काठमाडौँ । नेपालको पर्यटनमा अफसिजन मानिने जनवरी महिनामै पर्यटक आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
नेपालमा हिउँदयाम सुरु भएपछि विगतका वर्ष पर्यटकको संख्यामा गिरावट आउने गथ्र्याे भने चिनियाँ नागरिकलाई समेत नेपाल भ्रमण खुला नगरिएको अवस्थामा आगमन उत्साहजनक रहेको बोर्डले जनाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जनवरीमा सबैभन्दा बढी पर्यटक भारतबाट अएका छन् भने दोस्रो नम्बरमा अष्ट्रेलिया रहेको छ ।
यी सबै पर्यटक हवाईमार्ग प्रयोग गरी आएका हुन् । नेपालमा कोभिड १९ को महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र ८ हजार ६७४ जना पर्यटक यस महिनामा आएका थिए । सन् २०२० को जनवरीमा भने ७९ हजार ७०२ र सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक आएका थिए । यी दुई वर्ष कोरोना महामारीको संकट सुरु भइसकेको थिएन् । सन् २०२० को मार्चपछि भने देशमा लकडाउन गरिएको थियो ।
FACEBOOK COMMENTS