काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएकोविरुद्ध देउवा दम्पतिले सर्वोच्चमा रिट दायर गरेका थिए । हाल देउवा दम्पती विदेशमा छन् ।
२- नेपाली महिला फुटबल टिमले साफ महिला च्याम्पियनसिप अन्तर्गत विजयी शुरुवात गरेको छ । भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा पहिलो हाफको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । प्रतियोगितामा नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने छ । प्रतियोगिताको सेमिफाइनल खेल जेठ २० गते र फाइनल खेल जेठ २३ गते हुने तालिका रहेको छ ।
३- सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ढंगोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । त्यसै गरी, आर्थिक वर्ष २०८३-८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको प्रति क्विन्टल रु ३,६६० र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु ३, ८६० तोकिएको छ । मन्त्रिपरिषद्ले नेपाल–चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना (चिलिमे–केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र ‘लेटर अफ रिप्लाईङ’ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए ।

४- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्बजनिक गरको छ । क्यानले राष्ट्रिय टिमबाट र ए टिमबाट खेल्दै आएका युवा पुरुषतर्फ ३८ खेलाडीलाई केन्द्रिय सम्झौतामा आवद्ध गरेको हो । क्यानले पुरुषतर्फ ए प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी तथा स्पीनर सन्दीप लामिछानेलाई समावेश गरेको छ । क्यानले उनीहरुको पारिश्रमिकसमेत वृद्धि गरेको छ। उनीहरुले अब मासिक एक लाख २० हजार पाउनेछन् । यस्तै, ए श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन् ।

उनीहरुले मासिक एक लाख पारिश्रमिक पाउने क्यानले जनाएको छ । त्यस्तै बी श्रेणीमा ललित राजबंशी, आरिफ सेख, भीम सार्की, नन्दन यादव र गुलशन झा रहेका छन् । उनीहरुले मासिक ७५ हजार पारिश्रमिक पाउने छन् । त्यस्तै सी श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बसिर अहमद, लोकेश बम, शहाब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल शाह रहेका छन् ।

उनीहरुले मासिक ५५ हजार पारिश्रमिक पाउने छन् । त्यस्तै डी श्रेणी (डेभलपमेन्ट) मा तृतराज दास, रशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सराफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्तिम अर्जुन साउद, प्रतिष जिसी र सगर ढकाल रहेका छन् । उनीहरुले मासिक ३५ हजार पारिश्रमिक पाउने क्यानले जनाएको छ । क्यानका अनुसार महिला तथा पुरुष खेलाडीलाई म्याच फि को रुपमा हरेक टी- २० खेल बापत १० हजार र एकदिवसीय खेल बापत १५ हजार अलग्गै पाउने जानकारी दिएको छ ।
५- सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नगर्ने विषय बाहिर आएको भन्दै गरेको प्रश्नको जवाफ दिदै प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका हुन् । उनले भने- ‘आवश्यकताअनुसार प्रधानमन्त्रीज्यू सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गर्नुहुन्छ ।’ आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन विशेष समारोहमा प्रधानमन्त्री शाहले आफ्नो सट्टा राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष सम्बोधन गरिदिनका लागि अनुरोध पत्र पठाएको विषय बाहिर आएको छ ।
६- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको नयाँ केन्द्रीय सम्झौता सार्बजनिक गरको छ । क्यानले २५ महिला खेलाडीसँग केन्द्रीय सम्झौता गर्दै चार श्रेणीमा बर्गिकरण गरेर मासिक पारिश्रमिक दिने भएको छ । महिलातर्फ ए श्रेणीमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, पूर्वकप्तानद्वय रुविना क्षेत्री र सिता रानामगरलाई राखिएको छ । उनीहरुलाई क्यानले मासिक ५५ हजार पारिश्रमिक दिने जानकारी दिएको छ । त्यस्तै बी श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय रहेकी छन् ।
उनीहरुले मासिक ४० हजार पारिश्रमिक पाउने छन् । त्यस्तै सी श्रेणीमा विन्दु रावल, कबिता जोशी, रुबी पोदार र रिया शर्मा रहेका छन् । उनीहरुले मासिक ३० हजार पारिश्रमिक पाउने छन् । त्यस्तै डी समुह (डेभलपमेन्ट) मा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रविन, सावित्री धामी, काजल श्रेष्ठ, सीमाना केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्माचार्य र रचना चौधरी रहेका छन् । उनीहरुले मासिक २५ हजार पारिश्रमिक पाउने क्यानले जनाएको छ । क्यानका अनुसार महिला तथा पुरुष खेलाडीलाई म्याच फि को रुपमा हरेक टी- २० खेल बापत १० हजार र एकदिवसीय खेल बापत १५ हजार अलग्गै पाउने जानकारी दिएको छ ।
७- प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले मंगलबार बिहान ११: ३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।
८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण प्रधानमन्त्रीको भ्रमण सँग नजोडिएको सरकारले बताएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछाने आफ्नै किसिमले जान लागेको बताउदै प्रधानमन्त्रीको भ्रमणसँग सम्बन्धित नभएको स्पष्ट गरेका हुन् । उनले भने- ‘प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा वा जुन सुकै देश जाने समय जतिखेर आउछ, उहाँ भारत मात्र नजानु भएको हैन, अहिले विदेश कहिँ पनि जानु भएको छैन । अहिले हामीले पहिलो १०० दिनको कार्य व्यस्तता एकदमै धेरै छ । शुरुमा काममा अलिकति बढी फोकस छौं । त्यसैले अहिले सभापति जी आफ्नै ढंगले जादै हुनुहुन्छ तर प्रधानमन्त्रीज्यूको त्यससँग कुनै पनि सम्बन्ध छैन ।’ रास्वपा सभापति रवि लामिछाने केहि दिनमा भारत भ्रमणमा जाने तयारी गरिरहेका बेला सरकारको यस्तो प्रतिक्रिया आएको हो ।
९- नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खङ्गाहाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अनुसन्धानका क्रममा खङ्गाहाले भारतीय शिक्षा बोर्ड नागाल्याण्ड बोर्ड अफ स्कुल एजुकेसन, कोहिमाबाट जारी भएको भनिएको प्रवेशपत्र, अंकपत्र र बसाइँसराइ प्रमाणपत्रलगायतका नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ ।
उनले २०५९ मंसिर १ गतेदेखि भवानी माध्यमिक विद्यालय नवलपरासीमा अस्थायी प्राथमिक तह शिक्षकका रूपमा नियुक्ति लिएका थिए। त्यसपछि २०७५ चैत २९ गते सोही विद्यालयमा स्थायी प्राथमिक तह शिक्षक पदमा नियुक्ति पाएको आरोप छ । हाल उनी मणिसंगम माध्यमिक विद्यालय विनयी त्रिवेणी–२ मा प्राथमिक तह तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत रहेका छन् । नक्कली प्रमाणपत्रका आधारमा पद, सुविधा र लाभ लिएको भन्दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग गरिएको छ ।
१०- नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया छिटो र व्यवस्थित रूपमा अघि बढाउने केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा र समिति संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले १५औँ महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई तीव्र बनाउने निर्णय गरेको हो । बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी तोकेको छ । जसअनुसार कोशीमा डा. डिला संग्रौला, बागमतीमा बहादुरसिंह लामा, सुदूरपश्चिममा उदयशमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे र लुम्बिनीमा अमरसिंह पुनलाई विशेष जिम्मेवारी दिइएको छ ।
त्यस्तै, नयाँ सदस्यता वितरण तथा नवीकरण कार्य जेठ २१ गतेभित्र सम्पन्न गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने निर्णय गरिएको छ । १४औँ महाधिवेशनका क्रममा गठन भएको छानबिन समितिबाट मान्यता प्राप्त सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि बैठकले गरेको छ । विभिन्न पार्टीबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता समस्या समाधान गर्न केन्द्रीय प्रतिनिधिहरूलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरिएको छ । त्यसअनुसार बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौं लगायत जिल्लामा प्रतिनिधि खटाइनेछ ।
त्यस्तै, नेपाली कांग्रेसका जनसम्पर्क समितिबारे पनि बैठकले निर्णय गरेको छ। अधिवेशन सम्पन्न भएका सात देशका समितिमा सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाउने अनुमति दिइएको छ। समस्या नदेखिएका १५ देशका समितिलाई अद्यावधिक गरेर अधिवेशन तालिका केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ । १४ औँ महाधिवेशनपछि सम्पर्क कमजोर भएका सात देशका समितिमा सदस्यता नवीकरण र नयाँ वितरण गर्न निर्देशन दिइएको छ भने समस्या देखिएका आठ देशका समितिमा अध्ययन गरी समाधान गर्न समन्वय गर्ने निर्णय भएको छ । बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
११- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । कङ्गोमा पछिल्ला २० दिनमा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । इबोला संक्रमणको त्रास बढेसँगै त्यहाँ स्यानिटाइजर र मास्कको मूल्य धेरै गुणा बढेको छ भने अस्पतालहरूमा बिरामीको चाप पनि उच्च रहेको छ । यसैबीच अमेरिका, चीन, जापान र फ्रान्सले पनि इबोला जोखिमलाई लिएर सतर्कता बढाएका छन् । ती देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा पारेका छन् र अफ्रिकी मुलुकबाट आउने यात्रुहरूमा विशेष निगरानी राखिएको छ ।
विश्वभर इबोला भाइरस रोग (ईभीडी) बाट संक्रमितमध्ये मृत्यु दर करिब २५ देखि ९० प्रतिशतसम्म रहने गरेको तथ्यांक छ । यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा देखिएको थियो, जसमा सुडान र तत्कालीन जाइरे (हालको लोकतान्त्रिक गणतन्त्र कङ्गो) मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । आपतकाल घोषणा पछि विभिन्न देशले विशेष गरी कङ्गो, युगान्डा र सुडान जाने वा त्यहाँबाट फर्किने यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेकाछन् । ती देशबाट फर्किने व्यक्तिमा ज्वरो, कमजोरी, वान्ता, पखाला, घाँटी दुख्ने वा शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई जानकारी दिन भनिएको छ ।
१२- नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी थ्री स्टार हाइड्रोक्रो शेयर ९.०१ प्रतिशतले बढेको छ भने सुपर खुदीको शेयर ८.३२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुंगल हाइड्रोको शेयर १०.३२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ६० करोड २० लाख बराबर कारोबार भएको छ भने रिढी पावरको ३० करोड १७ लाख बराबरको कारोबार भएको छ ।
१३- काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खानालसँग संयुक्त शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री खानालले युरोपेली संघले नेपालसँग गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले सुशासनका प्रमुख आधारका रूपमा छिटो र प्रभावकारी सेवा प्रवाह तथा भ्रष्टाचारविरुद्धको कडा अडानलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै तीसँगै द्रुत आर्थिक विकास पनि सरकारको मुख्य लक्ष्य रहेको बताएका थिए ।
मन्त्री खानालले लगानीमैत्री वातावरण निर्माण, निर्यात प्रतिस्पर्धात्मकता वृद्धि र नवप्रवर्तन प्रवर्द्धनका लागि भइरहेको आर्थिक सुधारबारे जानकारी दिँदै जलविद्युत, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन युरोपेली संघलाई आग्रह गरे । नेपालले हासिल गरेको प्रगति र जारी सुधारलाई ध्यानमा राख्दै उनले युरोपेली संघ सदस्य राष्ट्रहरूलाई नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेका छन् । भेटमा बोल्दै युरोपेली संघकी नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले यस भ्रमणको उद्देश्य नयाँ सरकारप्रति युरोपेली संघको समर्थन पुनः पुष्टि गर्नु र नेपाल–युरोपेली संघबीच सहकार्यका अवसरहरू विस्तार गर्नु रहेको बताइन्। उनले डिजिटल शासन र प्रविधिमा युरोपेली विशेषज्ञता आदानप्रदान गर्न पनि संघ तयार रहेको जानकारी दिइन् ।
१४- कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकार पूर्वाधार न्यायाधिकरण बनाउने तयारीमा रहेको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले पूर्वाधार आयोजना सम्बन्धी विवाद छिटो र प्रभावकारी रूपमा समाधान गर्न न्यायाधिकरण आवश्यक रहेको निष्कर्ष उच्चस्तरीय कार्यदलले निकालेको जानकारी दिदै सरकार न्यायाधिकरण बनाउने तयारीमा जुटेको बताएकी हुन्
। उनले भनिन – ‘कार्यदलले पूर्वाधार न्यायाधिकरणको गठनको सुझाव दिएपछि पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धि कानुन तर्जुमाको प्रक्रियामा रहेको छ । मन्त्रालयले अब सुरु गरिसकेको छ ।’ समितिमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति, आगामी कार्ययोजना तथा होल्डिङ सेन्टर सम्बन्धी प्रतिवेदनमाथि छलफल भएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले मन्त्रालयमा प्रत्यक्ष कार्यक्षेत्रभन्दा बाहिरका विषयसमेत आउने गरेको बताउँदै त्यस्ता विषय सम्बन्धित निकायमा पठाइने जानकारी दिइन् । उनले शाखा तथा महाशाखामा तोकिएको समयभित्र काम भए नभएको नियमित अनुगमन भइरहेको बताइन् । मन्त्री गौतमले मन्त्रालयको कामलाई छिटो, उत्तरदायी र पारदर्शी बनाउन ‘फास्ट ट्र्याक डेस्क’ स्थापना गरिएको जानकारी दिएकी थिइन् ।
१५- प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति पौडेललाई गणतन्त्र दिवसमा सम्बोधन गर्न पत्र पठाएपछि प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने खुलेको हो । पत्रमा संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिन सिफारिस गरिएको उल्लेख छ ।
संबिधानको धारा ६६ को उपधारा २ मा भने यो विषय स्पष्ट उल्लेख नभए पनि किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुने उल्लेख छ । धारा ६६ को उपधारा २ मा भनिएको छ- ‘उपधारा (१) बमोजिम अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानून बमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्य बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्री मार्फत पेश हुनेछ ।’ मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेन्द्रकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति बनाएको छ । यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने परम्परा रहेकोमा यस पटक सो परम्परा तोडिने देखिएको छ ।
१६- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ ९ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार परालको आगो, लालिबजार, मालती मंगले र गुरु आमाको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार बैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म परालको आगोले बक्स अफिसमा दर्शकलाई आकर्षित गरेको देखिएको छ । यस फिल्मले अहिलेसम्म ४ करोड २७ लाख ५३ हजार ६४५ कमाई गरेको छ । त्यस्तै यस फिल्मका एक लाख ५३ हजार ९२६ टिकट बिक्रि भएका छन् । त्यस्तै बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले पनि बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले ५ करोड ७६ लाख ३९ हजार ४७१ कमाई गरेको छ । त्यस्तै यस फिल्मले एक लाख ९६ हजार ४०६ टिकट बिक्री गरेको छ ।
त्यसैगरी बैशाख २५ गते नै प्रदर्शनमा आएको रामकृष्ण ढकालले निर्माण गरेको फिल्म मालती मंगलेले भने आशा गरे अनुसार दर्शकको मन जित्न सकेको देखिएको छैन । फिल्मले केवल ५१ लाख ६३ हजार ५९३ कमाई गरेको छ भने केवल १६ हजार १३७ टिकट बिक्री भएको छ । त्यस्तै बैशाख २५ गते बी रिलिज भएको फिल्म गुरु आमाले २९ लाख ४२ हजार ४७६ कमाइ गरेको छ । यस फिल्मले ९ हजार ३२७ टिकट बिक्री गरेको छ । त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले २८ लाख ४६ हजार कमाएको छ भने एक मुठ्ठी बादलले ५ लाख २१ हजार कमाएको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १९ सयले बढेर तोलाको २ लाख ९२ हजार ८ मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९० हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले बढेर ५१५० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।
१८- अमेरिका र इरानबीच जारी तनाव र युद्ध अन्त्य गर्दै होर्मुज जलडमरूमध्यमा लगाइएको अवरोध हटाउने विषयमा सैद्धान्तिक सहमति नजिक पुगेको जनाइएको छ । यद्यपि केही संवेदनशील विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ । इरानले भने हालसम्म सार्वजनिक रूपमा कुनै औपचारिक सहमति भएको पुष्टि गरेको छैन । पछिल्लो २४ घण्टामा इरानी अधिकारीहरूको अभिव्यक्तिमा पनि फरक–फरक धारणा देखिएको जनाइएको छ । अमेरिकी अधिकारीका अनुसार प्रस्तावित सम्झौतामा अझै हस्ताक्षर भएको छैन । सम्झौताले अन्तिम स्वीकृति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईबाट पाउन बाँकी छ । यस प्रक्रियामा केही दिन लाग्न सक्ने बताइएको छ । सम्झौताअनुसार होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइनेछ ।
त्यसको बदलामा इरानले आफ्नो संवर्धित युरेनियम भण्डार समाप्त गर्न सहमत हुने प्रस्ताव गरिएको छ । तर यो प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा अझै छलफल जारी रहेको अधिकारीहरूले बताएका छन् । ट्रम्पले उक्त संवर्धित सामग्री अमेरिकाको नियन्त्रणमा ल्याउन चाहेको जनाइएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिनिधिहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिएको बताएका छन् । यसैबीच अमेरिकी विदेशमन्त्री मारको रुबियोले अमेरिका र इरानबीच वार्ता जारी रहेको बताएका छन् । उनका अनुसार प्रस्तावमा होर्मुज जलडमरूमध्य खुला राख्ने र निश्चित समयसीमाभित्र इरानको आणविक कार्यक्रमबारे गम्भीर वार्ता गर्ने विषय समावेश छ ।
रुबियोले खाडी क्षेत्रका देशहरूले पनि उक्त योजनालाई समर्थन गरिरहेको बताएका छन् । विश्वका धेरै राष्ट्रहरूले यसलाई सकारात्मक कदमका रूपमा हेरेको उनको भनाइ छ । अमेरिकाको दृष्टिमा यो सम्झौता विश्व समुदायकै हितमा हुन सक्ने उनले उल्लेख गरेका छन् । भारत भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रुबियोले ट्रम्प कुनै हतारमा नरहेको बताएका छन् । खराब सम्झौता नगर्ने स्पष्ट पार्दै उनले अमेरिका पहिले कूटनीतिक प्रयासलाई पूर्ण अवसर दिन चाहेको र त्यसपछि मात्रै अन्य विकल्पबारे विचार गरिने बताएका छन् ।
१९- बायर्न म्युनिखका फरवार्ड ह्यारी केनले युरोपेली गोल्डेन बुट जितेका छन् । उनले सन् २०२५-२६ सिजनमा जर्मन लिगमा ३६ गोल गर्दै प्रतिष्ठित पुरस्कार दोस्रो पटक आफ्नो नाममा पारेका हुन् । इङ्ग्ल्यान्डका कप्तान समेत रहेका केनले उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पारे छन् । हालाण्डले २७ गोल गरेका थिए भने रियल मड्रिडका एमबाप्पेले २५ गोलमा सिजन टुङ्ग्याएका थिए । केनको गोलक्षमताले बायर्नलाई उपाधि होडमा बलियो बनाएको थियो । टोटेनह्याम छाडेर जर्मनी पुगेपछि उनले जर्मन फुटबलमा सहज रूपमा आफूलाई स्थापित गरेका छन् । ३२ वर्षीय केनको यो सफलतापछि युरोपेली फुटबलका महान् अग्रपङ्क्तिका खेलाडीमध्ये उनको स्थानबारे फेरि चर्चा सुरु भएको छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका उनले आफू विश्व फुटबलका भरपर्दा गोलकर्तामध्ये एक रहेको प्रमाण फेरि दिएका छन् ।
२०- दिल्ली क्यापिटल्सले जारी आइपिएलको लिग चरणको अन्तिम खेलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले कोलकोतालाई ४० रनले पराजित गरेको हो । दिल्लीले दिएको २०४ रनको लक्ष्य पछाएको कोलकोताले १८.४ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो । कोलकोताका लागि कप्तान अजिख्य रहानेले सर्बाधिक ६३ रन बनाए भने रोभमन पावेलले २९म मनिष पाण्डेले २५ र फिन एलेनले २० रन बनाए । त्यस्तै दिल्लीका बलर लुंगी एनगीडी र कुलदीप यादवले ३-३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै २०३ रन बनाएको थियो । दिल्लीका लागि केएल राहुलले सर्बाधिक ६० रन बनाए भने कप्तान अक्सर पटेलले ३९, डेभिड मिलरले २८, सहिल पटेलले २४ र अभिषेक पोरेलले २२ रन बनाएका थिए । यो जितपछि दिल्लीले १४ खेलमा १४ अंकसहित छैटौं स्थानमा रहेर यो सिजनको आइपीएल समाप्त गरेको छ । त्यस्तै कोलकोता १४ खेलमा १३ अंक सहित सातौं स्थानमा रहेर यो सिजनको अन्त्य गरेको छ । योसँगै यस सिजनको आइपिएलका लिग चरणका खेल सकिएका छन् र अब पहिलो क्वालिफायर्स रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच मंगलबार हुदैछ भने इलिमिनेटर खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच बुधबार हुने तालिका रहेको छ ।