोखरेल नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् । राष्ट्रपतिकी छोरीलाई समानुपति सुचीमा राखेको भन्दै पार्टी भित्र व्यापक असन्तुष्टि रहेको थियो ।
१५- नेपाली काँग्रेसका नेता डा. सुनिल कुमार शर्माले एकताका नाममा कारबाही गर्ने र पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास अस्वीकार्य हुने बताएका छन् । विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट पत्रकार सम्मेलन गर्दै नेता शर्माले सबै नेता र कार्यकर्तालाई संयमित हुन आग्रह गर्दै संस्थापन पक्षले कारबाहीको प्रयास गरेमा त्यो अस्वीकार्य हुने चेतावनी दिएका छन् । उनले कारवाही गर्नेतर्फ संस्थापन पक्षमा गएमा कार्यकर्ताहरू जुर्मुराउनुपर्ने बताएका छन् ।
उनले भनेका छन्- ‘एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुनै पनि प्रयास अस्वीकार्य छ । यस्तो अवस्था आयो भने जिम्मेवार कार्यकर्ताहरू जुर्मुराउनुपर्छ र त्यो निकास अत्यन्तै दुर्भाग्यपूर्ण हुन्छ । कांग्रेस संकटमा परे देश संकटमा पर्छ। त्यसैले सबै नेता कार्यकर्तालाई उच्च जिम्मेवारी र संयमका साथ अघि बढ्न आह्वान गर्दछु ।’ त्यस्तै संस्थापन पक्ष नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने र विशेष महाधिवेशन पक्षधर पनि एक कदम पछि हट्नुपर्ने धारणा राखेका छन् ।
नेता शर्माले देशभरबाट आएका नेता कार्यकर्तालाई लामो समयसम्म काठमाडौँमा राख्न नहुने भन्दा आज वार्ता समाधान गरेर फिर्ता पठाउनु पर्ने बताए । उनले संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार गरेर अगाडी बढ्नुपर्ने बताए । उनले संस्थापन पक्षले नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने र विशेष महाधिवेशन पक्षधरहरूले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
१६- विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । सुवेदीलाई पार्टी संयोजक प्रचण्ड, सह–संयोजक माधव नेपाल तथा नेता वर्षमान पुनले पार्टीमा स्वागत गरेका छन् । रोल्पाबाट चुनाव लडने तयारी गरेका विप्लवलाई जिल्ला इन्चार्जले छोडेपछि यसलाई झट्काको रुपमा लिइएको छ । रोल्पा नेकपा नेता पुनको क्षेत्र हो ।
१७- इरानस्थित अमेरिकी भर्चुअल दूतावासले अमेरिकी नागरिकहरूलाई तुरुन्तै इरान छोड्न आग्रह गर्दै सुरक्षा सतर्कता जारी गरेको छ । अमेरिकाले इरानभरि विरोध प्रदर्शन बढ्दै गइरहेको र हिंसात्मक हुन सक्ने भन्दै यसले कडा सुरक्षा, सडक बन्द, सार्वजनिक यातायात अवरोध र इन्टरनेट अवरुद्ध भइरहेकोले तुरुन्त देश छोड्न आग्रह गरेको छ । अमेरिकाले भनेको छ- ‘इरानी सरकारले मोबाइल, ल्यान्डलाइन र इन्टरनेट नेटवर्कहरूमा पहुँच प्रतिबन्धित गरेको छ । एयरलाइन्सहरूले इरान जाने र आउने उडानहरू सीमित वा रद्द गरिरहेका छन् । धेरै एयरलाइन्सहरूले शुक्रबार, जनवरी १६ सम्म सेवा निलम्बन गरेका छन् ।’
अमेरिकी नागरिकहरूलाई सञ्चारको वैकल्पिक माध्यम खोज्न सल्लाह दिएको छ । यसबाहेक, यदि त्यसो गर्न सुरक्षित छ भने, तिनीहरूले आर्मेनिया वा टर्की हुँदै जमिनबाट इरान छोड्ने विकल्प अपनाउन सुझाव दिएको छ । इरानमा बस्ने अमेरिकी नागरिकहरूलाई इरान छोड्न नसक्ने अवस्थामा भएमा सुरक्षित ठाउँमा बस्न खाना, पानी, औषधि र अन्य आवश्यक वस्तुहरूको भण्डार गर्न सल्लाह दिएको छ । अमेरिकाको इरानमा कूटनीतिक उपस्थिति छैन । स्विट्जरल्याण्डले संयुक्त राज्य अमेरिकाको लागि सुरक्षा शक्तिको रूपमा काम गर्दछ । इरानमा लगभग दुई हप्तादेखि सरकार विरोधी प्रदर्शनहरू जारी छन्। यसैबीच, इरानी सरकारको समर्थनमा जुलुसहरू पनि आयोजना भइरहेका छन् ।
१८- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेर उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको १८ सयले बढेर तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमबार सुन तोलाको २ लाख ७४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर तोलाको ५३४० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि सोमबार चाँदी तोलाको ५१९५ रुपैयाँमा कारोबार भएको थियो ।
१९- जाबी अलोन्सोले रियल म्याड्रिडको प्रशिक्षक छोडेका छन् । स्पेनिस सुपरकोपाको फाइनलमा बार्सिलोनासँग ३-२ ले पराजित भएसँगै अलोन्सोले रियल म्याड्रिड छोडेका हुन् । रियल म्याड्रिडले आपसी सहमतिमै अलोन्सोले प्रशिक्षक पद छोडेको जानकारी दिएको छ । उनी २०२५ को जुनमा मात्र रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए । यसअघि बायर लिभरकुसनमा प्रशिक्षकको रुपमा सफल रहेका अलोन्सो रियल म्याड्रिडमा भने सफल हुन सकेनन् । रियल म्याड्रिडले तत्काल अल्भारो अर्बेलोआलाई आफ्नो प्रशिक्षक नियुक्त गरेको छ । ४२ बर्षिय अर्बेलोआ रियल म्याड्रिडका पूर्व खेलाडी हुन् । उनले २००९ देखि २०१६ सम्म क्लबमा खेलेका थिए । उनी हाल रियल म्याड्रिडको बि टिमका प्रशिक्षक थिए ।
२०- टेक दिग्गज एप्पल र गुगलले एक महत्वपूर्ण सम्झौताको घोषणा गरेका छन् । यस सम्झौता अन्तर्गत, एप्पलको अर्को पुस्ताको कृत्रिम बुद्धिमत्ता सुविधाहरू, जसमा यसको सिरी सहायक पनि समावेश छ, गुगलको जेमिनी मोडेल र क्लाउड प्रविधिद्वारा संचालित हुनेछन् । एप्पल र गुगलले यस सम्झौताको सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गरेका छन् । सम्झौतामा भनिएको छ- ‘एप्पलले गुगलको एआई प्रविधिले एप्पलको फाउन्डेसन मोडेलहरूको लागि उत्तम क्षमताहरू प्रदान गर्ने निर्धारण गरेको छ । विज्ञप्तिमा एप्पलको कृत्रिम बुद्धिमत्ता प्रणालीहरू एप्पलको गोपनीयता मापदण्डहरू कायम राख्दै एप्पल उपकरणहरू र निजी क्लाउड कम्प्युटमा चलिरहने पनि भनिएको छ ।
महिनौंदेखि चलिरहेको हल्ला पछि एप्पल र गुगलबीच सिरीको विषयमा यो सम्झौता भएको छ । एप्पलले ओपनएआईको च्याटजीपीटीलाई छोडेर सिरीलाई अगाडि बढाउन जेमिनीलाई रोजेको छ । सम्झौता अनुसार एप्पलले गुगलको एआई कौशलको लागि प्रति वर्ष १ बिलियन डलर तिर्नेछ । यस सम्झौतामा जेमिनी ३ को रिलीजले ठूलो प्रभाव पारेको बताइएको छ । एप्पल संसारकै सबैभन्दा मूल्यवान कम्पनीहरू मध्ये एक भए पनि, यो एआई दौडमा पछाडि रहेको छ । आफ्नै आधारभूत मोडेलहरू विकास गर्नुको सट्टा, जुन राम्रोसँग चलिरहेको थिएन, एप्पलले एप्पल इन्टेलिजेन्सलाई शक्ति दिन ओपनएआईसँग काम गरिरहेको थियो तर अब एप्पलले गुगलसँग सहकार्य गरेर अगाडी बढ्ने घोषणा गरेको छ ।
FACEBOOK COMMENTS