काठमााडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् ।
ज्येष्ठ नागरिकको सुविधा पाएर ६५ वर्ष उमेर पूरा भएसँगै रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।
रायमाझीको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै संशोधित कैदीपुर्जी अदालतमा पठाएको थियो । तत्कालीन एमाले सचिवसमेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका थिए ।
रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरूद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिबाना र एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार जरिबाना ठहर भएको थियो । उनलाई घरमा टीकामाला लगाएर स्वागत गरिएको छ ।
