काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रूपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ ।
बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरूले अधिक लाभ लिन सक्ने कम्पनीको विश्वास छ । कम्पनीले सार्वजनिक गरेको जीवन बीमा उत्थान बीमा योजना न्यून आय भएका व्यक्तिदेखि अधिक आय भएका व्यक्तिहरूले खरीद गर्न सक्ने कम्पनीको भनाइ छ ।
न्यूनतम रू. ५० हजारदेखि आय श्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेकाले उक्त बीमा योजनामा सबैको पहुँच पुग्ने कम्पनीले बताएको छ । साथै न्युनतम ९ वर्षदेखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्षदेखि ५० वर्षका व्यक्तिहरूले बीमा गर्न सक्ने कम्पनीको भनाइ छ ।
बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जीवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुने छ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने व्यवस्था यो नयाँ योजनामा छ । कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ ।
उक्त योजनामा दुर्घटना लाभवापतको अधिकतम रकम एक करोडसम्म हुने व्यवस्था छ । प्रत्येक तीन वर्ष पूरा भएको बीमालेखको वार्षिकोत्सव मितिमा अग्रिम भुक्तानीवापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकमपश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने व्यवस्था यो योजनामा छ ।
यो बीमा योजनामा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छूट, मासिक आय, घातक रोगसम्बन्धी थप सुविधाहरू लिन सक्ने व्यवस्था रहेको छ । साथै बीमालेख लिएको मितिले तीन वर्ष पूरा भएपश्चात समर्पण मूल्य, चुक्ता मूल्य तथा कर्जा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकर्णका अनुसार प्रत्येक तीन वर्षपछि अग्रिम भुक्तानी हुने र सबै वर्गका मानिसहरूको पहुँचमा पुर्याउने उद्देश्यले ल्याइएको बीमा उक्त योजना बीमा गर्नेहरूको हितमा रहेको कम्पनीको दाबी छ ।
FACEBOOK COMMENTS