काठमाडौं । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हितसम्बन्धी जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिँदै भृकुटीमण्डपमा पाँचदिने साउथ एसिया ट्रेड फेयर २०२६ सुरु भएको छ ।
दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यले वैशाख २४ देखि सुरु भएको मेला वैशाख २८सम्म चल्नेछ ।
यससँगै, निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल गर्ने आयोजकले बताएको छ ।
आयोजकका अनुसार, सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेला व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसर हो । यस कार्यक्रमले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सिर्जना गर्ने विश्वास गरिएको छ ।
मेलाको नेपालका लागि श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटिया, बंगलादेशका राजदूत सफिक्वयर रहमान, नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मल्होत्रा र मेला संयोजक सुमन महर्जनले संयुक्त रूपमा उद्घाटन गरे । देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीको अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय हुने प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ ।

मेलामा भारत, बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सलगायत देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन, तथा क्रेता–बिक्रेताबीच सहकार्य विस्तार गर्नु हो । साथै, विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य पनि राखिएको छ ।

आयोजकले करिब १५० भन्दा बढी प्रदर्शकहरू सहभागी हुने र झण्डै एक लाख स्थानीय दर्शक तथा पाँच हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थितिको अपेक्षा गरिएको मेला संयोजक सुमन महर्जनले बताए ।

मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरणलगायत विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू आदी सामग्रीहरूको प्रदर्शनी गरिएको छ ।
आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ । साथै, व्यापारिक भेटघाट, फुड फेष्टिवल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिने जनाइएको छ ।