काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान र इजरायलबीच बढ्दो तनावको बारेमा टेलिफोन वार्ता गरेका छन् । यो वार्ता लगभग एक घण्टा चलेको बताइएको छ ।
ट्रम्पले लेखेका छन्, ‘राष्ट्रपति पुटिनले आज बिहान मलाई जन्मदिनको शुभकामना दिन फोन गरेका थिए । तर, वास्तवमा हाम्रो वार्ता इरानमा बढी केन्द्रित थियो । पुटिनलाई राम्ररी थाहा भएको देश । हामीले इरानको बारेमा लामो कुराकानी गर्यौँ । रुस र युक्रेनको बारेमा संक्षिप्त छलफल भयो, जुन अर्को हप्ता थप छलफल गरिने छ ।’
ट्रम्पले रुस र युक्रेन दुवैले आफ्ना कैदीहरू आदानप्रदान गर्ने योजनामा काम गरिरहेको र दुवै देशहरूले तुरुन्तै ठूलो सङ्ख्यामा कैदीहरू आदानप्रदान गरिरहेको समेत बताए । उनले भनेका छन्, ‘पुटिन विश्वास गर्छन् र मलाई पनि लाग्छ कि इजरायल र इरानबीच चलिरहेको युद्ध अब अन्त्य हुनुपर्छ ।’
इजरायलले शुक्रबार बिहानबाट इरानमाथि आक्रमण गर्न सुरू गरेपछि दुवै देश भीषण युद्धमा छन् । दुवैले एकअर्काविरुद्ध मिसाइल आक्रमण गरिरहेका छन् । साथै, दुवै देशले अझै ठूलो आक्रमण गर्ने चेतावनीसमेत दिएका छन् ।
FACEBOOK COMMENTS