काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- काठमाडौंबाट धनगढीतर्फ उडान भरेको श्री एयरलाइन्सको एक जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवामा आकस्मिक अवतरण गराइएको छ । विमानको ककपिटमा अचानक धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा प्रक्रिया अपनाएको थियो । विमानले आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो । केही समयमै ककपिट क्षेत्रमा धुवाँ देखिएपछि पाइलटले सतर्कता अपनाउँदै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराएका थिए ।
विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सम्पूर्ण यात्रु तथा चालक दलका सदस्य सकुशल रहेका छन् । घटनापछि प्राविधिक टोलीले जहाजको विस्तृत परीक्षण सुरु गरेको छ भने ककपिटमा धुवाँ देखिनुको वास्तविक कारणबारे अनुसन्धान अघि बढाइएको छ । यसैबीच, भैरहवामा रोकिएका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन श्री एयरलाइन्सले अर्को जहाज पठाइसकेको जनाएको छ ।
२- आगामी असार १६ र १७ गते देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी र तराईका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै जाने भएकाले मनसुन बाँकी भूभागमा पनि फैलिने अनुमान गरिएको छ ।
सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने महाशाखाले चेतावनी दिएको छ । शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ । महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । महाशाखाले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै अद्यावधिक मौसम पूर्वानुमान नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ। साथै, सबैलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना हेरी आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

३- भारतको लद्दाखका सामाजिक अभियन्ता सोनम वाङचुकले आइतबार नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् । चिकित्सा प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट र माध्यमिक शिक्षा बोर्डसँग सम्बन्धित विवादको विरोधमा भइरहेको प्रदर्शनको नवौँ दिनमा उनले अनशन थालेका हुन् । गत जुन २० देखि प्रदर्शन गरिरहेको ‘ककरोच जनता पार्टी’ ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।
वाङचुकले अनशन सुरु गरेसँगै जन्तर-मन्तरमा विद्यार्थी, प्रदर्शनकारी तथा विभिन्न सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति बढेको छ । अनशन सुरु गर्नुअघि वाङचुक र पार्टीका संस्थापक अभिजित दीपकेले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रदर्शनमा किसान नेताहरूको समेत सहभागिता रहेको बताइएको छ । पार्टीका संस्थापक दीपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन् । यसअघि लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने मागसहित आन्दोलन गरिरहेका वाङचुक राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत पक्राउ परेका थिए । उनी करिब १७० दिन जोधपुर कारागारमा बसेका थिए ।
उनको अनशनका क्रममा २०२५ कोसेप्तेम्बर २४ गते लेहमा भएको हिंसात्मक घटनामा चार जनाको मृत्यु भएको थियो भने करिब ९० जना घाइते भएका थिए । भारतीय सरकारले उक्त हिंसा भड्काएको आरोप वाङचुकमाथि लगाएको थियो । हिंसापछि सेप्टेम्बर २६ मा उनलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत नियन्त्रणमा लिएर जोधपुर लगिएको थियो । यता, केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले गत जुन २३ दिएको एक अन्तर्वार्तामा लोकतान्त्रिक प्रक्रियाबाट अस्वीकृत भएका केही समूहले फरक रूप धारण गरेर शिक्षा प्रणालीविरुद्ध अभियान चलाइरहेको आरोप लगाएका थिए । उनले शिक्षा प्रणालीलाई जानाजानी कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यस्ता व्यक्ति वा समूहको निगरानी भइरहेको र आवश्यक कारबाही गरिने बताएका थिए ।
४- नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी यू १९ महिला प्रिमियर कपका लागि सोनी पाख्रिनको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । क्यानले सोनी पाख्रिन (कप्तान), साना प्रविन, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा, करुणा विष्ट, प्रतिमा शाह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी रहेका छन् । जुलाई ११ देखि हुने प्रतियोगितामा नेपालको समुहमा कतार, हङकङ र सिंगापुर रहेका छन् ।
५- पूर्वी फ्रान्समा एउटा नागरिक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटना टोम्ब्लेन सहरस्थित विमानस्थल नजिक भएको हो । घटनापछि प्रहरीले सर्वसाधारणलाई दुर्घटनास्थल वरपरको क्षेत्रमा नजान र उक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको विमान स्काइडाइभिङका लागि यात्रु बोकेर उडेको थियो । प्रशासनका अनुसार दुर्घटनामा चालकसहित विमानमा सवार सबै १० यात्रुको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना विद्यार्थी र पाँच जना प्रशिक्षक रहेका छन् । फ्रान्सको गृह मन्त्रालयले गृहमन्त्री लोरेन नुनेज घटनास्थलतर्फ प्रस्थान गरिसकेको जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।
६- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटाएको बताएकी छन् । जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले नै नेपालमा कम्युनिष्टप्रति विश्वास बढाएको बताउदै पुँजीवादी पक्षधरहरुले फैलाएकासबै भ्रमको निवारण गरेको बताएकी छन् । भण्डारीले हालै सम्पन्न चुनावले सबै कम्युनिष्टहरुलाई जनतासँग जोडिनुपर्छ भन्ने सन्देश दिएको बताउदै एउटा चुनावले मात्र कम्तुनिष्टको महत्व कम भयो भन्न नहुने जिकिर गरिन ।
उनले बदलिदो परिस्थिति, प्रविधिको विकास र जनतासँगको जीवन्त सम्बन्धले आन्दोलनलाई सान्दर्भिकता बनाउदै लैजाने बताउदै अहिलेको अवस्थामा बहुदलीय जनवादको महत्व अझ बढेको बताईन । उनले जनताको विश्वास पुन हासिल गर्ने आधार परिणाममुखी काम र विश्वसनीय नेतृत्व हुनुपर्ने बताउदै भण्डारीले समय अनुसार आफुलाई ढाल्न सके मात्र कम्युनिष्ट आन्दोलनले फेरी सफलता हासिल गर्न सक्नेमा जोड दिइन । भण्डारीले अबको देशको बाटो नै बहुदलीय जनवादको बाटो भएको भन्दै आफु नेपालको राजनीतिक अवस्था र परिस्थितिमा प्रत्यक्ष कार्यकारीको पक्षमा नरहेको समेत उल्लेख गरेकी छन् ।
६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धक्का खाएको बताउदै समाप्त नभएको बताएका छन् । जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै ओलीले चुनावमा धक्का खाएको बताउदै समाप्त नभएको बताए । उनले भने- ‘अहिले चुनावमा हामीले धक्का खाएका छौं । यो धक्का हो तर हामि समाप्त भएका छैनौं । धक्का खानु र समाप्त हुनु एउटा कुरा हो । हामी अहिले लडेका हौँ मरेका हैनौं । फेरी उठ्छौं र प्रतिक्रियावादीलाई पराजित गर्छौं ।’ ओलीले सरकारको आलोचना गर्दै बोलाएको संसद रोकेर अध्यादेश जारी गरेको आरोप लगाउदै सरकारका गैरसंबैधानिक काम रोक्न बामपन्थी शक्ति एक हुनुपर्ने बताए । ओलीले आफुहरु संक्रीणता नराख्ने र असम्भव कुराहरुप्रति उदार समेत नरहेको बताउदै सरकारका असंबैधानिक क्रियाकलाप रोक्न पनि एक हुनुपर्ने बताए । उनले काँग्रेस फुटेको उल्लेख गर्दै अन्य दललाई पनि फुटाउने प्रयास गरिएको दाबि गरेका छन् । एमाले बलियो र एकताबद्ध पार्टी भएको बताउदै आफ्ना उद्देश्यप्रति सचेत र सजक रहेको र कसैले हात हाल खोज्दैमा त्यस्ता कुरालाई पराजित गर्ने बताए ।
७- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वाधीनता चरम संकटमा परेको महसुस भएको बताएका छन् । जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै प्रचण्डले सरकारले संबिधानका आधारभूत मान्यतामाथि प्रहार गर्न उद्धत भएको देखिएको बताउदै सबै मुख्य टार्गेट कम्युनिष्टहरु भएको बताएका हुन् । नेपालमा कम्युनिष्ट आन्दोलनलाई कसरी सिध्याउन सकिन्छ भनेर विश्वभरका प्रतिक्रियावादीहरु लागिरहेको बताउदै यस्तो अवस्थामा छिटो भन्दा छिटो एकता गएर अगाडी बढ्नुपर्ने बताए । प्रचण्डले भने- ‘मैले पार्टी एकता तुरुन्त गरौँ भनेको छैन तर सहकार्य तुरुन्तै गरौँ भनेको हो ।
संसदमा गरौँ, सडकमा गरौँ, जहाँ सकिन्छ त्यहि गरौँ भनेको हो । सकिन्छ भने आजै गरौ तुरुन्तै गरौँ, ढिला नगरौं ।’ सहकार्य गर्न ढिला गरेमा त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिदै प्रचण्डले आफुहरुविरुद्ध धेरै ठुला षड्यन्त्र भैरहेको बताए । प्रचण्डले फेरी एकता गर्न विगतमा भएका एकताको समिक्षा हुनुपर्ने बताउदै अहिले देशमा आएको संकट र चुनौतीको सामना गर्न ढिला नगरी मिलेर मात्र सफलता हासिल गर्न सकिने बताए । उनले सहकार्य गरेर शुरु गरौँ भन्दै प्रचण्डले बामपन्थी मात्र सहकार्य गरेर पर्याप्त नहुनेमा जोड दिए । प्रचण्डले कांग्रेस, एमाले र जसपा नेपालसहितका मधेश केन्द्रित दलहरुसँग कुनै न कुनै रुपमा कार्यगत एकता वा मोर्चामा एक ठाउँमा हुनुपर्ने बताए । प्रचण्डले प्राप्त उपलब्धिको रक्षा गर्न अहिले फेरी एक ठाउमा आउनुपर्ने अवस्था बनेको भन्दै आफुले भन्ने गरेको क्रमभंगता गरिरहनुपर्ने बताए ।
८- नेकपाका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट कमजोर बनेको कारण खोज्नुपर्ने बताएका छन् । जननेता मदन भण्डारीको ७५औ जन्म जयन्ती समारोहमा बोल्दै नेपालले दुई तिहाई बहुमतमा रहेको कम्युनिष्टको आजको अवस्था कसरी आयो भन्ने विषयको कारण खोज्नुपर्ने बताए । नेता नेपालले यो एउटा पार्टीको विषय नभएको बताउदै सबैले आफ्नो पार्टीमा भएका कमजोरीको कारण पत्ता लगाएपछि मात्र एकताको बहस शुरु गर्न सकिने बताए ।
उनले व्यक्तिवादी चरित्र, भ्रष्टाचारसहित अन्य कारणले कम्युनिष्टको आजको अवस्था भएको बताउदै जनताको भावना बुझ्न नसकेको टिप्पणी गरे । नेता नेपालले अहिलेको सरकारका गतिबिधि शंकास्पद भएको भन्दै लोकतन्त्र र गणतन्त्रलाई जोगाउन कम्युनिष्टहरु एक हुनुपर्ने बताउदै मिल्नसक्ने विषयमा एकता गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । नेपालले आत्मकेन्द्रित चिन्तनलाई र स्वार्थकेन्द्रित चिन्तनलाई नत्यागेसम्म एक हुन नसकिने स्पष्ट गर्दै जनतामा गएर जनताका समस्या बुझेर नै अगाडी बढ्नुपर्ने बताए ।
९- मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ । मदन भण्डारी फाउण्डेशनले गरेक बर्ष प्रदान गर्ने यो पुरस्कार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् । इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय छन् । पुरस्कारस्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । फाउण्डेशनका अनुसार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेको छ ।
१०- राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उत्पादन, उत्पादकत्व वृद्धि र विकासका लागि ऋण लिन आवश्यक रहेको बताए । अर्थमन्त्री डा. वाग्लेले निजि क्षेत्र चलायमान नहुदा सार्बजनिक क्षेत्रलाई चलाउन बजेटमा व्यवस्था गरेको स्पष्ट गरेका थिए । सार्बजनिक वित्त आयोगले दिएको सुझावका आधारमा ऋण लिने व्यवस्था बजेटमा गरेको संसदमा जानकारी दिएका छन् ।
११- त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन हुने भएको छ । अस्पताल प्रशासनले असार १५ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । अस्पतालले स्वास्थ्य बिमा सेवाका लागि टिकट वितरणको समय पनि तोकेको छ । जसअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म बिमा टिकट काउन्टरबाट टिकट वितरण गरिनेछ ।
शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोकेको थियो । शिक्षण अस्पतालले स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख गर्दै सेवा बन्द गरेको थियो । अस्पतालमा मासिक औसत ५ करोड खर्च भए पनि बोर्डले ५० प्रतिशत मात्रै दाबी रकम उपलब्ध गराएकाले उपचार गर्न नसकिने अवस्था भएको जनाएको थियो । त्यति बेला अस्पतालले ४० करोड बीम बापतको रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको थियो ।
१२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रद्धा कुँवरले अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट अनिश्चितकालिन निलम्बनमा परेको विषयमा आवश्यक अनुसन्धान गरी जिम्मेवारहरुप्रति कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कुँवरले विश्वकप फुटबल चलिरहेको बेलामा नेपाली फुटबल निलम्बनमा पर्दा नेपालको प्रतिष्ठामा धक्का पुगेको बताइन् ।
उनले भनिन्- ‘विश्वसमुदाय फुटबल महोत्सव फिफा वर्ल्डकपको रौनकमा रमाइरहेको छ । हामी पनि आ-आफ्नो मनपर्ने देशको जर्सी लगाएर समर्थन गरिरहेका छौं तर बिडम्बना यसै बेला आफ्नो देशको फूटबलको अवस्था सम्झदा हाम्रो शीर गर्वले होइन चिन्ताले झुक्न बाध्य भएको छ । यस कार्यमा जिम्मेवार पक्षहरूको तत्काल छानबिन गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस् ।’ सांसद कुँवरले एन्फा निलम्बनले नेपालका खेलाडी र राष्ट्रकै प्रतिष्ठामा आँच आएको बताउदै नेपालमा प्रतिभाको अभाव नभई खेल प्रशासनमा सुशासन र पारदर्शिता तथा सक्षम व्यवस्थापनको अभाव रहेको जिकिर गरेकी थिइन् ।
सीमित स्रोत, साधनका बाबजुद पनि सावित्रा भण्डारी, प्रिति राई लगायतका नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएको उल्लेख गर्दै उनले खेलाडीहरूले आफ्नो क्षमताले कमाएको सम्मान संस्थागत कमजोरीका कारण बारम्बार संकटमा पर्दै आइहरेको बताउदै सरकारको ध्यानाकर्षण गराएकी छन । उनले एकातिर घरेलु प्रतियोगिता लामो समयसम्म संचालन हुन नसक्दा नयाँ पुस्ताका युवाहरूमा फुटबलप्रतिको आकर्षण र उत्साह घट्दै गएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय निकायले कुनै संस्था वा संघलाई एकै दिन वा कुनै एउटा घटनाका आधारमा निलम्बन नगर्ने र यसका निश्चित मापदण्ड सूचक र प्रक्रिया हुने बताइन । उनले नेपाली फुटबलको यो अवस्था ल्याउने जिम्मेवार व्यक्तिहरूप्रति छानबिन गरी कानुनी कारबाही अगाडि बढाउन माग गरेकी छन् ।
१३- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रास्वपाको महाधिवेशनबाट पारित दस्ताबेजबाट लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको टिप्पणी गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको टिप्पणी गर्दै आलोचना गरेका हुन् । उनले लोकप्रियताको सुन्दर घुम्टोले केमोफाइज भएर जनमत जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काइ जिस्काई सेबेटोज गर्न बढ्दै गएको कपट र षडयन्त्रप्रति गम्भीर र सचेत रहेको चेतावनी दिएका छन् । दुलालले प्रदेशका केहि सांसदहरुले लिएको पारिश्रमिकले देश विकास भएन भन्ने भनिएको भन्दै रास्वपाको दस्ताबेजप्रति आपत्ति जनाएका छन् । दुलालले आवधिक चुनावमा यो पटक हारेपनि सधैंका लागि नहारेको बताउदै आफुहरु विचारका विजक भएको जिकिर गरे । उनले विचार सही भए, विचारको समय सापेक्ष विकास भए सारालाई प्रभाव पार्न सक्ने र सानो झिल्कोले सिंगो जंगल सखाप पार्न सक्ने बताए ।
१४- प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टी सदस्य बनाएकोप्रति ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभाको वैठ शुरु हुनासाथ काँग्रेस सांसद रेनुका काउचाले रास्वपाको हालै सम्पन्न महाधिवेशनमा आधिकारीक रुपमा पेश गरिएको आँकडामा ३५ हजारभन्दा बढी बालबालिका सदस्य रहेको बताइएको उल्लेख गर्दै यो नेपालको कानुनविरुद्ध रहेको भन्दै ध्यानाकर्षण गराएकी हुन् । उनले रास्वपा संबिधान भन्दा माथि रहेको हो भन्ने प्रश्न गर्दै यसप्रति रास्वपा र संसदको ध्यानाकर्षण गराएकी हुन् ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४७ सयले बढेर तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर तोलाको ४३२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४१८० मा कारोबार भएको थियो ।
१६- जारी फिफा विश्वकप फुटबलको समुह चरणका खेल सकिदा ३२ देश नकआउट चरणमा पुगेका छन् भने १६ देश विश्वकपबाट बाहिरिएका छन् । इरान, दक्षिण कोरिया, स्कटल्याण्ड र उरुग्वे नजिक पुगेर पनि नकआउट चरणमा छनौट हुन सकेनन । उनीहरु आ-आफ्नो समुहमा तेस्रो भएर उत्कृष्ट आठमा पर्न नसकेपछि बाहिरिएका हुन् । त्यस्तै पानामा, उज्बेकिस्तान, जोर्डन, इराक, साउदी अरेबिया, न्यूजील्याण्ड, ट्युनिसिया, कुराकाओ, टर्की, हैटी, कतार र चेक रिपब्लिक पनि समुह चरणबाट बाहिरिएका छन् । पहिलो पटक ४८ देशले भाग लिएको यस विश्वकपमा १६ देश बाहिरिदा ३२ देशले नकआउट चरण खेल्ने छन् । अब राउण्ड ३२, राउण्ड १६ हुदै प्रतियोगिता फाइनलतर्फ अगाडी बढ्ने छ ।
१७- जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा भएको छ । आइतबार समुह चरणका खेल सकिएसँगै नकआउट चरणमा पुग्ने ३२ टिमको टुंगो लागेको हो । समुह विजेता १२ र उपविजेता १२ देश नकआउटमा पुगेका छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ८ देश पनि नकआउटमा पुगेका हुन् । जस अनुसार मेक्सिको, स्वीजरल्याण्ड, ब्राजिल, अमेरिका, जर्मनी, नेदरल्याण्डस, बेल्जियम स्पेन, फ्रान्स, अर्जेन्टिना, कोलम्बिया र इङल्याण्ड समुह विजेता हुदै नकआउट चरणमा पुगेका छन् । त्यस्तै दक्षिण अफ्रीका, क्यानडा, मोरक्को, अस्ट्रेलिया, आइभरी कोष्ट, जापान, केप भर्डे, नर्वे, अस्ट्रिया, पोर्चुगल र क्रोसिया उपविजेता हुदै नकआउटमा पुगेका हुन् ।
त्यस्तै डिआर कंगो, स्विडेन, घाना, इक्वेडर, बोस्निया हर्जगोभिना, पराग्वे, अल्जेरिया र सेनेगलले तेस्रो स्थानको उत्कृष्ट आठमा रहेर नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । अब नकआउट चरणमा जर्मनीले पराग्वेसँग, फ्रान्सले स्विडेनसँग, दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्याण्डसले मोरक्कोसँग, पोर्चुगलले क्रोसियासँग, स्पेनले अस्ट्रियासँग, अमेरिकाले बोस्निया हर्जगोभिनासँग, बेल्जियमले सेनेगलसँग, ब्राजिलले जापानसँग, आइभरी कोष्टले नर्वेसँग, मेक्सिकोले इक्वेडरसँग, अर्जेन्टिनाले केप भर्डेसँग, अस्ट्रेलियाले इजिप्टसँग, स्वीजरल्याण्डले अल्जेरियासँग र कोलोम्बोले घानासँग खेल्ने तय भएको छ ।
१८- पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण प्रारम्भ भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यपालिका अनुरूप तीन वटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । यस प्रक्रियाको विस्तृत कार्यपालिका मन्त्रालयका आधिकारिक माध्यममार्फत सार्वजनिक गरिसकिएको छ ।
छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषय क्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ । साथै, मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि पृथक विज्ञहरूको प्यानलको व्यवस्था गरिएको छ । पूर्वनिर्धारित कार्य तालिकाअनुसार भोलि सोमबार बाँकी दुई पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन हुने जनाइएको छ । यसअघि शनिवार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्प सूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीकरण सम्पन्न भएको थियो । यससँगै आठ वटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउनेछ, जसले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टतालाई नयाँ उचाइतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।
१९- भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या बढेर १४३० पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजका अनुसार ३ हजार २३८ जना घाइते भएका छन् भने ३ हजार १४२ परिवार घरविहीन बनेका छन् । अधिकारीहरूका अनुसार मुख्य दुई भूकम्पपछि हालसम्म ४३० भन्दा बढी पराकम्प गएको छ । लगातारका पराकम्पका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ भने प्रभावित क्षेत्रमा त्रास अझै कायम छ । भूकम्प गएको ७२ घण्टा पूरा भएसँगै उद्धार अभियान सबैभन्दा संवेदनशील चरणमा पुगेको छ । विज्ञहरूका अनुसार भग्नावशेषमा फसेका व्यक्तिलाई जीवित भेट्ने सम्भावना समयसँगै घट्दै जान्छ ।
पानीबिना तीन दिन बितेपछि बाँच्ने सम्भावना निकै कम हुने भए पनि केही अध्ययनले पाँच वा छ दिनसम्म पनि जीवित उद्धार गर्न सकिने देखाएका छन् । मेक्सिकोको उद्धार टोली ‘लस टोपोस’ का सदस्य डेभिड इमानुएल भिल्ला तेजेडाले राजधानी काराकासमा धेरै अग्ला भवनहरू भत्किएकाले खोज तथा उद्धार कार्य निकै कठिन बनेको बताए । उनका अनुसार दुवै भूकम्प छोटो अन्तरालमा आएका र केन्द्रबिन्दु जमिनको सतह नजिक रहेकाले ठूलो संख्यामा भवनहरू भत्किएका हुन् ।
आफूले काम गरिरहेको क्षेत्रमा भवन भत्किएको अवस्थाले भग्नावशेषभित्र जीवित व्यक्ति फेला पार्न झन् कठिन बनाएको उनले बताए । यद्यपि उनले आशा नत्यागिएको पनि उल्लेख गरे । विगतमा आफ्नो टोलीले भूकम्पपछि १० दिनसम्म भग्नावशेषमा फसेका व्यक्तिलाई पनि जीवितै उद्धार गरेको अनुभव रहेको उनले सुनाए । अमेरिकाका लागि रेडक्रसकी क्षेत्रीय निर्देशक लोयस पेसले लगातारका पराकम्पले उद्धार अभियानमा ठूलो असर पारिरहेको बताइन्। उनका अनुसार उद्धारकर्मीले प्रत्येक क्षण नयाँ पराकम्पको जोखिम सामना गर्नुपरेकाले भग्नावशेषभित्र प्रवेश गर्दा अत्यन्त सावधानी अपनाउनुपर्ने अवस्था छ ।
२०- भेनेजुएलामा दुई शक्तिशाली भूकम्पपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन २४ देशले सहयोग पठाएका छन् । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले विभिन्न देशबाट दुई हजार ७४१ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएकी छन् । उनले विदेशी उद्धार टोलीहरू भेनेजुएलाका उद्धारकर्मीसँग समन्वय गरेर संयुक्त रूपमा खोज तथा उद्धार अभियानमा खटिइसकेको बताएकी छन् । यसअघि राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले २१ देशबाट दुई हजार २४२ जना उद्धारकर्मी भेनेजुएला पुगेको जानकारी दिएका थिए । पछिल्लो विवरणअनुसार सहयोग गर्ने देश र उद्धारकर्मी दुवैको संख्या बढेको छ ।
यसैबीच, भूकम्पमा ज्यान गुमाउनेको संख्या बढेर कम्तीमा १४३० पुगेको छ। राष्ट्रिय सभाका अध्यक्ष रोड्रिगेजका अनुसार तीन हजार २३८ जना घाइते भएका छन् भने तीन हजार १४२ परिवार घरविहीन बनेका छन् । उनले बुधबार आएका दुई मुख्य भूकम्पपछि हालसम्म चार सय ३० भन्दा बढी पराकम्प गएको पनि बताएका छन्। लगातारका पराकम्पका कारण उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ भने प्रभावित क्षेत्रमा जोखिम कायम रहेको अधिकारीहरूले जनाएका छन् ।