काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय विरुद्धको सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता नहुने स्पष्ट गरेका छन् । खड्काले केही सञ्चारमाध्यमले रिट फिर्ता हुने भन्दै समाचार प्रकाशित गरेको भन्दै उनले त्यसमा सत्यता नरहेको स्पष्ट गरेका हुन् । उनले भनेका छन्- ‘केही संचार माध्यममा आएका गलत समाचार बारे स्पष्ट होस्- २०८२ माघ २ गते काँग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अबैधानिक निर्णयका बिरुद्धमा २०८२ माघ ४ गते सर्बोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएको म स्पष्ट पार्न चाहान्छु ।’
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेको छ । सर्वोच्चले सो रिट दर्ता गर्दै मंगलबारका लागि पेसी तोकेको छ । रिट दायर गरेपनि काँग्रेसका सबै पक्षले सभापति गगन थापाको हस्ताक्षरमै टिकट लिएर चुनावमा जाने सहमति भएको छ ।
२- नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं–५ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । शनिबारको सचिवालय बैठकले काठमाडौं–५ को उमेदवार होल्ड गरेकोमा अन्तत: सो क्षेत्रमा पोखरेललाई नै टिकट दिइएको हो । पोखरेल पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएका थिए । गत निर्वाचनमा पोखरेल सो क्षेत्रबाट काँग्रेसका प्रदीप पौडेलसँग ५ हजारभन्दा बढी मत अन्तरले पराजित भएका थिए ।
३- गोरखा-२ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्न लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले उम्मेदवारी दिनुका पाँच कारण रहेको बताएका छन् । डा. भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा- २ मा उम्मेदवार बन्न लागेका हुन् । उनी सोहि निर्वाचन क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली काँग्रेसको सहयोगमा विजयी भएका थिए तर २०७९ को निर्वाचनमा भने उनले तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि छोडिदिएका थिए ।

उनले प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ बाट उम्मेदवारी दिनुका प्रमुख ५ लक्ष्य र आधार रहेको बताएका छन् । जसमा पहिलो बद्लिदो भू-राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न रहेको छ । त्यस्तै दोस्रो देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न रहेको छ ।

तेस्रो जेनजी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न रहेको छ । त्यस्तै चौथो देशमा सुशासन र आर्थिक समृद्धि प्रमुख एजेण्डा बनेको वर्तमान अवस्थामा अर्थ-राजनीतिको ज्ञान र अनुभवको आधारमा देशको तीब्र आर्थिक-सामाजिक रूपान्तरणको मार्गचित्र तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न र पाँचौं आधार गोरखाको विकास-निर्माणमा विगतमा गरेका रूपान्तरणकारी कार्यको जगमा टेकेर भविष्यमा गोरखालाई देशको आधुनिक र समतामूलक आर्थिक विकासको मोडेल बनाउन रहेको बताएका छन् ।

४- नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन नलड्ने घोषणा गरेका छन् । विश्वकर्माले अहिलेको विश्व राजनीति र नविन ढाँचाको राजनीति र जन प्रतिनीधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेद्वार नवन्ने व्यक्तिगत निर्णय गरेको बताएका छन् । उनले रूख चुनाव चिन्हको आधिकारिक उम्मेद्वारलाई मन वचन र कर्मले समर्थन र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

५- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । रास्वपाबाट प्रतिनिधि सभामा ललितपुर-२ बाट चुनाव लड्ने निश्चित भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् । मन्त्री खरेलले प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा बुझाएका छन् । आजै अर्का मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए । उनी पनि प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्दैछन् ।

६- चिनियाँ सरकारले देशको जन्मदर बढाउने प्रयास गरे पनि, सन् २०२५ मा चीनको जन्मदर रेकर्ड न्यूनतम स्तरमा पुगेको छ । सोमबार जारी गरिएको सरकारी तथ्याङ्क अनुसार, चीनको जन्मदर प्रति १००० जनामा ५.६३ मा झरेको छ, जुन सन् १९४९ मा कम्युनिष्ट पार्टी सत्तामा आएपछिको सबैभन्दा कम हो, जबकि मृत्युदर प्रति १००० जनामा ८.०४ मा पुगेको छ, जुन सन् १९६८ पछिको उच्चतम हो ।
२०२५ को अन्त्यसम्ममा, चीनको जनसंख्या ३३.९ करोडले घटेर १.४ अर्ब हुने अनुमान गरिएको छ, जुन सन् २०२४ को तुलनामा तीव्र गिरावट हो । वृद्ध जनसंख्या र सुस्त अर्थतन्त्रको बीचमा, चिनियाँ सरकारले धेरै युवाहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहित गर्ने प्रयास गरिरहेको छ । २०१६ मा, चीनले आफ्नो लामो समयदेखि चलिरहेको एक बच्चा नीति खारेज गरेको थियो । यसको सट्टा दुई बच्चाको सीमा लगाइएको थियो । यसले जन्मदरमा निरन्तर वृद्धि हुन सकेन, अधिकारीहरूले २०२१ मा प्रत्येक दम्पतीलाई तीन सन्तान जन्माउन अनुमति दिने घोषणा गरेपनि यसको प्रभाव देखिएको छैन ।
७- नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतम चुनाव नलड्ने भएका हुन् । बर्दियाबाट चुनाव लड्ने चर्चा भएका गौतमको टिकट विष्णु थारुलाई दिइएको छ । स्रोतका अनुसार प्रचण्डले गौतमको टिकट विष्णु थारुलाई दिएपछि उनी चुनाव नलड्ने भएका हुन् । उनले प्रतिनिधि सभाको चुनाव लड्न राष्ट्रिय सभा सदस्यबाट समेत राजीनामा दिएका थिए ।
८- नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौँ लैजाने बताएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको विषयमा प्रसाईले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आयोगले साइबर ब्यूरोलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।
९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मैथिली भाषामा भाषण गरेका छन् । सोमबार जनकपुरधाममा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ बालेनले मैथिलीमा भाषण गरेर मधेसीको छोरालाई प्रधानमन्त्री बनाउन घण्टीमा भोट दिन आग्रह गरेका हुन् । उनले संघीयतालाई थप सुधार गर्ने बताउदै जनकपुरमा मात्र करोडौं पर्यटक ल्याउन सकिने बताए । आफु काठमाडौँ महानगरको मेयर हुदा कामले फुर्सद नभएर भाषण गर्न नपाएको बताउदै अब राजीनामा दिएपछि फुर्सद भएको बताएका हुन् । उनले मधेसीको छोरालाई पहिलो पटक प्रधानमन्त्री बनाउन घण्टीमा भोट हाल्न अपिल गरेका थिए ।
१०- चिलीका राष्ट्रपति गेब्रियल बोरिकले देशका दुई क्षेत्रमा विपद्को अवस्था घोषणा गरेका छन् । यी क्षेत्रहरूमा भएको ठूलो जंगल आगलागीमा कम्तिमा १८ जनाको मृत्यु भएको छ । राजधानी सान्टियागोबाट लगभग ५०० किलोमिटर दक्षिणमा अवस्थित नुबल र बायोबियो क्षेत्रबाट ५० हजार भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बोरिकले मृतकको संख्या बढ्ने अनुमान गरिएको बताएका छन् । चिलीमा सबैभन्दा खतरनाक आगो तटीय शहर कन्सेपसियनसँग जोडिएको सुख्खा जंगलमा फैलिएको छ। विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार, लगभग २५० घरहरू नष्ट भएका छन् । स्थानीय मिडियाले सडकमा जलेका कारहरूको तस्बिरहरू देखाएका छन् । चिलीको वन एजेन्सी, कोनाफका अनुसार, सबैभन्दा गम्भीर अवस्था नुबल र बायोबियोमा छ । अहिलेसम्म यी दुई क्षेत्रमा ८५०० हेक्टर, वा लगभग २१ हजार एकड आगोले जलेको छ।
११- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीमा टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । सोमबार भिडियो सन्देश जारी गर्दै टिकट वितरणमा देखिएको असन्तुष्टि सम्बोधन गर्न आग्रह गरेका हुन् । एमालेले भट्टराईलाई यस पटक टिकट दिएको छैन । गत निर्वाचनमा ताप्लेजुङबाट विजयी भएका भट्टराईको क्षेत्रमा यस पटक भने युवा संघका अध्यक्ष क्षितिज थेवेलाई टिकट दिइएको छ ।
उनले भनेका छन्- ‘म ताप्लेजुङबाट चुनाव लड्न इच्छुक थिए तर पार्टी अध्यक्षले टिकट दिएर पठाएपछि अब मैले किचलो गर्दिन ।’ भट्टराईले अब आफ्नो लागि टिकटको माग नगर्ने भन्दै देशका विभिन्न क्षेत्रमा असन्तुष्ट देखिएकाहरुको असन्तुष्टि सम्बोधन गर्न आग्रह गरेका छन् । साथै उनले एमालेका सबै कार्यकर्तालाई जसले टिकट पाएपनि पार्टीका उम्मेदवारलाई जिताउन लाग्न अपिल गरेका छन् । उनले पार्टीका फरक मत चुनाव पछि छलफल गर्ने स्पष्ट गरेका छन् । आफुले आफ्ना फरक मतको विषयमा चुनावपछि छलफल गर्ने अध्यक्षलाई समेत बताएको उल्लेख गरेका छन् ।
१२- संयुक्त राज्य अमेरिकासँग बढ्दो तनावका बीच क्युबाले आफ्नो युद्ध तयारीको समीक्षा गरेको छ । राज्य सञ्चारमाध्यमका अनुसार, युद्ध जस्तो अवस्थामा अपनाइने योजना र उपायहरूबारे छलफल गर्न देशको राष्ट्रिय रक्षा समितिको बैठक बसेर समीक्षा गरेको हो । यो बैठक यस्तो समयमा भएको हो जब जनवरी २ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकाले हिरासतमा लिएपछि अमेरिका-क्युबा सम्बन्धमा तनाव उल्लेखनीय रूपमा बढेको छ । क्युबाको राष्ट्रिय रक्षा समिति युद्ध वा प्राकृतिक प्रकोपको अवस्थामा सम्पूर्ण देशको कमान्ड लिने जिम्मेवारी राख्छ । सरकारी विज्ञप्ति अनुसार, बैठकको उद्देश्य नेतृत्व र प्रशासनिक उपकरणको तयारी र समन्वयलाई बलियो बनाउनु थियो। बैठकले अर्को देशसँग द्वन्द्वको अवस्थामा क्युबा कसरी ‘युद्धको अवस्थामा’ जान्छ भन्ने विश्लेषण गरेको बताइएको छ । मादुरोलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबालाई निरन्तर धम्की दिदै आएका छन् ।
१३- सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् । रास्वपाले आशिकालाई धादिङ-१ बाट टिकट दिएको हो । आशिकाले यसअघि काठमाडौंबाट चुनाव लड्ने बताएकी थिइन् । रास्वपाको समानुपतिक सूचिको समेत कडा आलोचना गरेकी आशिकाले अन्तत: रास्वपाबाटै उम्मेदवार बनेकी छन् । जेनजी आन्दोलनपछि आन्दोलनका घाइते र शहिद परिवारलाई उनले गरेको सहयोगको चौतर्फी प्रसंशा गरिएको छ । जेनजी आन्दोलन अघि पनि उनले देशका विभिन्न स्थानमा सरसफाइसहित भ्रष्टाचारविरुद्ध अभियान चलाउदै आएकी थिइन् ।
१४- जनमत पार्टीका अध्यक्ष सिके राउतले बालेन शाहप्रति इंगित गर्दै काठमाडौँबाट लाखौँ मधेसीलाई लछारपछार गर्दै धपाउनेलाई चिन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै राउतले मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण भएको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘ मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण हुन् । नाजी प्रहरीजस्तै महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिनौं, समयमा सचेत होऔं ।’
१५- अमेरिकाले युरोपेली देशहरूमा कर लगाउने घोषणा गरेपछि, युरोपेली संघ (इयु) ले पनि अमेरिकामाथि व्यापार प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । इयूले ‘ट्रेड प्रतिबन्ध’ प्रयोग गर्ने विचार गरिरहेको छ, जुन युरोपेली देशहरूलाई आर्थिक दबाब दिन बाध्य पार्न प्रयोग गरिने प्रति-उपकरण हो । यसले इयूलाई अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउन, अमेरिकी कम्पनीहरूको युरोपेली बजारमा पहुँच प्रतिबन्धित गर्न, वा अमेरिकी कम्पनीहरूलाई सरकारी सम्झौताहरूमा भाग लिनबाट रोक्न अनुमति दिन सक्छ । इयूले अमेरिकासँगको व्यापार सम्झौताको अनुमोदनलाई पनि रोक्ने तयारी गरिरहेको छ, जसले अमेरिकी उत्पादनहरूमा शुन्य कर लगाउन सहमत भएको थियो ।
यसअघि, ट्रम्पले फेब्रुअरी १, २०२६ देखि आठ युरोपेली देशहरू डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्याण्ड र फिनल्याण्डका सामानहरूमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । ट्रम्पले ग्रीनल्याण्डको विषयमा सम्झौता नगरेमा जुन १ देखि २५ प्रतिशतसम्म कर बढ्ने चेतावनी दिएका छन् । ट्रम्पले ग्रीनल्याण्डको खरिद वा नियन्त्रणको विरोध गरेकोमा युरोपेली देशहरूमा कर लगाएका हुन् । ईयूले ट्रम्पको कर धम्कीलाई अनादरपूर्ण र आर्थिक ब्ल्याकमेल भनेको छ र यसको मिलेर सामना गर्ने प्रतिक्रिया दिएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले बढेर तोलाको ५८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५६२५ रुपैयाँमा कारोबार भएको थियो ।
१७- पूर्व मन्त्रीहरु इस्तियाक राय, प्रदीप यादवसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । गएराती राय र यादवसहित पर्सा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह लगायत १४ जना वडा अध्यक्ष, कांग्रेस केन्द्रीय सदस्य डा. डा. अबुल हुसेन अन्सारीलगायतका नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् । प्रदिप यादव पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् भने इश्तियाक राई बाँके क्षेत्र नम्बर २ बाट एमालेको उम्मेदवार बनेका छन् ।
१८- ग्रिनल्याण्डलाई समर्थन गर्ने आठ युरोपेली देशहरूले संयुक्त सैन्य अभ्यास गरेका छन् । डेनिस विदेश मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो घोषणा गरेको छ । डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन र संयुक्त अधिराज्यले अभ्यासमा भाग लिएका थिए । संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘नेटो सदस्यहरूको रूपमा, हामी साझा ट्रान्सएट्लान्टिक हितलाई ध्यानमा राख्दै आर्कटिक क्षेत्रको सुरक्षा सुदृढ पार्न प्रतिबद्ध छौं । पहिले समन्वय गरिएको ‘आर्कटिक एन्ड्युरेन्स’ अभ्यास यस आवश्यकतालाई ध्यानमा राख्दै सहयोगीहरूसँगको सहकार्यमा गरिएको डेनिश अभ्यास हो । यसले कसैलाई पनि खतरामा पार्दैन ।’ विज्ञप्तिमा अगाडी भनिएको छ- ‘हामी डेनमार्क र ग्रिनल्याण्डका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिएका छौं । गत हप्ता सुरु भएको प्रक्रियामा निर्माण गर्दै, हामी सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सिद्धान्तमा आधारित वार्ताको लागि तयार छौं, जसलाई हामी दृढतापूर्वक समर्थन गर्छौं ।’
शनिबार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आठ देशहरूमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । विज्ञप्तिमा ट्रम्पले लगाएको करका बारेमा भनिएको छ- ‘ट्यारिफ धम्कीले ट्रान्सएट्लान्टिक सम्बन्धलाई कमजोर बनाउछ र सम्बन्ध बिग्रने जोखिम बढाउछ । हामी हाम्रो प्रतिक्रियामा एकताबद्ध र समन्वयित रहनेछौं । हामी हाम्रो सार्वभौमसत्ता कायम राख्न प्रतिबद्ध छौं ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने बारम्बार जोड दिएका छन् । उनले यस सम्बन्धमा धेरै बयान दिएका छन्, जसको डेनमार्क सहित धेरै युरोपेली देशहरूले विरोध गरेका छन् । ट्रम्पले ग्रिनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि आवश्यक रहेको तर्क गर्दै आएका छन् । उनले अमेरिकाले ग्रिनल्याण्डलाई नलिएमा यसलाई चीन र रूसले यसलाई कब्जा गर्ने दाबि गर्दै आएका छन् ।
१९- सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा सेनेगलले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सेनेगलको जितमा खेलको ९४औं मिनेटमा पेप ग्वेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरक्त समय खेलाइएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा नै सेनेगलले गोल गरेको थियो । यो सेनेगलको अफ्रिका कप अफ नेसन्सको दोस्रो उपाधि हो । यसअघि सेनेगलले २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । त्यस्तै २००२ र २०१९ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो । त्यस्तै मोरक्कोले भने १९७६ मा एक पटक उपाधि जितेको थियो भने त्यसयता अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सकेको छैन । यसअघि मोरक्को २००४ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको थियो ।
२०- न्यूजील्याण्डले भारतविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको तेस्रो तथा अन्तिम खेलमा न्यूजील्याण्डले भारतलाई ४१ रनले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको भारतले ४६ ओभरमा अल आउट हुदै २९६ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले १२४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै नितिश कुमार रेड्डीले ५३ र हर्षित रानाले ५२ रन बनाएका थिए । त्यस्तै न्यूजील्याण्डका बलर ज्याक फोउलकेस र क्रिस्टियन क्लार्कले ३-३ र जयडेन लेनोक्सले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३३७ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले १३७ रन बनाए भने ग्लेन फिलिपले १०६ रनको शतकीय पारी खेलेका थिए । योसहित न्यूजील्याण्डले एकदिवसीय २-१ ले जितेको छ । सिरिजको पहिलो खेल हारेको न्यूजील्याण्डले त्यसपछिका लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ ।
FACEBOOK COMMENTS