काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको संघर्ष समाप्त नभएको बताउँदै अबको संघर्ष उत्पादन र समृद्धिका लागि हुने बताएका छन् । रुकुमको भूमे–२, खाबाङ बगरमा ३१औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भएको उल्लेख गरे ।
उनले भने- ‘जेन जी पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियाका क्रममा उठाइएका तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन् । मुद्दाहरू बाँकी छन्, सपनाहरूको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौं ।’ संविधान जारी भएको एक दशकमा विभिन्न सुधारका प्रयास गरिएको उल्लेख गर्दै प्रचण्डले सरकारमा रहँदा एक वर्षभित्र पाँच लाख भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने नीति तथा बजेट ल्याइएको जानकारी दिए । त्यसका लागि कानुन संशोधन गरिए पनि सरकारबाट बाहिरिएपछि कार्यक्रम रोकिएको उनको भनाइ थियो ।
विदेशबाट फर्केका युवालाई लक्षित उद्यमशीलता कार्यक्रमले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले अबको ‘युद्ध उत्पादनको युद्ध’ हुने बताए । स्टार्टअप कार्यक्रमलाई कार्यकर्ता पोस्ने माध्यम बनाइएको आरोप लगाउँदै उनले सूचना प्रविधि, पर्यटन, कृषि लगायतका क्षेत्रमा आगामी पाँच वर्षभित्र २० लाखभन्दा बढी रोजगारी र स्वरोजगारी सिर्जना गर्न सकिने दाबी गरे । उनले अत्यावश्यक औषधि सरकारी स्तरमै उत्पादन गर्ने योजना, ‘हिमाल समृद्धि कार्यक्रम’, प्रस्तावित मेगा फूड पार्क, इको टुरिज्म, हिल स्टेशन तथा गण्डकी त्रिभुज परियोजना प्रभावकारी रूपमा अघि बढ्न नसकेको उल्लेख गरे । पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्न नपाउँदा राम्रा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको अनुभव सुनाउँदै उनले दोहोरो जिम्मेवारी भएका निकायहरू गाभ्ने, संघीय संरचनामा दोहोरिएका कार्यक्रम हटाउने तथा नीति–बजेट प्रक्रियामा सुधार गर्ने प्रयासहरू अधूरै रहेको बताए ।
२- आम जनता पार्टी (आजपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आजपाले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहित अध्यक्ष प्रभु साहले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिवद्धता जनाएको छ । घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष जननिर्वाचित हुने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ ।

साथै ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने, कुल गार्हस्थ उत्पादनको २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्ने प्रस्ताव गरेको छ । पार्टीले गैरआवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेण्डा अघि सारेको छ । आजपाले भ्रष्टाचारमाथि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना बनाउने प्रतिवद्धता जनाएको छ ।

मुलुकमा पारदर्शीता कायम गर्न सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइनमार्फत सार्वजनिक गरिने उल्लेख छ । त्यस्तै नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । नीतिगत भ्रष्टाचारमा संलग्न राजनीतिक नेता वा व्यक्तिको सम्पती जफत गरी कडा कारबाही गरिने प्रतिवद्धता व्यक्त गरिएको छ । न्यायालयको पूर्ण डिजिटलीकरण र पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने योजना समेत पार्टीले अघि सारेको छ । आजपाले ‘एक घर, एक रोजगारी’ कार्यक्रम लागू गर्ने र बेरोजगारलाई भत्ता दिने घोषणा गरेको छ ।

३- नेपाली कांग्रेसले फागुन ३ गते आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले प्रतिज्ञा पत्र सार्वजनिक गर्न लागेको हो । सभापति गगन थापाले यसअघि नै पार्टीले घोषणा पत्र नभएर प्रतिज्ञा पत्र सार्वजनिक गर्ने बताएका थिए ।

४- प्रधानमन्त्री सुशिला कार्कीले बंगलादेशमा सम्पन्न १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई हार्दिक बधाई सन्देश व्यक्त गरेकी छन् । सन्देशमा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउँदै निर्वाचन सम्पन्न गर्नु बंगलादेशका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेकी छन् । साथै उनले तारिक रहमान र बंगलादेश राष्ट्रिय पार्टीलाई उल्लेखनीय जित दिलाएकोमा विशेष बधाई दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले रहमानको नेतृत्वमा पार्टीले प्राप्त गरेको विजयलाई ऐतिहासिक उपलब्धि भन्दै आगामी दिनमा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउने, पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरेकी छन् ।
५- बलिवुडका चर्चित निर्माता निर्देशक विक्रम भट्ट दम्पत्तिलाई सर्वोच्च अदालतले राहत दिएको छ । निर्माता विक्रम भट्ट र उनकी पत्नी श्वेतांबरी भट्टलाई सर्वोच्चले जमानत दिएको हो । दुवैजना गत ७ डिसेम्बरदेखि जेलमा बन्द थिए । उनीहरूमाथि एक व्यवसायीसँग ठूलो नाफा हुने आश्वासन दिँदै करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ । मुख्य न्यायाधीश सूर्य कांत र न्यायाधीश जॉयमाल्या बागची को संयुक्त इजलासले उदयपुर जेलबाट तत्काल रिहा गर्न आदेश दिएको हो ।
साथै, सम्बन्धित प्रमुख न्यायिक मजिस्ट्रेटलाई आवश्यक नियम र सर्त उल्लेख गर्दै जमानत आदेश जारी गर्न निर्देशन दिइएको छ । सर्वोच्च अदालतले उजुरीकर्ता अजय मुर्डिया र राजस्थान सरकारलाई आगामी १९ फेब्रुअरीको सुनुवाइमा उपस्थित हुन नोटिस पनि पठाएको छ । यसअघि ३१ जनवरीमा राजस्थान उच्च न्यायालय ले दम्पतीको जमानत निवेदन खारेज गरेको थियो । उजुरीपछि ७ डिसेम्बरमा उनीहरूलाई मुम्बईबाट पक्राउ गरी उदयपुर लगिएको थियो । व्यवसायी मुर्डियाले दायर गरेको मुद्दामा भट्ट दम्पतीले फिल्म निर्माणमा लगानी गराए ठूलो मुनाफा दिलाउने आश्वासन दिई करिब ३० करोड भारतीय रुपैयाँ लिएको तर सो रकम दुरुपयोग गरेको आरोप छ । साथै, विभिन्न नाममा नक्कली बिल बनाएर थप रकम असुल गरेको र फिल्मका नाममा लिइएको पैसा व्यक्तिगत खातामा जम्मा गरिएको दाबी गरिएको छ ।
६- जनता समाजवादी पार्टी (जसपा) नेपालले फागुन २१ हुने प्रतिनिधि सभाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा जसपा नेपालले न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमा जोड दिएको छ भने ‘संघर्षसँगै समृद्धि’ नारा दिएको छ ।
जसपा नेपालले वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि निःशुल्क (फ्रि भिसा र फ्रि टिकट) रोजगारी प्रदान गर्ने नीति अघि सर्दै वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको सुरक्षित रोजगारीको व्यवस्था गरिने, बैदेशिक रोजगारीमा गएका नागरिकहरूको सुरक्षाको प्रत्याभूति गरिने पनि घोषणा पत्रमा उल्लेख गरेको छ । त्यसै वैदेशिक रोजगारीबाट फर्केका नागरिकहरूको लागि वैदेशिक रोजगारमा हुँदा सिकेको सीपको आधारमा स्वदेशमै रोजगारीको प्रवन्ध गरिने नीति पनि अगाडी सारेको छ । घोषणापत्रमा भनिएको छ, ‘वैदेशिक रोजगारी रहर नभई बाध्यता हो ।
तसर्थ आन्तरिक रोजगारी प्रवद्र्धन गर्नु राज्यको मूल दायित्व हो भन्ने जसपा, नेपालको मान्यता रहँदै आएको छ । आन्तरिक रोजगारीको प्रत्याभूति नहुञ्जेलसम्म वैदेशिक रोजगारीमा जाने नागरिकहरूको लागि सीप विकास, प्रशिक्षण तथा रोजगारीमा जाँदा आवश्यक पर्ने लागत खर्चको उचित व्यवस्थापन रोजगारदाताबाट ग्यारेन्टी गरिनु पर्दछ ।’घोषणापत्रमा लोक कल्याणकारी राज्यको स्थापना गर्दै समतामूलक समाजको निर्माण र समानतामा आधारित समावेशी समाजवादी लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्ने मूल लक्ष्य जसपा नेपालले राखेको उल्लेख छ ।
७- प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई अन्य सुरक्षा निकाय एवम् सरोकारवाला सबै पक्षहरूसँग निरन्तर समन्वय तथा सहकार्य गरी आ-आफ्नो क्षेत्रमा त्रुटीरहित तवरमा कार्यसम्पदान गर्न निर्देशन दिए । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना संकलनलाई उच्च प्राथमिकतामा राखि भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्नुपर्नेमा उनले विशेष जोड दिए । निर्वाचनको समयमा प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता, निर्वाचन व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका एवम् दायित्वमा आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ, इमानदार तथा प्रतिवद्ध भई आ-आफ्नो जिम्मेवारी वहन गर्न उनले निर्देशन दिए ।
निर्वाचन प्रहरीको गुनासो सम्बोधन गर्दै उनीहरू प्रति गरिने आचरण, व्यवहार प्रति थप संवेदनशील भई निर्वाचन प्रहरीको प्रभावकारी परिचालनमा समेत विशेष ध्यान दिनुपर्ने बताउँदै निर्वाचनको समयमा थप मद्दतको रूपमा खटि आउने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन तथा परिणाममुखी परिचालनमा केन्द्रित हुन उनले आग्रह गरे । प्रहरी महानिरीक्षक कार्कीले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाहरूको सम्बोधनको लागि सूचना संकलन तथा विश्लेषण एवम् पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताए ।
आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रहरीको बलियो उपस्थितिको साथै अन्य सुरक्षा निकायसँग समन्वय गरी संयुक्त परिचालनमा समेत थप क्रियाशील भई कार्य गर्नुपर्ने उनले बताए । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उनले निर्देशन दिए ।
८- जिम्बाबेले अस्ट्रेलियामाथि रोमाञ्चक जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको समुह बी अन्तर्गतको खेलमा जिम्बाबेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको हो । जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.३ ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । जिम्बाबेले टी-२० खेलमा अस्ट्रेलियालाई २००७ पछि पहिलो पटक पराजित गरेको छ । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
जिम्बाबेका लागि ब्रियान बेन्नेटले अविजित ६४ रन बनाए भने ताडीवानाशे मारुमानी र रयान बुरीले ३५-३५ रन बनाएका थिए । त्यस्तै सिकन्दर राजाले अविजित २५ रन बनाएका थिए । त्यसैगरी अस्ट्रेलियाका बलर मार्कस स्टोइनिस र क्यामरुन ग्रीनले एक एक विकेट लिएका थिए । यो जितपछि पछि जिम्बाबेको २ खेलमा ४ अंक भएको छ र समुह बी मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अस्ट्रेलियाको २ खेलमा २ अंक रहेको छ । अब अस्ट्रेलियाले अर्को खेल श्रीलंकाविरुद्ध आगामी सोमबार खेल्ने छ । त्यस्तै जिम्बाबेले आगामी मंगलबार आयरल्याण्डसँग खेल्ने छ ।
९- पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकले भव्य स्वागत गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपनि ठुलो संख्यामा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न पुगेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका थिए । पुर्व राजा ज्ञानेन्द्रले भने गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए ।
१०- बंगलादेशमा बिहीबार भएको आम चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले भारी विजय हासिल गरेको छ । बीएनपीले २९९ सिटमध्ये २१३ सिट जितेको छ, जसले १५० अंकको बहुमतको आँकडा पार गरेको हो । अहिलेसम्म २९१ सिटको नतिजा घोषणा भइसकेको छ । जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले ७१ सिट जितेको छ । यो लगभग २० वर्षपछि देशमा बीएनपीले सरकार बनाएको पहिलो पटक हो । शेख हसिनाको अवामी लिग २००८ देखि २०२४ सम्म सत्तामा थियो ।
यो जितसँगै, पूर्व प्रधानमन्त्री खालेदा जियाका छोरा र बीएनपी अध्यक्ष तारिक रहमानको प्रधानमन्त्री पद लगभग निश्चित मानिएको छ । तारिकले दुई सिटमा प्रतिस्पर्धा गरे र दुवै जिते। उनी १७ वर्षपछि गत डिसेम्बरमा देश फर्किएका थिए । ३५ वर्षमा बंगलादेशमा पुरुष प्रधानमन्त्री बन्ने यो पहिलो पटक हुनेछ । १९८८ मा काजी जफर अहमद प्रधानमन्त्री बनेका थिए । त्यसपछि, पूर्व प्रधानमन्त्री शेख हसिना र खालिदा जियाले १९९१ देखि २०२४ सम्म देशको राजनीतिमा प्रभुत्व जमाएका थिए । दुवैले प्रधानमन्त्रीको रूपमा सेवा गरिरहे । बंगलादेशको चुनावमा कट्टरपन्थी पार्टी जमात-ए-इस्लामीले लज्जास्पद हार बेहोर्यो । यसको गठबन्धनले केवल ७१ सिट मात्र प्राप्त गर्यो ।
बंगलादेशीहरूले शेख हसिनाको सरकारलाई ढाल्ने विद्यार्थी पार्टी नेशनल सिटिजन्स पार्टी (एनसीपी) लाई पनि अस्वीकार गरेका छन् । पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी, अवामी लिगका मतदाताहरू, विशेष गरी हिन्दू मतदाताहरू, बीएनपीमा सरेका छन् । बीएनपीले अवामी लिगको गढ गोपालगञ्ज बाहेक खुलना, सिल्हेट, चटगाउँ र ठाकुरगञ्जमा जित हासिल गरेको छ । बंगलादेशको मुक्ति युद्धको विरोधलाई मानिसहरूले सम्झँदा जमात-ए-इस्लामीको विगत अगाडि आयो । आन्तरिक विभाजन र जमातसँगको गठबन्धनका कारण विद्यार्थी राष्ट्रिय नागरिक पार्टीले ठूलो क्षति बेहोर्नु पर्यो । जनताले उनीहरूलाई पूर्ण रूपमा अस्वीकार गरे ।
११- नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् । यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँ राजदूत पठाएको हो । चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप-महानिर्देशकहरूमध्ये एक हुन् । नयाँ राजदूत चाङ शुक्रबार बिहान एयर चाइनाको जहाजबाट काठमाडौं आइपुगेका हुन्। उनलाई चिनियाँ दूतावासका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । अब माओमिङले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेपछि उनले आफ्नो कार्यकाल शुरु गर्ने छन् ।
१२- नेपाल महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा पाकिस्तान ए सँग पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा नेपाल पाकिस्तान ए सँग ३० रनले पराजित भएको हो । पाकिस्तान ए ले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्बाधिक ३९ रन बनाएकी थिइन् भने कविता कुँवरले १८ रन बनाएकी थिइन् । यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तान ए ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो । नेपालले अब दोस्रो खेल फेब्रुअरी १५ मा युएईसँग र फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने तालिका रहेको छ ।
१३- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गरेका छन् । जनयुद्धको सुरुआतस्थल आधार इलाका रुकुम पूर्वमाबाट जनयुद्ध दिवसको शुभकाना दिंदै उनले जनयुद्धका स्मृतिहरू ताजा भएको बताए ।उनले भने- ‘यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ। रुकुम पूर्वमा आएर जनयुद्ध मनाउँदै गर्दा जनयुद्धका ती सबै स्मरणहरू ताजा भएर आएका छन् । जनयुद्धमा यहाँका जनताको उत्प्रेरणाबाट नै हामीले ऊर्जा पाएका थियौँ । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ३ हजारले घटेर तोलाको ३ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३४० रुपैयाँले घटेर तोलाको ५००० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५३४० मा कारोबार भएको थियो ।
१५- प्रधानमन्त्री सुशिला कार्कीले पाथिभराको दर्शन गरेकी छन् । कोशी प्रदेशको भ्रमणआमा रहेकी प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान ताप्लेजुङस्थित पाथिभराको दर्शन गरेकी हुन् । पाथिभराको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले भनेकी छन्- ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुवात । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।’ उनी विहिबार सोलुखुम्बु, भोजपुर र सुनसरी जिल्ला पुगेर निर्वाचनको तयारी र सुरक्षा अवस्थाको बारेमा जानकारी लिएकी थिइन् ।
१६- आर्थिक बर्ष २०८२-८३ को माघ मसान्तसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजश्व संकलन भएको छ । माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२. २६ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै माघ महिनाको लक्ष्य एक खर्ब २ अर्ब ४२ करोड रहेकोमा ८७ अर्ब ९२ करोड राजश्व संकलन भएको छ, जुन ८५.८४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा माघ महिनामा ८३ अर्ब ५१ करोड राजश्व संकलन भएको थियो । आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड संकलन भएको छ ।
१७- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा आर्सनल ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा आर्सनलका लागि नोनी माडुएकेले गोल गरेका थिए भने ब्रेन्टफोर्डका लागि कीन लेविस पोटरले एक गोल गरेका थिए । यो बराबरीपछि आर्सनलको २६ खेलमा ५७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेन्टफोर्डको २६ खेलमा ४० अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।
१८- उत्तर कोरियाका नेता किम जोंग उनले आफ्नी १३ वर्षीया छोरी किम जू ऐलाई आफ्नो उत्तराधिकारीका रूपमा चयन गरेको दाबी दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) ले गरेको छ । बिहीबार सांसदहरूलाई दिइएको ब्रिफिङमा एनआइएसले जू ऐको बढ्दो सार्वजनिक उपस्थितिलाई आधार मानेर यस्तो निष्कर्ष निकालेको जनाएको हो । एजेन्सीका अनुसार पछिल्ला महिनाहरूमा किम जू ऐ विभिन्न उच्चस्तरीय सरकारी तथा सैन्य कार्यक्रममा आफ्ना बुवासँग प्रमुख रूपमा सहभागी हुँदै आएकी छन् । सेप्टेम्बरमा बेइजिङ भ्रमणका क्रममा पनि उनी किम जोंग उनसँगै देखिएकी थिइन्, जुन उनको पहिलो सार्वजनिक विदेशी भ्रमण मानिएको छ ।
दक्षिण कोरियाली सांसद ली सोंग-क्वेनका अनुसार एनआइएसले यसअघि जू ऐलाई ‘उत्तराधिकारीका लागि तयारी गरिरहेकी’ बताएको थियो । अहिले भने उनी औपचारिक रूपमा उत्तराधिकारी घोषणा हुने चरणमा पुगेको आकलन गरिएको छ । उनले किम जू ऐ कोरियाली पिपुल्स आर्मी स्थापना दिवस लगायत महत्वपूर्ण कार्यक्रममा सहभागी भएको र केही सरकारी नीतिमा उनको धारणा झल्किएको संकेतसमेत देखिएको बताए । यसैबीच, उत्तर कोरियामा यसै महिनाभित्र हुने पार्टी सम्मेलनलाई पनि चासोका साथ हेरिएको छ । हरेक पाँच वर्षमा हुने उक्त सम्मेलनमा आगामी पाँच वर्षका लागि विदेश नीति, सैन्य तयारी र आणविक कार्यक्रमसम्बन्धी प्राथमिकता तय गरिन्छ ।
किम जोंग उनले आफ्नो परिवारबारे कडा गोपनीयता अपनाउँदै आएका छन्। किम जू ऐ सन् २०२२ मा पहिलो पटक सार्वजनिक रूपमा देखिएकी थिइन्, जब उनले आफ्ना बुवासँग अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण अवलोकन गरेकी थिइन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार किमका तीन सन्तान छन्, जसमा जू ऐ सबैभन्दा बढी सार्वजनिक रूपमा देखिएकी सन्तान हुन् ।
१९- बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानले दुई तिहाई बहुमतसहित सरकर बनाउने निश्चित भएको छ । रहमानलाई छिमेकी देश भारत पाकिस्तानले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो विजयले बंगलादेशका जनताको तारिक रहमानको नेतृत्वमा विश्वासलाई प्रतिबिम्बित गर्ने बताएका छन् । उनले भने- ‘भारत लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा उभिनेछ। म तपाईं (तारिक रहमान) सँग हाम्रो बहुआयामिक सम्बन्धलाई सुदृढ पार्न र हाम्रा साझा विकास लक्ष्यहरूलाई अगाडि बढाउन काम गर्न तत्पर छु ।’ बंगलादेशमा जारी मतगणनाको प्रवृत्तिले बीएनपी नेतृत्वको गठबन्धनको लागि ठूलो विजयलाई संकेत गरेको छ ।
त्यस्तै पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले बंगलादेशमा भएको आम चुनावमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को “ठूलो विजय” मा तारिक रहमानलाई बधाई दिएका छन् । राष्ट्रपतिले भनेका छन्- ‘राष्ट्रपति आसिफ अली जरदारीले बीएनपीको ठूलो विजयमा तारिक रहमानलाई बधाई दिएका छन् र बंगलादेशका जनतालाई सफल र शान्तिपूर्ण चुनावको कामना गरेका छन् ।’ ३०० सिट मध्ये अहिलेसम्म घोषणा भएका २४९ सिटमा बीएनपीले १८१ सिटमा जित हासिल गरेको छ । त्यस्तै जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११-दलीय गठबन्धनले अहिलेसम्म ६१ सिट मात्र जितेको छ । अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले ७ सिट जितेका छन् । अझै ५० स्थानको नतिजा घोषणा हुन बाँकी रहेको छ । यस निर्वाचनमा ४८ प्रतिशत मतदान भएको थियो ।
२०- भारतले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार राति सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले नामिबियालाई ९३ रनले पराजित गरेर प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । भारतले दिएको २१० रनको लक्ष्य पछाएको नामिबियाले १८.२ ओभरमा अल आउट हुदै ११६ रन बनाएको थियो । नामिवियाका लागि लोउरेन स्टीनकाम्पले सर्बाधिक २९, जान फ्राइलिंकले २२ रन बनाएका थिए । त्यस्तै भारतका बलर वरुण चक्रवर्तीले ३ विकेट लिए भए हार्दिक पाण्डेय र अक्सर पटेलले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर २९ रन बनाएको थियो । भारतका लागि इशान किशनले ६१ रन बनाए भने हार्दिक पाण्डेयले ५२ रन बनाएका थिए । त्यस्तै तिलक बर्माले २५, शिभम दुबेले २३, सन्जु सामसनले २२ रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर गेरहार्ड इरासमसले ४ विकेट लिएका थिए । यो जितपछि भारतको समुह ए मा २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै नामिबियाले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । अब भारतले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ भने नामिबियाले अमेरिकाको सामना गर्दैछ ।
FACEBOOK COMMENTS