काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी छन् । थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा काठमाडौँको टुँडिखेलमा आयोजित सभामा प्रमुख अतिथिका रुपमा सहभागी भई प्रधानमन्त्री कार्कीले विभिन्न सांस्कृतिक झाँकीको अवलोकन पनि गरेकी छन् । ‘थारु कला संस्कृति हाम्रो पहिचान, यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा मौलिक कला तथा संस्कृति झल्किने झाँकीहरु प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री कार्कीले औलोसँग जुध्दै तराईँलाई आवाद बनाउने कर्मशील थारू समुदायसँग आफ्नो पनि आत्मीय सम्बन्ध रहेको बताइन् । उनले भनिन्- ‘मेरो बाल्यकाल थारु समुदायका साथीहरुसँगै बितेको छ। थारु भान्सामा पाक्ने प्रत्येक परिकारको स्वाद मेरो जिब्रोमा भिजेको छ। त्यसैले माघी पर्व मेरा लागि पनि विशेष पर्व हो ।’विभिन्न समुदायहरूले फरक–फरक नाम, शैली र परम्पराअनुसार यो चाड मनाए पनि त्यसको मर्म एउटै रहेको बताउँदै उनले भनिन्- ‘हामी विविध छौँ, तर एउटै छौँ। हामी बहुल छौँ, तर सँगै छौँ। हामी धेरै भएर नै पूर्ण छौँ।’
विश्व मानचित्रमा नेपाल एकता, सद्भाव र सहअस्तित्वको अनुपम उदाहरण बनेर उभिएको र यही नै हाम्रो मौलिक पहिचान तथा शक्ति रहेको उनको भनाइ थियो । उनले आपसी सद्भाव, विश्वास र सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनका निम्ति भूमिका खेल्न पनि सबैलाई आह्वान गरिन् । उनले भनिन्- ‘वर्तमान विशिष्ट परिस्थितिमा हामी सबै अझ संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ। त्यसकारण, यस्ता सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्नुपर्छ ।’
२- नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियन क्रिकेटर इआन हार्भीलाई बलिङ कन्सल्टेन्ट कोचमा नियुक्त गरेको छ । क्यानले नेपाली टिमको टी-२० विश्वकपलाई केन्द्रित गर्दै अस्ट्रेलियन पुर्व खेलाडी हार्भीलाई बलिङको कन्सल्टेन्ट को नियुक्त गरेको छ । उनले अस्ट्रेलियाका १९९७ देखि २००४ सम्म ७३ एकदिवसीय खेल खेलेका थिए । नेपालले फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुने टी-२० विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेलहरु खेल्दै छ ।

३- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट गरे ।

अध्यक्ष ओलीले नेपालमा नेपालीका सरकार हुनुपर्छ भन्नेहरुका घर र पार्टी कार्यालय छानीछानी आगो लगाइएको, कार्यापालिका, न्यायपालिका र राष्ट्रका मुख्य संरचना तथा राष्ट्रिय उद्योगहरु जलाइएको उल्लेख गर्दै अहिले थिति र विधिको शासन नभई जथाभावी शासन चलाइएको टिप्पणी गर । ‘अहिले दुनियाँमा भइरहेको शासनको प्रतिबिम्ब नेपालमा देख्न सकिन्छ । अहिले कसैको सम्पति खाएको छ भने पनि मुद्धा लाग्दैन, हिजो लागेका अभियोग सच्याइन्छ र चुनावाका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ ।’, अध्यक्ष ओलीले भने- ‘हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ । अरुको सरकार बनाउन दिँदैनौँ । बन्यो भने ढाल्छौँ । यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ, यो देश पुर्खाले लडेर स्वतन्त्र र सर्वभौम बनाएको देश हो । यसलाई बचाउनु हामी सबैको दायित्व हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयमा आपत्ति जनाउँदै उहाँले प्रश्न गर्दै भने- ‘अहिले महान्याधिवक्ताको कार्यालय इतिहासकै लागि लज्जाको विषय बनेको छ । जनताको हिनामिना भएको पैसा कस्ले तिर्छ ? महान्याधिवक्ताको कार्यालयले तिर्छ ?’ आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न उनको आग्रह थियो । निरङ्कुश पञ्चायत सरकारले सिन्धुपाल्चोकको पिस्करमा २०४० साल पुस ३० गते हत्या काण्ड गराएको घटना स्मरण गर्दै उनले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर नयाँ लाग्नुको विकल्पन नभएको बताए ।

४- बंगलादेश क्रिकेट बोर्डले आफ्न फाइनान्स कमिटीका निर्देशक नजमुल इस्लामलाई बर्खास्त गरेको छ । बंगलादेशका क्रिकेट खेलाडीको कल्याणकारी संघले इस्लामलाई नहटाएसम्म सबै खेल बहिष्कार गर्ने अडान लिएपछि बोर्डले उनलाई हटाएको हो । बोर्डले भनेको छ- ‘हालैका घटनाक्रमहरूको समीक्षा पछि र संस्थाको सर्वोत्तम हितमा, बोर्ड अध्यक्षले नजमुल इस्लामलाई वित्त समितिको अध्यक्षको रूपमा उनको जिम्मेवारीबाट तत्काल प्रभावबाट मुक्त गर्ने निर्णय गर्नुभएको छ । यो निर्णय बोर्डको विधानको धारा ३१ अन्तर्गत बोर्ड अध्यक्षमा निहित अधिकार अनुसार लिइएको हो र बोर्डको मामिलाको निरन्तर सहज र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो । अर्को सूचना नभएसम्म, बोर्ड अध्यक्षले वित्त समितिको कार्यवाहक अध्यक्षको भूमिका ग्रहण गर्नेछन् ।’

खेलाडीहरुले खेल बहिष्कार गरेपछि आज हुने बंगलादेश प्रिमियर लिगका दुवै खेल रोकिएका छन् । खेलाडी बहिष्कारका कारण आज हुने तालिका रहेका चट्टोग्राम रोयल्स र नोआखली एक्सप्रेस बीचको पहिलो र राजशाही वारियर्स र सिल्हेट टाइटन्स बीचको दोस्रो खेल स्थगित गरिएको छ । निर्देशक इस्लामले पूर्व कप्तान तमिम इकबाललाई ‘भारतीय एजेन्ट’ भनेपछि क्रिकेटर कल्याण संघले सबै खेल बहिष्कार गर्ने घोषणा गरेको थियो । तमिमले भारत र बंगलादेश क्रिकेट बीचको जारी तनावलाई वार्ताबाट समाधान गर्न सुझाव दिएपछि निर्देशक इस्लामले उनलाई ‘भारतीय एजेन्ट’ भनेको बताइएको छ । बंगलादेश क्रिकेट बोर्डले इस्लामलाई स्पष्टिकरण सोधेको भएपनि खेलाडी संघले भने उनलाई हटाउन माग गरेर खेल बहिष्कार गरेका थिए ।
५- चार जना अन्तरिक्ष यात्रीहरू निर्धारित समयभन्दा एक महिना अगाडि नै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्किएका छन् । उनीहरूको अन्तरिक्ष यान क्यालिफोर्नियाको तटबाट महासागरमा अवतरण गरेको थियो । ड्र्यागन एन्डेभरबाट पृथ्वीमा फर्कन लगभग ११ घण्टा लागेको नासाले जानकारी दिएको छ । क्यालिफोर्नियाको तटबाट प्रशान्त महासागरमा खस्दा अन्तरिक्ष यानको गति २५ किलोमिटर प्रतिघण्टा थियो । यी अन्तरिक्ष यात्रीहरूमा माइक फिन्के, जिना कार्डम्यान, जापानका किमिया युई र अन्तरिक्ष यात्री ओलेग प्लेटोनोभ रहेका छन् ।
उनीहरूले १६७ दिन अन्तरिक्षमा बिताए । उनीहरु अगस्ट १, २०२५ मा अन्तरिक्ष स्टेशनमा आइपुगेका थिए र त्यहाँ छ महिनाभन्दा अलि बढी समय बस्ने तालिका थियो । तर गत हप्ता, फिन्के र कार्डम्यानको निर्धारित अन्तरिक्षयात्रा अन्तिम समयमा रद्द गरियो । केही घण्टा पछि, नासाले एक चालक दलका सदस्य बिरामी परेको र उनीहरुलाई तत्काल पृथ्वीमा फर्काउने जानकारी दियो । सन् १९९८ मा पृथ्वीको कक्षमा अन्तरिक्ष स्टेशन स्थापना भएपछि चिकित्सा कारणले गर्दा कसैलाई त्यहाँबाट फिर्ता ल्याइएको यो पहिलो पटक हो ।
६- इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनका बीच, अमेरिकाले इरान वरिपरि आफ्नो सैन्य उपस्थिति बढाउने तयारी गरिरहेको छ । अमेरिकी नौसेनाको युएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप दक्षिण चीन सागरबाट मध्य पूर्वको लागि प्रस्थान गरेको छ । युएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिले चल्ने विमानवाहक जहाज हो । यसलाई विश्वको सबैभन्दा ठूलो र शक्तिशाली युद्धपोतहरू मध्ये एक मानिन्छ । अमेरिकी समाचार वेबसाइट न्यूज नेसनको रिपोर्ट अनुसार, इरानी हवाई क्षेत्र बन्द भएको एक घण्टा पछि यो निर्णय गरिएको हो ।
रिपोर्ट अनुसार, स्ट्राइक ग्रुपलाई चिनियाँ गतिविधिहरूको निगरानी गर्न दक्षिण चीन सागरमा तैनाथ गरिएको थियो, तर अब यसलाई मध्यपूर्व तर्फ लागिएको छ । यसलाई मध्य पूर्व पुग्न लगभग एक हप्ता लाग्न सक्छ । यद्यपि, यो कुरा अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छैनन् । आक्रमण अघि अमेरिकाले भेनेजुएलामा पनि त्यस्तै तैनाथी बढाएको थियो । न्यूज नेसनका ह्वाइट हाउस संवाददाता केली मेयरले स्रोतहरूलाई उद्धृत गर्दैअब दक्षिण चीन सागरबाट सेन्ट्रल कमाण्ड (सेन्टकम) क्षेत्रमा सर्दैछ ।
जसले मध्य पूर्व, उत्तरपूर्वी अफ्रिका, मध्य एशिया र दक्षिण एशियाका २१ देशहरूलाई समेट्छ । हाल, मध्य पूर्वमा कुनै पनि अमेरिकी वाहक स्ट्राइक समूह अवस्थित छैन । पहिले, अमेरिकी अब्राहम लिंकनले दक्षिण चीन सागरमा नियमित अपरेशनहरू सञ्चालन गरिरहेको थियो । यसमा एक सुपर क्यारियर, ३-६ विनाशक, १-२ पनडुब्बी, ७,०००-८,००० सेना, र ६५-७० विमानहरू (एफ-३५, एफ/ए -१८, आदि) समावेश छन् ।
७- नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबि गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका सभापति थापाले पार्टी नफुटेको बताउदै आयोगले विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनसहितका निर्णयलाई अध्यावधिक गर्ने विश्वास व्यक्त गरेका छन् ।
थापाले अधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय बारे आयोगलाई जानकारी गराएको र आफुहरुले निर्वाचन आयोगलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए । उनले आयोगका पदाधिकारीले आज दोहोरो संवाद नगरेको र आयोगले ढिलोमा पर्सिसम्म यस अध्यावधिक गर्ने आफुहरुले विश्वास व्यक्त गरेको प्रतिक्रिया दिए । आयोगमा उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।
८- नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफु पार्टीलाई एकताबद्ध राख्न सफल नभएको बताएका छन् । विहिबार एक अपिल जारी गर्दै नेता कोइरालाले पार्टी विभाजन हुनुमा को दोषी र को निर्दोष बारे आफुले केहि नभन्ने भन्दै सबै कही न कही चुकेको कुरा स्विकार्न आफुलाई कुनै संकोच नभएको उल्लेख गरेका छन् । नेता कोइरालाले आफ्नो अपिलमा षडयन्त्रका राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएको र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न नसकेको बताएका छन् । उनले पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया नरोकिने भन्दै सबैलाई काँग्रेसमा फर्किन आव्हान गरेका छन् ।
९- गगन थापा नेतृत्वको नेपाली काँग्रेसले चुनावी घोषणा पत्र निर्माण समिति गठन गरेको छ । प्रवक्तामा देवराज चालिसेले आजको बैठकले सभापति थापाको नेतृत्वमा चुनावी घोषणा पत्र समिति गठन गरेको जानकारी दिएका छन् । त्यस्तै बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । प्रवक्ता चालिसेले निर्वाचन आयोगमा अध्यावधिक गर्ने, समानुपातिक सुची सच्याउने र आयोगमा हस्ताक्षर गर्ने व्यक्तिको नाम परिवर्तन गर्ने निर्णय बैठकले गरेको जानकारी दिएको छ । चालिसेले बैठक शुक्रबार पनि बस्ने जानकारी दिए ।
१०- गगन थापा नेतृत्वको नेपाली काँग्रेसले प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ । विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्त मा नियुक्त गरेको हो । गएराति सकिएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । केन्द्रीय समितिको बैठकपछि आजै पार्टीलाई अध्यावधिक गर्न गगन नेतृत्वको काँग्रेस निर्वाचन आयोग जादैछ ।
११- नेपाली काँग्रेसका नेता हृदयराम थानीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएका छन् । थानीले आफ्नो प्रतिकुल स्वास्थ्यका कारण आफु उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘म करीव २ महिनादेखि खुट्टामा देखिएको नसा सम्बन्धी समस्याले गर्दा सहजरुपमा हिडडुल गर्न समेत सकिरहेको छैन । डाक्टरको सल्लाह बमोजिम हाल घरमै फिजियोथेरापिष्टको सहयोगमा उपचार गरीरहेको छु ।
तसर्थ, मेरो प्रतिकुल स्वास्थ्य अवस्थाको कारण यहि माघ ६ गते रहेको मनोनयन दर्तामा समेत उपस्थित र तत्पश्चात सकृय हुन नसक्ने परिस्थिति देखिएकोले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएको छु ।’ नेता थानी फागुन २१ को निर्वाचनका लागि सुर्खेत- २ बाट कांग्रेसको तर्फबाट उम्मेदवार सिफारीस भएका छन् । २०७९ को निर्वाचनमा थानी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनले एमालेका अमृत बहादुर क्षेत्रीलाई पराजित गरेका थिए । पछिल्लो समय काँग्रेसमा विशेष महाधिवेशनको विवाद हुँदा उनले गगन-विश्वको पक्षमा उभिएका छन् ।
१२- नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीको वेभसाइटबाट दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको तस्बीर हटाएको छ । तिनै जनालाई बुधबार बसेको सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिले अनुशासनको कारवाही गर्दै पाँच बर्षका लागि निष्काशित गरेको थियो । अब तिनै जनाको तस्वीर वेभसाइटबाट हटाइएको छ । महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा गएराती सम्पन्न विशेष महाधिवेशनले गगन थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ र आज निर्वाचन आयोगमा पार्टी अध्यावधिक गर्न समेत जादै छ ।
१३- सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फुल चौक सडक खण्ड छेउमा दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
मार्वल लोड भएको ट्रक बिहीबार बिहान हुलाकी राजमार्गअन्तर्गत भोक्रहा नरसिंह गाउँपालिका–८ फुलचौक जाने बाटोमा दुर्घटना भएको हो । प्रहरीले मृतकहरुको सनाखत हुन बाँकी रहेको र शव पोष्ट मार्टमका लागि जिल्ला अस्पातल लागिन लागेको बताएको छ । दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको १५ सयले घटेर तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७८ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले घटेर तोलाको ५४८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५६५५ रुपैयाँमा कारोबार भएको थियो ।
१५- ग्रीनल्याण्डको विषयमा डेनमार्क र अमेरिकाबीच ह्वाइटहाउसमा छलफल भएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनको नेतृत्वमा ह्वाइटहाउस पुगेको डेनमार्कको टिमले अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग ग्रीनल्याण्ड बारे छलफल गरेका हुन् । डेनमार्कका विदेशमन्त्री रासमुसेनले ग्रिनल्याण्डको सम्बन्धमा डेनमार्कको संयुक्त राज्य अमेरिकासँग ‘मौलिक असहमति’ रहेको बताएका छन् । बैठकमा ग्रिनल्याण्डका विदेशमन्त्री भिभियान मोट्जफेल्ड पनि बैठकमा उपस्थित थिए ।
रासमुसेनले उपराष्ट्रपति जे.डी. भान्स र विदेशमन्त्री मार्को रुबियोसँग खुला कुराकानी भएको र बैठक रचनात्मक भएको बताए । यद्यपि, रासमुसेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्डलाई समावेश गर्ने जिद्दी पूर्ण रूपमा अस्वीकार्य भएको बताए । उनले भने- ‘हामीले यो डेनमार्कको हितमा छैन भनेर स्पष्ट पारेका छौं ।’ अमेरिका, डेनमार्क र ग्रिनल्याण्ड बीचको लगभग एक घण्टाको बैठकले कुनै नतिजा भने ननिकालेको बताइएको छ । यद्यपि, सबै पक्षहरूले ग्रिनल्याण्डको भविष्यको बारेमा छलफल गर्न उच्च-स्तरीय कार्य समूह गठन गर्ने कुरामा सहमति जनाएका छन् । रासमुसेनले अमेरिकाले पार गर्न नसक्ने सीमाहरू रहेको बताउदै सम्झौतामा पुग्ने प्रयास गर्न आगामी हप्ताहरूमा एक कार्यदलको बैठक हुने बताए ।
उनले डेनमार्क र ग्रीनल्याण्ड अमेरिकाले ग्रीनल्याण्डमा थप सैन्य अड्डाहरू स्थापना गर्ने सम्भावनाको लागि खुला रहेको बताए । ट्रम्पले हालैका दिनहरूमा अमेरिकालाई ग्रीनल्याण्डमा गाभ्न दबाब दिइरहेका छन्। उनले यस सम्बन्धमा धेरै बयान दिएका छन् । उनले यदि ग्रीनल्याण्ड अमेरिकामा सामेल भएन भने, रूस र चीनले यसलाई कब्जा गर्ने बताउदै आएका छन् । ग्रीनल्याण्ड र डेनमार्कले ट्रम्पको अडानको विरोध गरेका छन् । केही युरोपेली देशहरूले पनि डेनमार्कलाई आफ्नो समर्थन व्यक्त गरेका छन् ।
१६- सेनेगल र मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेका छन् । गएराती सम्पन्न सेमिफाइनल खेलमा सेनेगलले इजिप्टलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । सेनेगलको जितका लागि खेलको ७८औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । त्यस्तै अर्को सेमिफाइनलमा मोरक्कोले नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब फाइनल खेलमा सेनेगल र मोरक्को भिड्ने भएका छन् । अहिलेसम्म सेनेगलले एक पटक २०२१ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ भने २००२ र २०१९ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो । त्यस्तै मोरक्कोले भने १९७६ मा एक पटक उपाधि जितेको छ भने त्यसयता अफ्रिका कप अफ नेसन्सको उपाधि जित्न सकेको छैन । यसअघि मोरक्को २००४ मा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पपुगेको थियो । अब यो फाइनल खेल जनवरी १८ मा हुदैछ ।
१७- आर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ । पुस मसान्तसम्म छ महिनामा ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य रहेकोमा ८१.७५ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पुस महिनाको लक्ष्य एक खर्ब ९० अर्ब ७७ करोड रहेकोमा एक खर्ब ७१ अर्ब ६३ करोड राजश्व संकलन भएको छ, जुन ८९.९६ प्रतिशत हो ।
अघिल्लो आर्थिक बर्षमा पुस महिनामा एक खर्ब ६१ अर्ब ६२ करोड राजश्व संकलन भएको थियो । आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड संकलन भएको छ । यस अघि २०८१-८२ आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब ५ अर्ब ७७ करोड राजश्व संकलन भएको थियो ।
१८- अमेरिकाले आफ्ना सेनालाई कतारमा रहेको आफ्नो अल उदेद एयर बेस छोड्न आदेश दिएको छ । यस घटनाले अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने अनुमानलाई बढावा दिएको छ । यो कतारी सैन्य अड्डामा सेनाको आवागमन कुनै पनि आसन्न आक्रमणसँग सम्बन्धित छ कि छैन भन्ने कुरा स्पष्ट छैन । रिपोर्टका अनुसार यसलाई पूर्ण सेना फिर्ताको आदेश मान्न नहुने बरु सावधानीपूर्वक मुद्रा परिवर्तन, अर्थात् सुरक्षा र रणनीतिक परिवर्तन मान्नु पर्ने बताएका छन् ।
रिपोर्टका अनुसार, हाल नजिकैका रंगशाला वा शपिङ मल जस्ता स्थानहरूमा ठूलो संख्यामा सेना तैनाथ गरिएको कुनै संकेत छैन, जस्तो कि गत वर्ष इरानको क्षेप्यास्त्र आक्रमण हुनुभन्दा ठीक अघि देखिएको थियो । यसैबीच, अमेरिका र इरानबीचको कूटनीतिक वार्ता पनि रोकिएको छ। रोयटर्सले ट्रम्प प्रशासन र इरानबीच औपचारिक सम्पर्क स्थगित गरिएको रिपोर्ट गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराक्ची र अमेरिकी विशेष दूत स्टीव विटकफबीचको प्रत्यक्ष सम्पर्क पनि रोकिएको छ । यसले दुई देशबीचको तनावलाई अझ बढाएको देखिन्छ ।
इरानबाट पनि कडा बयानहरू आएका छन् । इरानी अधिकारीहरूले आफ्नो सैन्य तयारी चरम सीमामा रहेको बताएका छन् । उनीहरूले यदि अमेरिकाले आक्रमणको लागि यस क्षेत्रका अन्य देशहरूको भूभाग प्रयोग गर्यो भने, ती देशहरूले पनि बदलाको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । इरानी रक्षामन्त्री अजिज नासिरजादेहले अमेरिकालाई इरानमाथि आक्रमण गर्न मद्दत गर्ने कुनै पनि देशलाई लक्षित गरिने बताएका छन् ।
१९- अमेरिकाले नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया रोकेको छ । अमेरिकी विदेश मन्त्रालयले आप्रवासन प्रक्रियाको पुनार्मुल्यांकन गर्न भन्दै जनवरी २१ देखि लागु हुने गरि भिसा प्रक्रिया रोकेको जानकारी दिएको छ । यो प्रक्रिया जनवरी २१ बाट सुरु हुनेछ र विभागले आप्रवासी भिसा सम्बन्धि विद्यमान नियमको पुनर्मूल्यांकन नगरेसम्म अनिश्चितकालका लागि जारी रहने बताइएको छ ।
विदेश मन्त्रालयले यी ७५ देशहरूबाट आप्रवासन रोक्न र कल्याणकारी र सार्वजनिक लाभ लिने विदेशी नागरिकहरूको प्रवेश रोक्न आप्रवासन प्रक्रियाहरूको पुनर्मूल्याङ्कन गर्ने बताएको छ । भिसा प्रक्रिया रोकिएका देशमा अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुआ र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, आइभरीकोष्ट, क्युबा, कंगो प्रजातान्त्रिक गणतन्त्र, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हैटी, इरान, इराक, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, कंगो गणराज्य, रूस, रुवान्डा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्बेकिस्तान र यमन समावेश छन् ।
२०- न्यूजील्याण्डले भारतविरुद्धको एकदिवसीय सिरिजमा कमब्याक गरेको छ । बुधबार राति सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ७ विकेटले पराजित गरेर सिरिजमा कमब्याक गरेको हो । भारतले दिएको २८५ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४७.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
न्यूजील्याण्डको जितमा डार्यल मिचेलले अविजित १३१ रन बनाएका थिए भने विल योंगले ८७ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले केएल राहुलको ११२ रनको शतकीय पारीसँगै ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको थियो । न्यूजील्याण्डको यो जितपछि तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरी भएको छ । यसअघि पहिलो खेल भारतले ४ विकेटले जितेको थियो । अब सिरिजको तेस्रो तथा अन्तिम खेल जनवरी १८ मा हुँदैछ ।
FACEBOOK COMMENTS