काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल आयल निगमले देशभरका ग्यास उद्योगी तथा विक्रेतालाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यास बिक्री वितरण गर्न आग्रह गरेको छ । निगमले हालको आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउन र आम उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सकून् भनी विभिन्न निर्देशिका जारी गरेको हो । निगमले फागुन २९ देखि लागू हुने व्यवस्था अनुसार सबै ग्यास उद्योगहरूले सिलिण्डरमा ७.१ के.जि. एलपी ग्यास आधा मूल्य ९५५ मा बिक्रि गर्नुपर्ने र यसअन्तर्गत उद्योगहरूले आफ्नो विक्रेताहरुलाई दिनहु बिहान १० बजेभित्र बिक्रीको परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित निगमलाई जानकारी गराउनुपर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
त्यस्तै, सम्बन्धित विक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नम्बर र परिमाणको रेकर्ड राखेर दैनिक आधारमा निगमलाई जानकारी गराउन निगमले निर्देशन दिएको छ । निगमले घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यास वितरण गर्न निर्देशन दिए पनि, आवश्यकता भन्दा बढी ग्यास खरिद नगर्न र अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । हाल मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको भए पनि, निगमले नियमित रुपमा ग्यास आपूर्ति तथा विक्री वितरणको व्यवस्था निरन्तरता दिंदै आएको उल्लेख गरेको छ ।
२- लगानी बोर्डका सिइओ सुशील ज्ञवालीले नेपालमा विश्वासको ग्याप, आत्मविश्वासको डर रहेको भन्दै सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा ग्लोबल कन्फ्रेन्सको पहिलो सेसन ‘रोडम्याप टु इनभेष्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’ मा प्रमुख वक्ताका रुपमा बोल्दै ज्ञवालीले अब दुई तिहाइ सरकार आउन लागेकाले आत्मविश्वास कायम गर्न एकसाथ लाग्नुपर्ने बताए । अब पनि अलमलको अवस्थामा रहने छुट नभएको भन्दै उनले सेबोन र अन्य ऐनहरुको हकमा अगाडि बढ्न जरुरी रहेको बताए । यसमा लगानी बोर्डले सघाउने उनले प्रतिबद्धता जनाए । नीतिगत सुधारको लागि केही नेपाल ऐन संशोधनमार्फत जान सकिने र प्रवासी नेपाली र सरकारी निकायबीच घनिभूत छलफल जरुरी रहेको बताए । आइपीओमा अड्किएको विषयमा गहिरो छलफल गरी निकास निकाल्नुपर्ने र लगानी बोर्डले सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
गैरआवासीय नेपाली ऐनलगायत ऐनहरु संशोधन नहुँदा समस्या भएको, संविधानले बोलेपछि कार्यान्वयन गर्नुपर्नेमा सम्पत्ति किन्न नपाएको, के कारणले डर सिर्जना भएको हो त्यसमा छलफल गरी क्लियर गर्नुपर्ने बताए । ‘१४ वटा निकायमा लगानी हेर्ने फोकल पर्सन तोकिदिएका छौं । अब सहजीकरण हुनेछ,’ उनले भने । दुइतिहाइ सरकार गठन भइसकेपछि लगानीको वातावरण बन्ने एक वर्षमा १० खर्ब पैसा आउनसक्ने ठाउँमा पुर्याउन सक्ने आत्मविश्वास विकास भएको बताए । अब आर्थिक, जनशक्ति र कानुनी रुपमा तयारी गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘तपाइसँग भएको आइडिया, पुँजी, प्रविधि लगानी बोर्डमा प्रस्ताव गर्नुस् । हामी अगाडि बढाउन तयार छौं । हामी एनआरएनएसँग एमओयु नै गरेर जाने सोचेका छौं,’ उनले भने ।

३- अमेरिकाले इरानको खार्ग द्वीपमा ठूलो स्तरमा आक्रमण गरी ९० भन्दा बढी सैन्य केन्द्र नष्ट गरेको दाबी गरेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार आक्रमण अत्यन्तै सटीक ढङ्गले गरिएको थियो र त्यस क्रममा तेलसँग सम्बन्धित पूर्वाधारमा कुनै क्षति नपुर्याइएको बताइएको छ । केन्द्रीय कमान्डले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा नौसैनिक बारुद भण्डारण केन्द्र, मिसाइल भण्डारण बंकर तथा अन्य विभिन्न सैन्य संरचनालाई लक्ष्य बनाएर आक्रमण गरिएको उल्लेख गरेको छ। अमेरिकी सेनाले यसलाई ठूलो स्तरको सटीक सैन्य आक्रमणको रूपमा वर्णन गरेको छ । यसअघि एक इरानी अधिकारीले खार्ग द्वीपबाट तेल निर्यात सामान्य रूपमा जारी रहेको र त्यहाँ रहेका तेल कम्पनीहरूको गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको बताएका थिए ।

४- पाकिस्तानी क्रिकेटर सलमान अली आघालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आधिकारिक चेतावनी दिएको छ । बङ्गलादेशविरुद्ध ढाकामा शुक्रबार भएको दोस्रो एकदिवसीय खेलका क्रममा आघाले खेलाडी र सहयोगी सदस्यका लागि लागू गरिएको आचारसंहिताको पहिलो तहको नियम उल्लङ्घन गरेको पाइएको आइसीसी जनाएको छ । आइसीसीका अनुसार उनले अन्तर्राष्ट्रिय खेलका क्रममा क्रिकेट सामग्री वा मैदानका उपकरण दुरुपयोग गर्न नहुने सम्बन्धी नियम उल्लङ्घन गरेका थिए । यस घटनासँगै उनको अनुशासन अभिलेखमा एक डिमेरिट अंक पनि थपिएको छ । पछिल्लो २४ महिनामा यो उनको पहिलो गल्ती हो । घटना पाकिस्तानको इनिङ्सको ३९औँ ओभरमा भएको थियो ।

रनआउट भएपछि आघाले आफ्नो ब्याटिङ पञ्जा र हेल्मेट रिसाएर मैदानमा फालेका थिए । आघाले गल्ती स्वीकार गर्दै खेल निर्णायक मण्डलका प्रतिनिधिले प्रस्ताव गरेको सजाय स्वीकार गरेपछि औपचारिक सुनुवाइ आवश्यक नपरेको बताइएको छ । मैदानमा रहेका अम्पायर एड्रियन होल्डस्टक र तनवीर अहमदसहित तेस्रो अम्पायर कुमार धर्मसेना र चौथो अम्पायर मसुदुर रहमान मुकुलले उनीविरुद्ध आरोप लगाएका थिए । पहिलो तहको उल्लङ्घनमा सामान्यतया आधिकारिक चेतावनी, खेल शुल्कको अधिकतम ५० प्रतिशतसम्म जरिवाना वा एकदेखि दुई डिमेरिट अंकसम्मको सजाय हुन सक्छ । यसैबीच पाकिस्तानले बङ्गलादेशलाई १२८ रनले हराउँदै तीन खेलको सिरिज १-१ ले बराबरीमा ल्याएको छ । सिरिजको अन्तिम खेल आइतबार हुनेछ।

५- नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोषारोपण गरेमा मुलुकमा द्वन्द हुने बताएका छन् । गुण्डुमा एमालेको सचिवालय बैठकपछि प्रतिक्रिया दिदै सचिव बस्नेतले कार्की आयोगको प्रतिवेदन सार्बजनिक गर्न माग गर्दै ओलीलाई मात्र दोषारोपण गरिएको भए मुलुक थप द्वन्दमा जाने दाबि गरेका हुन् । केपी ओलीलाई कारवाही गर्नुपर्ने कुनै कुरा नै छैन भन्दै उनले कारवाही गर्ने केहि स्थिति नआउने दाबि गरे । उनले भने- हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा एक दुई तीन सम्भव छैन, कुनै आधार पनि छैन । देखाएको छ भने त्यो गम्भीर पूर्वाग्रह राखेर यो आयोगले रिपोर्ट प्रस्तुत गर्यो भन्ने लाग्छ ।’ उनले भने- ‘७७ जानको मृत्युको सन्दर्भ, २३ गते १९ जनाको मृत्युको सन्दर्भ, जेलबाट रविजी सहित भाग्दा ११ जनाको मृत्युको सन्दर्भ, भाटभटेनी जलाउदा लुट्दा २१ जानको मृत्युको सन्दर्भ, ६ जान प्रहरी मरेको विषय कार्की आयोगले ल्याएको होला । सिंहदरबार जलाएको, अदालत जलाएको विषय आएका होलान भन्ने विश्वास छ ।’ उनले बाहिर आएका सबै विषयको छानबिन हुनुपर्ने आफुहरुको स्पष्ट अडान रहेको बताए ।

६- गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औ ग्लोबल कन्फ्रेन्स र इन्टरनेसनल कन्फ्रेन्स (विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन) सुरु भएको छ । काठमाडौंस्थित सोल्टी होटलमा परराष्ट्र मन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दिप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दिया संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपाली ८० लाख नेपालीको अभियान भन्दै सय दुई जनाबीच मनमुटाव हुँदैमा अन्य नेपालीलाई ठेस नपुर्याउन अपिल गरेका छन् । ८० लाख नेपालीले आफ्नो क्षमताअनुसार जुन योगदान गरेको छ, उनीहरुलाई उत्साहित बनाइदिन संघलाई अपिल गरेका हुन् । उनले जबसम्म गैरआवासीय नेपालीको लगानी आउँदैन अरु विदेशीको लगानी नआउने बताए ।
देशभित्रका उद्योगी संघसंस्थाले एनआरएनएसँग समन्वय गर्न छोडेको भन्दै मनमुटावले कसैलाई फाइदा नपुर्याएको उनको भनाइ थियो । उनले ८० लाख प्रवासीकै प्रतिनिधित्व गर्नेगरी काम गर्न संघलाई अनुरोध गर्दै भने- ‘सबै मिलेर अगाडि बढौं । देशलाई समृद्ध बनाउ ।’ संघको एकताप्रति हर्ष व्यक्त गर्दै उनले व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगे पनि देश बनेन् भने त्यसको अर्थ छैन भन्देर नेपालका लागि नेपाली नाराका साथ गैरआवासीय नेपाली अभियान सुरु गरिएको बताए । नेपालीको क्षमता सबै हिसाबले अब्बल रहेको भन्दै मात्र संकल्पको अभाव रहेको बताए । संकल्प गर्यो भने धेरै समृद्ध हुनसक्ने उनको भनाइ थियो । देश अफ्ठेरो परेको, नियम कानुन अफ्ठेरो भएको बेला लडेर नेपाल बनाउने संकल्प लिनुपर्नेमा उनले जोड दिए । भिसा, काम गर्ने भिसाको समस्या देखिएको भन्दै पहिला देश बनाउनुपर्ने बताए । ‘जबसम्म आफ्नो देश बनाउँदैनौ तबसम्म जुनसुकै देशमा बसे पनि विदेशी नै हुन्छौ त्यसैले जुनसुकै देशमा बसे पनि आफ्नो देश बनाउन लागौं,’ उनले भने ।
७- गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन काठमाडौँमा सुरु भएको छ। महाधिवेशन चैत २ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले विश्वका केही क्षेत्रमा बढ्दो अस्थिरता र द्वन्द्वका कारण विदेशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता बढेको बताएका छन्। विशेषगरी पश्चिम एसिया र मध्यपूर्व क्षेत्रमा विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाप्रति नेपाल सरकारको चासो बढेको उनले बताए । मन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकका समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले आकस्मिक नियन्त्रण कक्ष सञ्चालनमा ल्याएको जानकारी दिए।
उनले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सम्बन्धित देशका आधिकारिक सूचनामा ध्यान दिन र नजिकको नेपाली दूतावाससँग सम्पर्कमा रहन आग्रह गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध र शान्त देश बनाउने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए। उनले विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सलाई राष्ट्र निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौँमा ‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना काठमाडौँ शुरु भएको जानकारी दिइएको छ ।
सम्मेलनमा १४ तारिखको साँझदेखि १५ तारिखको साँझसम्म संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ । निर्वाचन भौतिक र अनलाइन गरी हाइब्रिड मोडेलमा हुने र यसपटक ४ हजार २८६ प्रतिनिधिले भौतिक र अनलाइन माध्यमबाट निर्वाचनमा सहभागिता जनाउने तर यसपटक एकता महाधिवेशन भएकाले सर्वसम्मतिको पहल भइरहेको बताइएको छ । संघको महाधिवेशनको समापन चैत्र २ गते प्रधानमन्त्री सुशिला कार्कीले गर्ने कार्यतालिका रहेको संघले जानकारी दिएको छ । महाधिवेशनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू तथा स्वदेशी र विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहको छ ।
८- इरानमाथि भएका आक्रमणपछि देशभित्र ठूलो संख्यामा नागरिक घर छाडेर सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका अनुसार हालसम्म इरानमा करिब ३२ लाख मानिस अस्थायी रूपमा विस्थापित भएका छन् । जानकारी अनुसार धेरैजसो मानिस राजधानी तेहरान र अन्य ठूला सहरबाट देशको उत्तरी क्षेत्रतर्फ सरेका छन् । द्वन्द्वको असर छिमेकी देशहरूमा पनि देखिन थालेको छ। लेबनानमा स्थिति बिग्रिएपछि ८ लाख २२ हजारभन्दा बढी मानिसले आफूलाई विस्थापितका रूपमा दर्ता गराएका छन् । यसका साथै लेबनानबाट मानिसहरू सिरियातर्फ जान थालेका छन् ।
अधिकारीहरूका अनुसार हालसम्म ७८ हजारभन्दा बढी व्यक्ति लेबनानबाट सिरिया पुगेका छन् । संकट सुरु भएपछि इरानबाट अफगानिस्तान जाने मानिसको संख्या पनि बढेको छ, जहाँ करिब २४ हजार ८०० मानिस पुगेको जनाइएको छ । यसैबीच इरानी सेनाका प्रवक्ता अबोलफजल शेकरचीले मध्यपूर्वका देशहरूलाई अमेरिका र इसरायलविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । उनले क्षेत्रका नेताहरूलाई अमेरिकामाथि भरोसा नगर्न चेतावनी दिँदै अमेरिका सुरक्षा सुनिश्चित गर्न सक्षम नभएको दाबी गरेका छन् ।
उनका अनुसार युद्धका क्रममा इरानलाई भएको भौतिक क्षति पुनः निर्माण गर्न सकिन्छ, तर अमेरिकाको विश्वसनीयतामा परेको क्षति भने सजिलै सुधार नहुने उनले बताएका छन् । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान युद्धका कारण कमजोर बनेपछि अब सम्झौता गर्न चाहिरहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अमेरिकी सेनाले इरानविरुद्ध प्रभावकारी काम गरेको तर त्यसबारे सञ्चारमाध्यमले पर्याप्त रूपमा समाचार नदिएको टिप्पणी गरेका छन् । ट्रम्पले इरानले सम्झौता गर्न चाहेको भए पनि आफूले स्वीकार गर्न नसक्ने प्रकारको सम्झौता प्रस्ताव गरिएको दाबी गरेका छन्।
९- भारत सरकारले शिक्षाविद् तथा वातावरण अभियन्ता सोनम वाङचुकलाई हिरासतबाट मुक्त गर्ने निर्णय गरेको छ । भारतको गृह मन्त्रालयले शनिबार जारी गरेको आधिकारिक वक्तव्यमा राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत प्रयोग गरिएको अधिकार प्रयोग गर्दै वाङचुकको हिरासत रद्द गरिएको जनाएको छ । वाङचुकलाई लद्दाखमा भएका हिंसात्मक प्रदर्शनपछि सन् २०२५ सेप्टेम्बर २६ मा पक्राउ गरिएको थियो । उनी उक्त ऐनअन्तर्गत तोकिएको हिरासत अवधिको करिब आधा समय बिताइसकेका थिए । वाङचुक पछिल्लो समय लद्दाखलाई संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने र पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित विभिन्न आन्दोलनमा सक्रिय रहँदै आएका थिए । गत वर्ष मार्चमा उनले यही माग राख्दै २१ दिनसम्म अनशन गरेका थिए भने लद्दाखबाट दिल्लीसम्म पदयात्रा पनि गरेका थिए ।
सन् २०२५ मा गरिएको ३५ दिने अनशनको १५औँ दिन सेप्टेम्बर २४ मा लेहमा आन्दोलन हिंसात्मक बनेको थियो । उक्त घटनामा चार जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएको बताइएको छ । त्यसको दुई दिनपछि उनलाई हिरासतमा लिइएको थियो । भारत सरकारले सन् २०१९ मा संविधानको धारा ३७० खारेज गरेपछि जम्मु-कश्मीर राज्यलाई विभाजन गरेर जम्मु-कश्मीर र लद्दाख गरी दुई अलग केन्द्रशासित प्रदेश बनाएको थियो। लद्दाखका धेरै नागरिकले त्यस निर्णयलाई स्वागत गरेका थिए, किनभने लामो समयदेखि जम्मु-कश्मीरबाट अलग हुने माग उठ्दै आएको थियो।
१०- नेकपा एमालेले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकबाट नाम टुंगो लगाइएको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम आइतबरसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ । प्रत्यक्षमा ९ सिट जितेको नेकपा एमालेले समानुपातिकमा १६ सिट जितेको छ । जनजाति- ४ जना) महिला : १- भूमिका सुब्बा २- गंगादेवी श्रेष्ठ पुरुष : १- रामबहादुर थापा मगर २- कुलभक्त शाक्य खस आर्य- ५ जना महिला : १-पद्मा अर्याल २- टुकाभद्रा हमाल ३- एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र), पुरुष : १- गुरु प्रसाद बराल २- पुष्पराज कंडेल, थारु १ जना १- कृपाराम राणा (पुरुष), दलित- २ जना महिला : १- विष्णुमाया वी.के. २- नीता घटानी मधेसी ३ जना महिला : १- रिङ्ला यादव २- यशोधा कुमारी यादव पुरुष : १- चन्द्रेश्वर मण्डल (पुरुष), मुस्लिम महिला : १- साजिदा सिद्दीकी
११- निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेका नेताहरुमा आरोप प्रत्यारोप शुरु भएको छ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् भने उनलाई कैयौं नेताहरुले साथ पनि दिइरहेका छन् । तर अध्यक्ष केपी शर्मा ओली पक्ष भने डिफेन्सिभ देखिएको छ । यसैबीच नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले योगेश भट्टराईले चुनावमा महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले भनेका छन्- अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु । त्यस्तै एमाले नेता गोकुल बास्कोटाले अर्का नेता शेरबहादुर तामाङलाई अवसरवादी भनेका छन् ।
उनले तामाङले आफु र आफ्नी श्रीमतीको पद प्राप्तिको लागि गुट बदलेको आरोप लगाएका छन् । उनले भनेका छन्- भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन । म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन । ०३८ यताका ईतिहस हेरौ न । नेकपा एमालेले भर्खरै सम्पन्न चुनावमा प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकमा तेस्रो हुदै १६ सिट जितेको छ । अघिल्लो चुनावमा समानुपातिकतर्फ एमाले पहिलो दल थियो ।
१२- अमेरिकाको वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनको १२ फिट अग्लो मूर्ति राखिएको छ । उक्त मूर्तिमा दुवै जना चलचित्र ‘टाइटानिक’ को प्रसिद्ध ‘किङ अफ द वर्ल्ड’ शैलीमा उभिएको देखिन्छ । यो मूर्ति ‘द सिक्रेट ह्यान्डसेक’ नामक गुमनाम कलाकार समूहले नेसनल मल नजिक स्थापना गरेको बताइएको छ । केहीले यसलाई राजनीतिक कला र अभिव्यक्तिको स्वतन्त्रताको उदाहरणका रूपमा हेरेका छन् भने धेरैले भने यसलाई आपत्तिजनक भन्दै आलोचना गरेका छन् । यस विषयमा अहिलेसम्म ह्वाइट हाउसले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यसअघि पनि ट्रम्प र एपस्टिनलाई देखाउने यस्तै प्रकारको मूर्ति स्थापना गरिएको थियो । मूर्तिको वरिपरि राखिएका ब्यानरहरूमा दुवैको तस्बिरसहित ‘मेक अमेरिका सेफ अगेन’ जस्ता नाराहरू लेखिएका छन् । मूर्तिमा एपस्टिन अगाडि उभिएका छन् भने ट्रम्प उनको पछाडि हात फैलाएर उभिएको देखिन्छ ।
यो शैली सन् १९९७ मा बनेको चर्चित चलचित्र ‘टाइटानिक’को एक प्रसिद्ध दृश्यबाट प्रेरित भएको बताइएको छ । उक्त दृश्यमा अभिनेता लियोनार्डो डिक्याप्रियोले जहाजको अगाडिको भागमा उभिएर हात फैलाउँदै ‘आइ एम द किङ अफ द वर्ल्ड’ भनेको दृश्य निकै चर्चित मानिन्छ । यसअघि पनि यही कलाकार समूहले सन् २०२५ मा ‘बेस्ट फ्रेन्ड फरेभर’ नामको मूर्ति राखेको थियो, जसमा ट्रम्प र एपस्टिन हात समातेर उभिएको देखाइएको थियो । जेफ्री एपस्टिन अमेरिकाका एक वित्त व्यवसायी थिए, जसलाई नाबालिग किशोरीहरूको यौन शोषण र मानव बेचबिखनसँग सम्बन्धित गम्भीर आरोप लागेको थियो । उनलाई सन् २०१९ मा पक्राउ गरिएको थियो तर सोही वर्ष न्युयोर्कस्थित जेलमा उनको मृत्यु भएको थियो । सन् १९९० को दशक र त्यसपछि केही वर्षसम्म ट्रम्प र एपस्टिनलाई विभिन्न सामाजिक कार्यक्रम तथा पार्टीहरूमा सँगै देखिएको थियो। पछि भने ट्रम्पले आफूले एपस्टिनसँगको सम्बन्ध धेरै अघि नै अन्त्य गरेको र उनलाई आफ्नो क्लबबाट प्रतिबन्ध लगाएको बताएका थिए ।
१३- म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका महावीर पुनले चुनावका लागि प्राप्त रकममध्ये खर्च कटाएर पनि ठूलो रकम बाँकी रहेको जानकारी दिएका छन् । पुनले सार्वजनिक गरेको विवरणअनुसार दाताहरूबाट प्राप्त कुल रकम ५६ लाख ३७ हजार ८९३ रुपैयाँ ४७ पैसा रहेको छ । यसमध्ये चुनावी प्रचारप्रसार र अन्य काममा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अहिले पनि बैंकमा २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बाँकी रहेको उनले बताएका छन् । उनका अनुसार बाँकी रहेको रकम बेनीमा पाँच वर्षका लागि सम्पर्क कार्यालय सञ्चालन गर्न प्रयोग गरिनेछ । सो कार्यालयमार्फत गाउँबाट सदरमुकाम आउने नागरिकलाई सरकारी कामकाज तथा विभिन्न कार्यालयमा आवश्यक सामान्य सहयोग निःशुल्क रूपमा उपलब्ध गराइने उनले बताए । पुनले कार्यालय सञ्चालनका लागि दुई जना कर्मचारी राख्ने, कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टरजस्ता उपकरण प्रयोग गर्ने योजना रहेको जानकारी दिएका छन् ।
चुनावी प्रचारका क्रममा गाउँगाउँमा पुग्दा यस्तो योजना आफूले मतदातासामु प्रस्तुत गरेको पनि उनले बताएका छन् । उनले ठूलो सहयोग गर्न नसके पनि नागरिकलाई सानो सहयोग गर्न सकिने विश्वास व्यक्त गरेका छन् । पुनका अनुसार चुनावी प्रचारका क्रममा ४५ दिनसम्म १० देखि १६ जनासम्मको टोली बिहान ७ बजेदेखि राति १० बजेसम्म म्याग्दीका दुर्गम गाउँहरूमा पुगेको थियो । उनले जिल्लाका अधिकांश गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरिएको बताए । म्याग्दीको भौगोलिक अवस्था झापा वा काठमाडौँजस्तो नभएकाले छोटो समयमा सबै क्षेत्रमा पुग्न कठिन भएको उल्लेख गर्दै उनले सबै गाउँमा प्रचार गर्न ४५ दिन लागेको बताएका छन् ।
१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आइतबारका लागि सरेको छ । प्रवक्ता मनिष झाका अनुसार रास्वपाको आज बस्ने भनिएको सचिवालय बैठक आइतबार पार्टी कार्यालय बनस्थलीमा बिहान १० बजे बस्ने भएको छ । यसअघि बैठक आज बस्ने भनिएको थियो । बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गर्ने बताइएको छ ।
१५- इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमाथि मिसाइल आक्रमण भएको छ । इराकी अधिकारीहरूका अनुसार दूतावास परिसरभित्र रहेको हेलिप्याड क्षेत्रमा एक मिसाइल खसेको हो । यसअघि साउदी अरेबियाको एक हवाई अड्डामा पार्क गरिएका अमेरिकी वायुसेनाका पाँच वटा विमान नष्ट भएको खबर पनि सार्वजनिक भएको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार ती विमान इन्धन भर्ने ट्यांकर प्रकारका थिए । समाचारमा ती विमान इरानको आक्रमणबाट क्षतिग्रस्त भएको उल्लेख गरिएको छ, तर आक्रमण कहिले भएको हो भन्ने स्पष्ट गरिएको छैन ।
यस विषयमा अमेरिकी केन्द्रीय कमान्डले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यसैबीच, इराकमै अमेरिकी वायुसेनाको बोइङ केसी-१३५ इन्धन भर्ने विमान पनि दुर्घटनाग्रस्त भएको थियो । शुक्रबार भएको उक्त दुर्घटनामा विमानमा सवार सबै ६ जना चालकदल सदस्यको मृत्यु भएको जनाइएको छ । इरानसँगको युद्ध सुरु भएयता अहिलेसम्म ११ जना अमेरिकी सैनिकको ज्यान गएको बताइएको छ।
१६- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । काँग्रेसले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी बैठक बोलाएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने छन् । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने एजेण्डा रहेको छ ।
१७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यले आफूहरूलाई पदमुक्त गरिएको निर्णय पार्टी विधानविपरीत भएको बताएका छन् । दुवैले संयुक्त रूपमा सार्वजनिक गरेको वक्तव्यमा आफूहरूलाई पदमुक्त गरिएको सूचना अनलाइनमार्फत मात्र थाहा पाएको उल्लेख गर्दै प्राकृतिक न्यायको सिद्धान्तअनुसार स्पष्टीकरण दिने अवसरसमेत नदिइएको गुनासो गरेका छन् । उनीहरूले केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अधिकारक्षेत्र मिचेर अध्यक्षले एकल रूपमा यस्तो निर्णय गर्ने अधिकार पार्टी विधानले नदिएको दाबी गरेका छन् ।
उनीहरूले अध्यक्षसँग प्रश्न गर्दै पार्टी विधानको कुन धारा र व्यवस्थाअनुसार आफूहरूलाई पदमुक्त गरिएको हो भन्ने स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन् । साथै, यसबारे केन्द्रीय कार्यसमिति नै बेखबर रहेको उल्लेख गर्दै पार्टी अध्यक्षबाटै विधान, केन्द्रीय कार्यसमिति र अनुशासन समितिको अवमूल्यन भएको भन्दै दुःख व्यक्त गरेका छन् । वक्तव्यमा प्रतिनिधिसभा निर्वाचनअघि गत मंसिरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीलाई देशकै पहिलो शक्ति बनाउने उद्घोष गरिएको स्मरण गराउँदै निर्वाचन परिणाम भने निराशाजनक आएको उल्लेख गरिएको छ ।
उनीहरूका अनुसार १६४ मध्ये १५९ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारको जमानत जफत भएको थियो र केवल एक जना युवा नेता मात्र निर्वाचित भएका थिए । राजभण्डारी र आचार्यले उक्त परिणामको सम्पूर्ण जिम्मेवारी आफूहरू दुई जनामाथि मात्र थोपरेर नेतृत्वले वास्तविक प्रश्नबाट ध्यान मोड्न खोजेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूलाई कारबाही गर्दैमा नेतृत्व नैतिक जिम्मेवारीबाट मुक्त नहुने पनि बताएका छन् । चार वर्षे कार्यकाल पूरा भइसकेको केन्द्रीय कार्यसमितिले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा विधानविपरीत स्वेच्छाचारी कारबाही गर्नु प्रजातान्त्रिक मर्यादा र राजनीतिक नैतिकताविपरीत भएको उनीहरूको भनाइ छ ।
१८- अमेरिका सरकारले इरानका १० शिर्ष नेतृत्वको जानकारी दिने व्यक्तिलाई १ करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनामा कुल १० जनाको नाम उल्लेख गरिएको छ । तीमध्ये ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको जनाइएको छ । सार्वजनिक गरिएका व्यक्तिहरूमध्ये इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि रहेका छन् । अली लारिजानीलाई केही समयअघि इरानमा आयोजित सरकार समर्थक एक र्यालीमा देखिएको बताइएको छ
। अमेरिकाका अनुसार ती व्यक्तिहरू इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सका विभिन्न सैन्य एकाइहरूको नेतृत्व तथा सञ्चालनमा संलग्न रहेका छन् । उनीहरूले चार जना नाम नखुलेका र तस्बिर नखुलेका सेनाका अधिकारीहरू, रक्षा परिषद् सचिव, सर्वोच्च नेताका सल्लाहकार, सर्वोच्च नेताको कार्यालयमा सैन्य कार्यालय प्रमुख, र क्रप्स कमाण्डरको बारेमा पनि जानकारी खोजिरहेका छन् । १९७९ मा स्थापना भएदेखि, क्रप्सले इरानको विदेश नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको छ । समूहले अब इरानको अर्थतन्त्रको विशाल खण्डहरूमा नियन्त्रण राख्छ र इरानी घरेलु राजनीतिमा प्रभावशाली छ ।
१९- काठमाडौँमा चुनाव अघि देखि नै अभाव देखिएको खान पकाउने ग्यासको अभाव त्यसपछि अमेरिका र इजरायलले इरानमा आक्रमण गर्न शुरु गरेपछि झन् बढेको छ । ग्यास डिपोमा लामो लाइन देखिन लागेको छ भने सरकार अनविज्ञ बनेको देखिएको छ । चुनावपछि नयाँ सरकार आउने चरणमा रहे पनि अहिलेको सरकारले अब आफ्नो जिम्मेवारी पुरा भएको जस्तो व्यबहार देखाएको छ । अहिले सामान्य ग्यास बिक्री केन्द्रमा ग्यासको अभाव छ तर धेरै पैसा तिने अफर गरेमा कहिँ न कहिँबाट उनीहरुले सजिलै व्यवस्थापन गरिरहेको अवस्था देखिएको छ ।
अरु बेला अनुगमन गरौँ भन्ने बाणिज्य विभाग अहिले ग्यासको चरम कालोबजारी भएको समयमा चुपचाप देखिएको छ भने सरकारी संयन्त्र मौन देखिएको छ । अर्को तर्फ नेपाल आयल निगमले भने अन्य सामान्य समयमा जस्तै ग्यास आइरहेको र कसरी अभाव भएको छ भन्ने जवाफ दिन सकेको छैन । निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार हालसम्म नेपालले मासिक आवश्यकताअनुसार ग्यास प्राप्त गरिरहेको छ । ठाकुरका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ र सो परिमाण बराबरको ग्यास नियमित रूपमा आइरहेको छ । उनले उपभोक्ताले भण्डारण गर्न थालेकोले अभाव देखिएको बताए । फागुनको २६ गतेसम्म साढे ४५ हजार मेट्रिक टन ग्यास आइपुगेको आँकडा उनले दिए । निगमले एलपी ग्यासको कुनै स्टक राख्ने गरेको छैन ।
ग्यास उद्योगबाट अर्डर लिने र सोहि अनुसार भारतबाट आएको ग्यास वितरण गर्ने गर्दछ । निगमले ‘पीडीओ’ जारी गर्ने गरेको र सम्बन्धित उद्योगले भारतका ढुवानीकर्तामार्फत ग्यास ल्याएर वितरण गर्ने व्यवस्था रहेको प्रवक्ता ठाकुर बताउछन् । अर्कोतर्फ चुनाव भर्खर सकिएको छ तर उभोक्ता ग्यासको लाइनमा र इन्डक्सन खोज्न दौडधुपमा रहेका छन् । तर कुनै राजनीतिक दलले एउटा विज्ञप्ति सम्म निकालेर यसको सम्बोधनको ध्यानाकर्षण गराएको देखिदैन । अत्याधिक बहुमत पाएर सरकार बनाउन लागेको दल रास्वपा पनि मौन देखिनु अचम्म लाग्दो देखिएको छ । अर्कोतर्फ आयल निगमले अहिलेको समस्या समाधान गर्न भन्दै शुक्रबारदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण शुरु गरेको छ ।
२०- दक्षिण भारतीय अभिनेता थलापति विजयको फिल्म ‘जन नायकन’ फेरि समस्यामा परेको छ। सेन्सर बोर्डसँगको विवाद र प्रदर्शनमा भइरहेको ढिलाइका कारण अमेजन प्राइम भिडियोले फिल्मसँग गरेको ओटीटी सम्झौता रद्द गरेको बताइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार अमेजन प्राइम भिडियोले फिल्मको डिजिटल अधिकारका लागि करिब १२० करोड भारतीय रुपैयाँको सम्झौता गरेको थियो। दर्शकहरू पछिल्ला दुई महिनादेखि फिल्म प्रदर्शनको प्रतीक्षामा रहेका भए पनि हालसम्म यसको प्रदर्शन मिति तय हुन सकेको छैन । फिल्मलाई सेन्सर प्रमाणपत्र कहिले प्राप्त हुन्छ र कहिले हलमा प्रदर्शन हुन्छ भन्ने अझै स्पष्ट भएको छैन। यही अनिश्चितताका कारण ओटीटी पक्षले सम्झौता रद्द गरेको जनाइएको छ । सामान्यतया ओटीटी मञ्चहरूले फिल्मको हल प्रदर्शन मिति तय भएपछि मात्र यस्तो सम्झौता गर्ने गर्छन् । फिल्म सुरुमा जनवरी ९ मा प्रदर्शन गर्ने योजना थियो । तर केन्द्रीय चलचित्र प्रमाणन बोर्डले केही दृश्य संवेदनशील भएको भन्दै हटाउन निर्देशन दिएपछि निर्माता पक्ष र सेन्सर बोर्डबीच विवाद बढेको थियो ।
पछि यो विषय अदालतसम्म पुगेको थियो । विवाद समाधानका लागि निर्माता पक्षले अदालतबाट मुद्दा फिर्ता लिएर पुनरावलोकन समितिमा पुगेका थिए । मार्च ९ मा फिल्मको प्रदर्शन गरेर पुनरावलोकन गर्ने कार्यक्रम तय गरिएको थियो । तर अन्तिम समयमा समितिका एक सदस्य बिरामी परेपछि कार्यक्रम रद्द भयो र पुनरावलोकन प्रक्रिया थप ढिलो भएको छ । ‘जन नायकन’लाई थलापति विजयको अन्तिम फिल्मका रूपमा पनि हेरिएको छ । उनी तमिलगा वेट्री कजगम नामक राजनीतिक दलका प्रमुख हुन् । उनको दलले आगामी मार्च-अप्रिलमा हुने तमिलनाडु विधानसभा निर्वाचनमा भाग लिने घोषणा गरेको छ । विजयले हालै ३३ वर्ष लामो अभिनय यात्रापछि चलचित्र क्षेत्र छोड्ने निर्णय गरेको बताएका थिए ।
FACEBOOK COMMENTS