काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको विषय उठाउँदा रवि लामिछानेको विकल्प खोजेको आरोप लगाइएको गुनासो गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत तोसिमाले पार्टीलाई थप सबल र सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति लामिछानेविरुद्धको षड्यन्त्र जस्तो भाष्य बनाएर गरिएको प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने बताएकी छन् ।
उनले भनेकी छन्–
कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला । यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु, गर्नेछु । तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्षिक रूपमा मध्यममार्गी मूलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै रास्वपाले वैकल्पिक शक्ति, नागरिक समाज र जेन जी सबैलाई समेट्नका लागि पार्टीमा साङ्गठनिक र वैचारिक पुनर्गठन, पुनरवलोकन आवश्यक छ भन्ने मेरो मान्यता हो ।

पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछानेविरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला ।

मेरा अनुरोध स्पष्ट छन्–

१– विस्तारित बैठकमा सङ्गठनका साथीहरूको महत्त्वपूर्ण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु ।

२– बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागीहरूले राय राख्ने मात्र होइन प्रतिवेदनहरूलाई स्विकार्ने/अस्वीकार गर्ने/तोकिएका संशोधनसहित स्विकार्न पाउने गरी भोटिङ राइट दिइनुपर्छ ।

३– जेन जी आन्दोलनपछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरूलाई नसमेटी आसन्न चुनावमा एक्लै जाने छुट छैन । हामी उदार हुनुपर्छ । केन्द्रीय सचिवालय, पदाधिकारी, समितिको संरचना र नेतृत्वमा पुनरवलोकन, पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ ।
अब यही कुरामा पटक–पटक स्पष्टीकरण दिन बाध्य नपार्नुहोला, बरु आउनुस् एक कदम अघि बढेर रिफर्मेशनका मोडालिटीमा बसह गरौं ।
FACEBOOK COMMENTS