काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । त्यस्तै, बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको बताइएको छ ।
२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । पार्टीको २०८३ भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार समिति गठन गरिएको हो। समितिले जनप्रतिनिधिलाई मतदाताले कार्यकाल पूरा हुनुअघि फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्नेछ । समितिको संयोजकमा विपिनकुमार आचार्य रहेका छन्। सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन् । रास्वपाले समितिलाई ‘राइट टु रिकल’ सम्बन्धी विषयमा आवश्यक अध्ययन तथा छलफल गरी पार्टीको धारणा र प्रस्तावलाई दस्तावेजका रूपमा तयार गर्ने जिम्मेवारी दिएको जनाएको छ ।
३- रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा राहतमा खटिएको भन्दै ‘ग्रीन आर्मी नेपाल’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले शुक्रबार रिट दायर गरेका हुन् । रिटमा ‘ग्रीन आर्मी नेपाल’सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरीलगायत विभिन्न निकायलाई विपक्षी बनाइएको छ । निवेदकहरूले उक्त संस्था सामान्य गैरसरकारी संस्थाभन्दा फरक सैनिक प्रकृतिको संरचनामा सञ्चालन भइरहेको दाबी गरेका छन् ।
संस्थाले सैनिक शैलीको पोसाक, दर्ज्यानी चिह्न, बुट तथा सञ्चार उपकरण प्रयोग गर्दै सदस्यलाई सैनिक प्रकृतिका दर्जामा विभाजन गर्ने गरेको रिटमा उल्लेख छ । भोटेकोसी क्षेत्रमा उद्धारका क्रममा संस्थाका सदस्य नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक र चिह्नसहित देखिएपछि सर्वसाधारणमा सुरक्षा निकायसँग सम्बन्धित संस्था भएको भ्रम सिर्जना हुन सक्ने भन्दै निवेदकहरूले आपत्ति जनाएका छन् । रिटको पहिलो पेसी आगामी सोमबार तोकिएको छ ।

४- भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत्गृहमा खोजी तथा उद्धार कार्य जारी रहेको छ । नेपाली सेना, ६ देशका विदेशी उद्धार टोली तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले विभिन्न स्थानमा खोजी गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो विवरण अनुसार रसुवागढी जलविद्युत् आयोजनामा संयुक्त खोज तथा उद्धार टोली विद्युत्गृह, ट्रान्सफर्मर कक्ष र नियन्त्रण कक्षसम्म पुगेर खोजी गरिरहेको छ ।
त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनाको २५ जनाको टोलीले सुरुङभित्र खोजी गरिरहेको छ भने चिलिमे जलविद्युत् आयोजनामा विदेशी उद्धार टोलीसहितको संयुक्त टोलीले सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम गरिरहेको छ । सुरुङसम्म भारी उपकरण पुर्याउन विस्फोट गराएर बाटो निर्माण गरिएको छ भने अब करिब ३५ मिटर दूरी बाँकी रहेको जनाइएको छ । त्यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनाको हाकुबेशीस्थित सुरुङमा उद्दार कार्य गरिरहेको छ र त्रिशूली–३ एको विद्युत्गृह तथा सुरुङ क्षेत्रमा र त्रिशूली–३ बीमा पनि संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको बताइएको छ । सुरुङ उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाबाट आएका टोलीले नेपाली सेनासँग समन्वय गरी काम गरिरहेका छन् ।
संयुक्त अरब इमिरेट्स, मलेसिया र अस्ट्रेलियाका उद्धार टोलीले समेत सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ । विभिन्न देशबाट प्राप्त उपकरण, मानवरहित विमान तथा अन्य उद्धार सामग्री परिचालन गरिएको छ । विपद्को जटिलता र उद्धार कार्यको आवश्यकतालाई ध्यानमा राख्दै सरकारले थप उच्च क्षमताका मानवरहित विमान, लेजर आधारित भू–सर्वेक्षण उपकरण, अस्थायी पुल, रोग नियन्त्रण सामग्री, डिएनए परीक्षण सामग्री, पानीभित्र सञ्चालन हुने मानवरहित उपकरण र उच्च क्षमताका पानी तान्ने पम्पलगायत सामग्रीका लागि अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागेको जनाएको मन्त्रालयले जनाएको छ ।
५- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने र सहभागी हुने कार्यक्रम बारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । महासभाको उच्चस्तरीय छलफल आगामी सेप्टेम्बर २२ देखि २८ सम्म अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ । प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाना सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, निर्वाचनपछि गठन भएको वर्तमान सरकारका प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषय उठाउनेछन् । नेपाललाई आवश्यक अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई निरन्तरता दिनसमेत उनले आग्रह गर्नेछन् ।
यसैगरी, रसुवाको भोटेकोसी नदीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढी तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका विषयमा पनि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनेछन् । नेपालले जलवायु परिवर्तनमा नगन्य योगदान गरे पनि यसको असरबाट ठूलो क्षति व्यहोर्नुपरेको भन्दै जलवायु न्याय तथा क्षति र नोक्सानीबापत सहयोगका लागि आग्रह गरिने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायुमैत्री कृषि तथा क्षमता विकासका लागि विकसित मुलुकबाट आवश्यक प्रविधि र सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउनसमेत अपिल गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
महासभाका क्रममा नेपालले ‘हिमालदेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि कार्य आह्वान’ विषयमा विशेष कार्यक्रम आयोजना गर्नेछ । कार्यक्रममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसबाट सिर्जित जोखिमबारे छलफल गरिनेछ । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मन्त्रीस्तरीय बैठक तथा उच्चस्तरीय छलफलमा सहभागिता जनाउनेछन् । उनले विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च पदस्थ अधिकारी सहभागी हुनेछन् ।
६- नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले शनिबारदेखि आवासीय रूपमा छलफल गर्ने भएको छ । दुवै पक्षका दस्तावेज अध्ययन गरी छलफलपछि एउटै प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने सहमति भएको छ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ ले दुईवटा छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गरेका थिए । एउटा महासचिवको तर्फबाट र अर्को आफ्नो तर्फबाट भन्दै उनले दस्तावेज पेस गरेका थिए । बैठकमा छुट्टाछुट्टै प्रतिवेदन तयार गर्नु उपयुक्त नहुने धारणा आएपछि दुवै दस्तावेजमा रहेका विषय समेटेर एउटै प्रतिवेदन बनाउने सहमति भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
शुक्रबार प्रस्तुत दस्तावेजको अध्ययनपछि शनिबारदेखि आवासीय रूपमा थप छलफल गर्ने निर्णय भएको हो । कार्यदलले छलफलबाट साझा प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा बुझाउनेछ । एमालेको सचिवालय बैठक र असोज ५–७ गतेको केन्द्रीय कमिटी बैठकका लागि कार्यदलको आवासीय बैठकले तयार गरेको एउटै ‘प्रतिवेदन’ छलफलका लागि पेश हुने बताइएको छ । एमाले सचिवालयको गत जेठ १० गते बसेको आठौँ बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे सुझाव दिन कार्यदल गठन गरेको थियो । एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको कार्यदलले चार महिना बित्न लाग्दा पनि प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको छैन । कार्यदलले यसअघि १३ वटा समूहसँग छुट्टाछुट्टै छलफल गरी सुझाव संकलन गरेको थियो । बैठकपछि एमाले उपमहासचिव लेखराज भट्टले भने महासचिवको दस्तावेजमा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विषय नरहेको बताएका छन् ।
७- रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालयहरू प्रभावित भएका छन् । जसमा ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्।
बाढीपश्चात त्यस क्षेत्रमा ९ हजारभन्दा धेरै विद्यार्थीहरूको पठनपाठन अबरुद्ध भएको छ । संरचना पुनर्निर्माण तथा पठनपाठन सहज पार्न तत्काल १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दीर्घकालीन पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान छ । सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । नेपालका निजी स्कूलका विभिन्न पाँच वटा संस्थाहरूले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन १ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् । बाढीबाट प्रभावित भई विभिन्न ठाउँमा बसेका विद्यार्थीलाई तत्काल पठनपाठन सुचारु गर्नका निमित्त उनीहरूको पायक पर्ने विद्यालयमा नै व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरुले सहजीकरण गरिरहेको बताइएको छ ।
८- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पुर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ । मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भनि उल्लेख भएका कित्ताहरुबाट घुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, प्रतिवेदनमा पुरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका कित्ताहरुको समेत एकमुष्ट रुपमा निर्णय गरी नेपाल सरकार (सरकारी तथा सार्वजनिक रुपमै ) कायम गर्न निर्णय गरेको हो । प्रमुख नापी अधिकृत रमेश ज्ञवाली संयोजक रहेको समितिमा गृहमन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहेका छन ।
९- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाबारे छानबिन भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बताएकी छन्। घटनामा दोषी देखिए कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन् । घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र नैतिक समिति सदस्य डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्।
स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय, सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ । अस्पतालको सेवामा के कमजोरी भयो र सेवाग्राही अस्पताल परिसरबाहिर पुग्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषय छानबिनबाट स्पष्ट हुने मन्त्री मेहताले बताइन् । घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामबाट हटाएर थप छानबिन अघि बढाइएको पनि उनले जानकारी दिइन् । सरकारले सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क गर्नुका साथै प्रसूति सेवाका लागि आउने–जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताइन् । सरकारी स्वास्थ्य संस्थामा शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो। सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएकाले कुनै पनि महिलाले स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसूति गर्नुपर्ने अवस्था आउन नहुने मन्त्री मेहताले बताइन् ।
१०- नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका एक करोड २० लाख ८९ हजार ७०९ कित्ता शेयर ४ अर्ब ३६ करोड १ लाख ५९ हजार ४८७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी उपकार लघुवित्तको शेयर १०.५३ प्रतिशतले बढेको छ भने अभियान लघुवित्तको शेयर १०.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मल्टीपर्पोज फाइनान्सको शेयर ५.७१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लिबर्टी इनर्जीको ३६ करोड ६६ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।
११- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता बर्षमान पुनले भोटेकोशी बाढीपछिको स्पष्ट पुनर्निर्माण योजना ल्याउन माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित जनतालाई राहत, उद्धारसहित उनीहरुको दिर्घकालिन व्यवस्थापनको खाका प्रस्तुत गर्न माग गरेका हुन् । उनले बाढी प्रभावित निजी क्षेत्रलाई उचित क्षतिपुर्तिको घोषणा गर्न माग गर्दै प्रभावितका लागि सुरक्षित आवासको व्यवस्था गर्न समेत माग गरेका छन् । उनले जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय समुदायलाई बुझाउने र न्यायपूर्ण क्षतिपूर्तिको माग गर्नुपर्ने बताउदै हिमाली जोखिमको मुल्यांकन वैज्ञानिक रुपले गर्नुपर्ने बताए । सांसद पुनले राष्ट्रिय जलवायु र विपद कोष स्थापना गर्न माग गर्दै उनले विपद पछिको राहत र उद्धारका लागि स्रोत सुनिश्चित गर्न माग गरेका छन् ।
१२- नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् । शुक्रबार गिरिजाप्रसाद इराला फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको आरोप लगाएका हुन् । उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको बताए । उनले २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै नै रहेको बताउदै त्यति बेलाको सरकारको नीतिका कारण नै अहिले नेपाल खुला अर्थतन्त्रमा रहेको र निजी क्षेत्रको विकास भएको बताए ।
१३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राजविराजमा महिलाले सडकमा बच्चा जन्माएको घटनाले समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको टिप्पणी गरेकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले संघीय सरकारको अस्पताल बाहिर महिलाले सडकमा बच्चा जन्माएको घटनाले हाम्रो मातृ स्वास्थ्य र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ट कार्ड दिएको बताएकी हुन् । उनले अस्पताल पुगेकी महिलाले पैसा नभएका कारण बच्चा जन्माउन नपाएको घटनाले अस्पतालको व्यवस्थापनमा प्रश्न उठेको बताउदै अस्पताल गएको विरामी बाहिर जादा किन थाहा पाइएन भन्दै प्रश्न गरेकी छन् । उनले आमा सुरक्षा स्वास्थ्यलाई व्यवस्थित गर्न सुझाव दिदै तत्काल कानुनी व्यवस्था परिवर्तन गर्नुपरे गरेर भएपनि सो लागु गर्न माग गरेकी छन् । सांसद कार्कीले बबिताजस्ता महिला अस्पताल पुगेपनि राज्य बबिता जस्ता महिलासम्म नपुगेको बताउदै सरकारको ध्यानाकर्षण गराएकी छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माएकी थिइन् ।
१४- कुलमान घिसिङले चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीको उद्धार कार्यमा निरन्तर प्रगति भइरहेको बताएका छन् । हाल चिलिमेको सुरुङ उद्धार कार्यमा सहभागी भएका घिसिङले विद्युत्गृह पुग्न अब करिब १०० मिटर दूरी बाँकी रहेको बताएका हुन् । घिसिङले चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध निर्देशकका रूपमा विद्युत्गृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको बताएका छन् । विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र रूपमा भइरहेको र उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको बताएका छन् ।
सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा प्रतिध्वनि सुनिएको र त्यहाँबाट चिसो हावा समेत आइरहेको घिसिङले बताएका छन् । यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा बलियो बनाएको उनको भनाइ छ । स्याफ्रुवेसीतर्फबाट सुरुङसम्म पहुँच मार्ग बनाउन एक्साभेटरमार्फत भइरहेको काम पनि तीव्र पारिएको छ । आजसम्ममा एक्साभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको र त्यसपछि उद्धार कार्य थप तीव्र हुने घिसिङले बताएका छन् । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत् कम्पनीका कर्मचारी खटिएका छन् ।
१५- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइएको बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बेपत्ता नागरिकहरूको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उनले बताएका थिए । प्रधानमन्त्री शाहले बाढीपछि न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीका लागि उपलब्ध हुने वित्तीय सहयोगमा न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रह गरेका थिए । वार्ताका क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा भएको विनाशकारी बाढीप्रति आफ्नो सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएको सचिवालयले जानकारी दिएको छ ।
१६- भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो । यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको अवस्थामा मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।
टोलीमा कान्ति बाल अस्पतालकी ११औँ तहकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र डा. श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. धनबहादुर रहेका छन् । टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ । टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइनेछ । बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ ।
१७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार र सार्बजनिक लेखा समितिमा भ्रष्टाचारको उजुरी परेको भन्दै सरकारले किन बचाएको छ भन्दै प्रश्न गरेका हुन् । उनले भनेका छन्- सामान्य आरोपको भरमा तीन जना मन्त्री बर्खास्तमा पर्नुभएको छ ।
तर करोडौं करोड भ्रष्ट्राचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलगायत र उनको श्रीमती लगायतको ठुलो अधिकारी माथि यो आरोप लागेको छ । करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीदेखि अख्तियारदेखि सार्बजनिक लेखा समितिमा उजुरीको चाङमाथि चाङ खापिदै गएको छ । तल्लो दर्जाका प्रहरीहरुको जुत्ता मोजा खाइदिएको आरोप उनलाई लागेको छ ।’ सांसद सुनारले सरकार उनलाई बर्खास्त किन गरेको छैन भन्ने प्रश्न गर्दै भने- ‘उनीमाथि छानबिन किन भैरहेको छैन, के कारणले उनलाई बचाइराखिएको छ, यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसमा आफ्नो नियन्त्रण कायम राखे प्रत्येक अमेरिकी वयस्कलाई पाँच हजार डलर दिने घोषणा गरेका छन् । रिपब्लिकन पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले उक्त रकमलाई ‘ट्रम्प लाभांश’ भनेका छन् । तर रकम कसरी वितरण गर्ने र यस्तो भुक्तानी कानुनी रूपमा सम्भव छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन । करिब २७ करोड अमेरिकी वयस्कलाई रकम दिँदा करिब १३ खर्ब ५० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । ट्रम्पले आफ्नो कार्यकालको उपलब्धिको प्रशंसा गर्दै मतदातालाई रिपब्लिकन उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । उनले मध्यावधि निर्वाचनसम्म निर्णायक राज्य तथा निर्वाचन क्षेत्रमा व्यापक प्रचार गर्ने बताएका छन् । महँगी र इरानसँगको युद्धलाई मतदाताको प्रमुख चासोका विषय मानिए पनि सम्मेलनमा डेमोक्रेटिक पार्टीमाथि मुख्य रूपमा आक्रमण गरिएको थियो । ट्रम्पले इरानविरुद्धको युद्ध छिट्टै अन्त्य हुने दाबी गर्दै निर्वाचनपछि युद्ध तत्काल समाप्त हुनेसमेत बताएका छन् ।
१९- युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडले शानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । बायर्नले बोडो/ग्लिम्टलाई ५-० गोल अन्तरले पराजित गर्दा म्यानचेस्टर युनाइटेडले साबाहलाई ४-० ले हराएको थियो । बायर्नको जितमा जमाल मुसियाला, ह्यारी केन, अल्फोन्सो डेभिस र माइकल ओलिसेले गोल गरेका थिए । ओलिसेले दुई गोल गरेका थिए । चोटका कारण केही समय मैदानबाहिर रहेका मुसियालाले पुनरागमनपछि महत्वपूर्ण गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बायर्नले बलमा स्पष्ट पकड बनाए पनि बोडो/ग्लिम्टको संगठित रक्षापंक्तिका कारण गोल गर्न सकेको थिएन ।
दोस्रो हाफको सुरुआतमै मुसियालाले गोल गरेपछि भने खेल बायर्नको नियन्त्रणमा गएको थियो । त्यसपछि केन, डेभिस र ओलिसेले गोल थप्दै टोलीलाई फराकिलो जित दिलाएका थिए । बोडो/ग्लिम्टका ओडिन ब्योर्तुफ्टले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए । यस जितसँगै बायर्नले च्याम्पियन्स लिगको सुरुआती खेलमा लगातार २३औँ सिजन जित निकाल्ने कीर्तिमान बनाएको छ । यता म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा साबाहलाई ४-० ले हराउँदै च्याम्पियन्स लिगमा प्रभावशाली पुनरागमन गरेको छ । माटेउस कुन्हाले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेसले ४३औँ मिनेटमा दोस्रो गोल थपेका थिए भने बेन्जामिन सेस्कोले पहिलो हाफ सकिनुअघि गोल गर्दै युनाइटेडलाई ३-० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिसान्द्रो मार्टिनेजले ६९औँ मिनेटमा गोल गरेपछि युनाइटेडले ४-० को जित सुनिश्चित गरेको थियो । साबाहले सुरुआतमा केही आक्रमण गरे पनि युनाइटेडको तुलनामा उसको खेल कमजोर देखिएको थियो । साबाहका लागि भने यो च्याम्पियन्स लिगमा पहिलो सहभागिता थियो । टोलीले पहिलो खेलमै फरक–फरक ११ देशका खेलाडीलाई सुरुआती टोलीमा उतार्दै प्रतियोगितामा नयाँ कीर्तिमानसमेत बनाएको थियो ।
२०- एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई प्रणालीलाई जैविक तथा अन्य घातक हतियार विकासमा सहयोग पुग्ने गरी प्रयोग गर्ने प्रयासहरू पहिचान गरी रोकिएको जनाएको छ । कम्पनीको पछिल्लो सुरक्षा प्रतिवेदनअनुसार गत आठ महिनामा एआईको प्रयोग गरी साइबर जासुसी, निगरानी, ठगी, प्रचार अभियान तथा हतियार विकासका प्रयास भएका थिए । एन्थ्रोपिकले जैविक हतियार विकासमा सहयोग पुग्न सक्ने गरी एआई प्रयोग गरिएका पाँच घटना र परम्परागत हतियार विकाससँग सम्बन्धित छवटा घटना पहिचान गरेको जनाएको छ ।
प्रतिवेदनमा रुससँग सम्बन्धित साइबर समूह तथा इरानी प्रचार संस्थाले समेत एन्थ्रोपिकको एआई प्रयोग गरेको उल्लेख छ । कम्पनीले यस्ता गतिविधि रोक्न सुरक्षा प्रणाली थप बलियो बनाउँदै सम्बन्धित अधिकारी तथा प्रविधि क्षेत्रका साझेदारसँग आवश्यक सूचना साझा गरिएको जनाएको छ । एन्थ्रोपिकले जैविक हतियारसँग सम्बन्धित एआई दुरुपयोगलाई अत्यन्त गम्भीर जोखिमका रूपमा व्याख्या गर्दै उचित सुरक्षा उपाय नहुँदा यसको परिणाम भयावह हुन सक्ने चेतावनी दिएको छ ।