रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्याएपछि सुस्ताएको पर्यटन व्यवसाय आवागमन सहज बन्दै गएसँगै क्रमशः लयमा फर्किन थालेको हो ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीबाट प्रभावित पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको बताए। उनका अनुसार पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा अन्य साना व्यवसायीलाई राहत पुग्न थालेको छ ।
“बाढीपछि केही समय पर्यटकीय गतिविधि ठप्पजस्तै भएको थियो । अहिले बाटोघाटो सहज बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्,” अध्यक्ष तामाङले भने। गाउँपालिकाले पदमार्गको मर्मतसम्भार तथा पर्यटकको सुरक्षा र सहजताका लागि आवश्यक समन्वय गरिरहेको उनले जानकारी दिए ।