काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले सभामुख अप्सरा चापागाईंलाई पठाएको पत्रमा भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनश्वरी प्रजापति र आशा लामालाई प्रदेशसभा सदस्यबाट हटाउन माग गरिएको छ ।
मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिँदा राप्रपाका सात सांसदले पक्षमा मतदान गरेका थिए भने ती पाँच सांसद बैठकमै अनुपस्थित भएका थिए । संसदीय दलले सरकारको पक्षमा मतदान गर्न ह्विप जारी गरेको भए पनि पाँच सांसदले पार्टीको निर्देशन उल्लंघन गरेको र उनीहरूलाई स्पष्टीकरण सोध्दा ७२ घण्टाभित्र कुनै जवाफ नदिएको पत्रमा उल्लेख छ । बागमती प्रदेश सरकारमा सहभागी हुने विषयलाई लिएर राप्रपाभित्र विवाद रहँदै आएको छ । यसअघि पनि पार्टीको निर्णयविपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै तत्कालीन संसदीय दलका नेता उद्धव थापामाथि र त्यसपछि मन्त्री बनेका तीन जनालाई पार्टीले कारबाही गरेको थियो । पाँच सांसदलाई पदमुक्त गर्न पठाइएको पत्रसँगै बागमती राप्रपाभित्रको आन्तरिक विवाद थप चर्किएको छ ।
२- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.धर्मदत्त सुवेदी,रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा.सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा.विनम्र विष्ट नियुक्त भएका हुन् । नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारी,पारदर्शिता र सेवामुखी भावनाका साथ काम गर्न आग्रह गरेका छन् ।
त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा.ममता भट्टराई कोइराला र डिनमा डा.विकास विक्रम सिंह अधिकारी नियुक्त भएका हुन् ।नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

३- जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो ।
४- शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ । विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ । आवश्यकता देखिएमा विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ ।
त्यसपछि मात्रै नियमित पठनपाठन सञ्चालन गर्न व्यवस्था मिलाउन विभागले अनुरोध गरेको छ । बाढीका कारण विद्यार्थीहरूको सिकाइमा पर्न सक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न पनि विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ । विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको हो ।
५- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाई सकिएपछि महाभियोगको औचित्य सकिने गरी रिट खारेज गरिएको हो । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी संलग्न संवैधानिक इजलासले महाभियोग प्रकरणको रिट खारेज गरिदिएको छ ।
पूर्वप्रधानन्यायाधीश राणामाथिको महाअभियोग जीवितै रहेको दाबी गर्दै प्रतिनिधि सभामा अघि बढाउन माग गरिएको थियो । राणाविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग दर्ता भएपनि महाअभियोग प्रस्ताव भने पारित भएको थिएन । संघीय संसदका तत्कालिन महासचिव भरतराज गौतमले राणालाई निलम्बन फुकुवाको पत्र दिएपछि सर्वोच्च अदालत बारका तत्कालिन अध्यक्ष वरिष्ठ आधिवक्ता शाक्य, वरिष्ठ अधिवक्ता डा.पुण्यप्रसाद खतिवडा, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतले सर्वोच्चमा भिन्नाभिन्नै रिट निवेदन दायर गरेका थिए ।
६- राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश तथा बढुवा भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अनुसन्धानका क्रममा केसीले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी तत्कालीन समयमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उक्त प्रमाणपत्रकै आधारमा उनले २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भई हैसियत, लाभ तथा सुविधा लिएको आयोगको दाबी छ । आयोगले नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति तथा बढुवा लिएको कार्य भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम कसुर भएको ठहर गर्दै केसीलाई कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ । आयोगले बुधबार केसीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
७- नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा राजदूत डेल्पिटियाले विपद्को यस कठिन समयमा श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी थिइन् । उनले विनाशकारी बाढीपछि जारी मानवीय तथा राहत कार्यमा सहयोग पुर्याउन श्रीलंका सरकारले नेपाललाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने जानकारी दिँदै सहयोग रकम हस्तान्तरण गरेकी थिइन् । परराष्ट्रमन्त्री खनालले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि श्रीलंका सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरेका थिए। उनले यो सहयोग दुई देशबीचको पुरानो मित्रता र पारस्परिक सहकार्यको प्रतिबिम्ब भएको बताएका थिए ।
८- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण सुरु गरेको छ । आपत्कालीन अवस्थामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा रहेका परिवारलाई अब केही हप्ताभित्रै उनीहरूको इच्छाअनुसार छुट्टाछुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली परिचालन गरी प्रभावित परिवारको आवश्यकता मूल्याङ्कन गरिरहेको छ बहने सर्वेक्षणमा घरको क्षतिको अवस्था, दिवंगत वा बेपत्ता सदस्यको संख्या, अस्थायी आश्रय वा भाडामा बस्ने रुचि, जग्गाको उपलब्धता र स्थानान्तरणको विकल्पबारे विवरण संकलन गरिने बताइएको छ । त्यसैगरी खानेपानी, सरसफाइ तथा अन्य आवश्यकताबारे पनि जानकारी लिइनेछ। यसबाट प्रत्येक परिवारको वास्तविक आवश्यकता पहिचान गरी सरकारले अस्थायी बसोबाससम्बन्धी योजना कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ । होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण एक साताभित्र सम्पन्न गर्ने तयारी छ । त्यसपछि होल्डिङ सेन्टरबाहिर रहेका बाढी प्रभावित परिवारको पनि सोही प्रक्रियामार्फत सर्वेक्षण गरिने जनाइएको छ ।
९- नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका एक करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी अपरा लाहोर खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने शुभम पावरको शेयर ६.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी इमर्जिङ नेपालको शेयर १४.९९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४२ करोड ७६ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख बराबरको कारोबार भएको छ ।
१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरु जलवायु अन्यायको शिकार भएको बताएका थिए । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले आफ्नो दोष नभएका नेपाली र विदेशी नागरिकले अनाहकमा ज्यान गुमाएको बताउदै समयक्रममा उनीहरुले न्याय पाउने आशा व्यक्त गरेका थिए । संसदमा सम्बोधन गर्दै लामिछानेले बाढीपछिको राहत र उद्धारमा खटिएका सुरक्षा निकाय, स्थानीय तह र सबै स्थानीयप्रति कृतज्ञता व्यक्त गर्दै उनले सरकारले विपतिपछि तत्काल आफ्ना सबै संयन्त्र परिचालन गरेको बताए । सरकारले बढी पिडितलाई होल्डिङ सेन्टरमा राखेर उनीहरुको सबै जिम्मा लिएको बताउदै बाढी पिडित स्थानीय तहमा संकटकाल घोषणा गरेर राहत, उद्धार र पुनर्स्थापनामा काम शुरु गरेको बताए ।
विपदमा सरकार कहाँ छ भन्ने प्रश्न उठेको भन्दै अहिले राज्य सुरुङमा फसेका नागरिकको जीवन बचाउन लागिरहेको, बाढीले बगाएका पुल र सडक बनाउन लागिरहेको बताए । सिमित साधन र स्रोतका बाबजुत सरकार नागरिकको सेवामा लागि रहेको बताए । लामिछानेले विपदबाट पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक रहेको भन्दै यो सरकार र पार्टीप्रतिको भरोसा भएको बताए । त्यस्तै उनले विपदमा परेका नागरिकको चित्कारमा सामाजिक संजालमा नकारात्मक टिप्पणी गर्नेलाई पार्टीले साधारण सदस्यबाट निष्कासित गरिने चेतावनी दिए । साथै उनले संकटको बेला विपक्षी दलका नेताहरुले सरकारको साथमा रहेको बताएर उत्कृष्ट राजनीतिक संस्कार देखाएको बताए । साथै लामिछानेले केहि दिनमा विपदग्रस्त क्षेत्रमा जनताका कुरा सुन्न जाने बताए ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौलागाईले ग्यास अभावका कारण बजारमा मुख देखाउन नहुने अवस्था बनेको बताएका हुन् । उनले भने- हामीलाई ग्यासको हाहाकारको कारणले बजारमा अहिले मुख देखाउन नहुने अवस्था बनेको छ । सरकार के हेरेर बस्सेको छ ।’ साथै चौलागाईले मंगलबार जेनजी शहिदको नाममा आयोजना गरिएको कार्यक्रममा विवादस्पद व्यक्तिहरुलाई सहभागी गराइएकोप्रति सरकारलाई प्रश्न गरेका छन् ।
१२- रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न नेपाली सेनाले पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ । विदेशी विज्ञसहितको टोलीलाई आयोजनाको विद्युत्गृहभित्र पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझाव दिन सेनाले आग्रह गरेपछि घिसिङ चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमा त्यसतर्फ प्रस्थान गरेका छन् । सुरुङभित्र उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक सहयोग र समन्वयका लागि घिसिङलाई बोलाइएको बताइएको छ ।
१३- बाढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास लिन सकिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन् । मन्त्री यादवले उपत्यकामा आफूले प्रयोग गर्ने कम्पनीको सिलिन्डर उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् । यसबाट उपभोक्ताले आफ्नो कम्पनीको सिलिन्डर नपाएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरबाट समेत ग्यास पाउनेछन् । मन्त्री यादवले व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगलाई निर्देशन दिएकी छन्। साथै, कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा तोकिएको व्यवस्थाविपरीत काम गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएकी छन् ।
१४- विद्यालय शिक्षालाई समयसापेक्ष, व्यवहारिक र जीवनोपयोगी बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रको सहजीकरणमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले भदौ २४ देखि ३० गतेसम्म २८ जिल्लामा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा अन्य सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव संकलन गर्नेछ । पहिलो चरणमा २८ जिल्लाबाट सुझाव लिइनेछ भने दोस्रो चरणमा ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइमार्फत राय संकलन गरिनेछ। केन्द्रको वेबसाइटमार्फत समेत सुझाव दिन सकिने व्यवस्था मिलाइने केन्द्रले जनाएको छ ।
छलफलमा विद्यालय शिक्षाको लक्ष्य, विद्यार्थीको आवश्यकता, पाठ्यभार, शिक्षक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, प्रारम्भिक बालविकास, प्राकृतिक विपद् व्यवस्थापन, रैथाने तथा स्थानीय ज्ञानलगायत विषयमा सुझाव लिइने केन्द्रले जनाएको छ । त्यसैगरी केन्द्रले डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, नैतिक तथा नागरिक शिक्षा, मानव मूल्य र विद्यार्थीमा उचित व्यवहारको विकासजस्ता विषयलाई नयाँ पाठ्यक्रममा कसरी समेट्ने भन्नेबारे पनि सरोकारवालासँग राय मागिने जनाएको छ । कार्यदलका संयोजक प्राडा बालचन्द्र लुइँटेलले विद्यालय समुदायका सबल तथा कमजोर पक्ष पहिचान गरी विद्यार्थीको चाहना र आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जन गर्न देशभरबाट सुझाव लिन लागिएको बताएका छन् । सबै सरोकारवालाको ज्ञान, सीप र अनुभवमा आधारित सुझाव नयाँ पाठ्यक्रमका लागि महत्वपूर्ण हुने कार्यदलले जनाएको छ ।
१५- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १३६७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १३६७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७५, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । त्यस्तै काठमाडौँमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म १०२ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार अहिलेसम्म ५ हजार १३२ जना सम्पर्कविहिन रहेका छन् । प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार सम्पर्कविहीन रसुवा जिल्लाबाट सम्पर्कविहीन भएका २८६०, रसुवा जिल्लाका नागरिक १३९३, अन्य जिल्लाका नागरिक १२८६ जना, नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना, सरकारी कर्मचारी ७३ जना र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना रहेका छन् । त्यस्तै नुवाकोटबाट सम्पर्कविहिन भएका १७८७ र जिल्लाका ६५१ तथा विदेशी पर्यटक ५८७ जना रहेका छन् । प्राधिकरणले अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको जानकारी दिएको छ । प्राधिकरणले बाढीपछि राहत र उद्धारमा हाल २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । जसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन गरिएको छ ।
१६- अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच सम्बन्ध तनावपूर्ण भइरहेका बेला क्यानडाले पनि अमेरिकामाथि जवाफी कर लगाएको छ । क्यानडाली सरकारले अमेरिकाले अगस्ट २२ देखि २० अर्ब डलर बराबरका क्यानडाली सामानमा ५० प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफमा नयाँ कर लगाइएको जनाएको छ । क्यानडाको जवाफी करबाट अमेरिकी स्टिल, आल्मुनियम, दुग्धजन्य पदार्थ, घरेलु तथा कृषि उपकरण, विद्युतीय सामग्री र कागज उद्योग प्रभावित हुनेछन् । व्यापार विवादका कारण दुवै देशका उपभोक्ता र उद्योगमाथि महँगी तथा आर्थिक दबाब बढिरहेको छ । यसअघि वासिङ्टनमा महिनौँदेखि चलिरहेको दुई देशबीचको व्यापार वार्ता अमेरिकी पक्षले अन्तिम समयमा अनुचित सर्त राखेको भन्दै क्यानडाले असन्तुष्टि जनाएपछि भंग भएको थियो । विवाद बढ्दै गएमा दुई देशबीचको विद्यमान स्वतन्त्र व्यापार सम्झौताको भविष्यसमेत संकटमा पर्न सक्ने देखिएको छ ।
१७- इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै पुनः मिसाइल हमला गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको रिभोलुसनरी गार्डले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य अड्डालाई मिसाइलले निशाना बनाएको थियो । यसअघि जोर्डनले इरानबाट प्रहार गरिएका २० मध्ये १८ वटा मिसाइल आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको जनाएको थियो । यसैबीच इरानले अमेरिकी युद्धपोत र अमेरिकी सम्बन्ध भएका तेल ट्यांकरलाई समेत निशाना बनाउने चेतावनी दिएको छ । अमेरिकी सेनाले आफ्ना युद्धपोतमाथि भएको हमलाको जवाफमा इरानका पाँच तेल ट्यांकरमा आक्रमण गरेको जनाएको छ । इरान र अमेरिकाबीच पछिल्लो एक सातामा तनाव बढ्दै गएपछि विश्व बजारमा समेत असर परेको छ । एसियाली बजारमा कच्चा तेलको मूल्य बढेको बताइएको छ ।
१८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ को शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरी भदौ २४ मा योजनाबद्ध रूपमा लोकतन्त्रमाथि आक्रमण गरिएको बताएका छन् । भदौ २४ को विध्वंस भएको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र आक्रमणलाई नेपालको इतिहासकै कालो अध्याय भनेका छन् । उनले भनेका छन्- ‘शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुको उद्देश्य बेग्लै थियो। उ
नीहरुले भोलिपल्ट राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालयहरु, शहीद र अग्रजहरुका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमाथि जुन अनुपातको आगजनी, विध्वंश र आक्रमण गरे, नेपालको इतिहासकै त्यो कालो अध्याय थियो ।’ उनले भदौ २४ को घटना अघिल्लो दिन युवाको ज्यान गएको घटनाबाट उत्पन्न आवेग मात्र नभएको दाबी गर्दै यसको गहिरो छानबिन आवश्यक रहेको बताएका छन् । ओलीले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी देखाएर गिरफ्तारी तथा मुद्दा चलाउने प्रयास भएको आरोप लगाउँदै घटनामा सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । भदौ २४ का विध्वंसका आरोपीलाई उन्मुक्ति दिने र अनुसन्धान तथा अभियोजन रोक्ने कामले राजनीतिमा अपराधीकरणलाई संस्थागत गरेको उनको आरोप छ । उनले प्रदर्शनका नाममा अराजकता र परिवर्तनका नाममा हिंसालाई वैध बनाउने प्रवृत्तिले नेपालको लोकतान्त्रिक अभ्यासमा दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन् ।
१९- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मंगलबार साँझ ५ बजेसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ । अर्थ मन्त्रालयका अनुसार कोषका नौवटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ । अमेरिकी डलरलाई प्रति डलर १५० रुपैयाँ ८८ पैसाका दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात उक्त रकम पुगेको हो । रसुवा–भोटेकोशी बाढीपछि मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ । विपद्अघि कोषमा रहेको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ यसमा समावेश गरिएको छैन । भदौ २३ गते मात्रै ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको मन्त्रालयले जनाएको छ । यसअघि भदौ १६ गते राहत तथा उद्धारका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको थियो । प्रभावित परिवारलाई निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका व्यक्ति र संस्थाप्रति अर्थ मन्त्रालयले आभार व्यक्त गरेको छ ।
२०- युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ सिजनमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेका छन् । गएराति भएको खेलमा रियल म्याड्रिडले इन्टर मिलानलाई २-१ गोल अन्तरले तथा म्यानचेस्टर सिटीले पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेका थिए । सान्तियागो बेर्नाबेउमा भएको खेलमा रियल म्याड्रिडले इन्टरमाथि २-१ गोलको रोमाञ्चक जित निकालेको थियो । रियलका लागि किलियन एमबाप्पे र फेडेरिको भाल्भेर्डेले गोल गरेका थिए । एमबाप्पेले १४औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने भाल्भेर्देले २३औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता २-० बनाएका थिए ।
इन्टरले दोस्रो हाफमा दबाब बढाउँदै ७७औँ मिनेटमा कार्लोस अगुस्तोमार्फत एक गोल फर्काएको थियो । त्यसपछि इन्टरले बराबरीका लागि लगातार प्रयास गरे पनि रियलका गोलरक्षक थिबो कोर्टुवाले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाएका थिए । अन्ततः रियलले २–१ को जितसहित प्रतियोगितामा तीन अंक जोडेको थियो । उता पोर्चुगलमा भएको खेलमा म्यानचेस्टर सिटीले पोर्टोलाई २-० ले हराएको थियो । सिटीको जितमा एर्लिङ हालान्ड नायक बनेका थिए । उनले दोस्रो हाफमा दुई गोल गरेका थिए । हालान्डले ४७औँ मिनेटमा हेडमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने इन्जुरी समयको पहिलो मिनेटमा अर्को गोल थप्दै टोलीको जित पक्का गरेका थिए । पोर्टोले घरेलु मैदानमा केही अवसर सिर्जना गरे पनि सिटीको रक्षापंक्तिलाई ठूलो चुनौती दिन सकेन । सिटीले खेलमा नियन्त्रण कायम राख्दै २-० को जित निकालेर च्याम्पियन्स लिगको नयाँ सिजनमा महत्वपूर्ण तीन अंक हासिल गरेको थियो । यी दुवै जितसँगै रियल मड्रिड र म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको नयाँ सिजनमा आफ्नो बलियो सुरुवात गरेका छन् ।