काठमाडौं । अप्पर तामाकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमाससम्म नाफामा रहेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ६५ करोड ५९ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ अर्ब ६७ करोड ४६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा चालु आबको प्रथम त्रैमासमा १.१२ प्रतिशतले सामान्य घटेको हो ।
खुद नाफामा सामान्य गिरावट देखिए पनि कम्पनीको मुख्य आम्दानी अर्थात् विद्युत बिक्री आम्दानीमा भने सुधार भएको छ । असोज मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिको ३ अर्ब ८५ करोड ५१ लाख ४९ हजार रुपैयाँको तुलनामा २.२८ प्रतिशतले बढी हो ।
कम्पनीको सञ्चालन नाफा पनि गत वर्षको २ अर्ब ७१ करोड ४७ लाख रुपैयाँबाट बढेर २ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ । वित्तीय खर्च १ अर्ब ४ करोड ५९ लाख रुपैयाँबाट बढेर १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ पुगेका कारण खुद नाफामा सामान्य दबाब परेको देखिन्छ ।

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नोक्सानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ छ । जुन गत असार मसान्तमा १२ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ८२ पैसा र प्रति सेयर नेटवर्थ ५२ रुपैयाँ ३० पैसा छ । गत वर्षको प्रथम त्रैमासमा कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ९१ पैसा र नेटवर्थ ५३ रुपैयाँ २५ पैसा थियो । असोज मसान्तसम्म कम्पनीको प्रति सेयर सम्पत्तिको मूल्य ३८३ रुपैयाँ ९९ पैसा र तरलता अनुपात १.८४ रहेको छ ।

४५६ मेगावाट क्षमताको यस आयोजना हाल पूर्ण रूपमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । असोज मसान्तसम्ममा नेपाल सरकारको ९औं अर्धवार्षिक किस्ता र अन्य ऋणप्रदायक संस्थाहरूको १९औं त्रैमासिक किस्ता तथा ब्याज भुक्तानी गरिसकिएको छ ।

ऋणदाता बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफलपछि गत आवको साउनदेखि दीर्घकालीन ऋणको ब्याजदर स्थिर रहने गरी घटाइएकाले आगामी दिनमा ब्याज खर्च घटेर वित्तीय अवस्था सुधार हुने अपेक्षा गरिएको कम्पनीले उल्लेख गरेको छ ।
२०८१ असोज १२ गतेको पहिरोबाट क्षति पुगेका संरचनाहरूको मर्मत तथा पहिरो रोकथामको अधिकांश काम सम्पन्न भइसकेको र ‘ड्याम अपरेसन कन्ट्रोल बिल्डिङ’ निर्माणको खरिद प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
पहिरोका कारण संरचना र विद्युत बिक्री आयमा भएको क्षतिको बीमा दाबी रकम भने बीमा कम्पनीबाट भुक्तानी हुन बाँकी रहेको छ ।