काठमाडौं । इजरायल र इरानबीच चलिरहेको युद्धमा अमेरिका पनि मिसिएको छ । अमेरिकाले पनि इरानविरुद्धको आक्रमणमा सामेल हुँदै इरानका तीन आणविक स्थलहरूलाई लक्षित गरेर बम आक्रमण गरेको छ ।
अमेरिकाले गुआममा धेरै बी–२ स्टिल्थ बमवर्षक जेटहरू पठाएपछि यो कदम चालिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको फोर्डो, नातान्ज र इस्फहान आणविक स्थलहरूमा आक्रमणको पुष्टि गरेका छन् ।
अमेरिकाले आधिकारिक रूपमा इरानका तीन आणविक स्थलहरूमा आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
उनले भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र इस्फहानसहित इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण गरेका छौं । सबै विमानहरू इरानको हवाई क्षेत्रबाट बाहिर छन् । प्राथमिक स्थल फोर्डोमा बमहरूको पूर्ण पेलोड खसालिएको छ । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ । संसारमा यस्तो गर्न सक्ने अरू कुनै सेना छैन । अब शान्तिको समय आएको छ ! यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।’
अमेरिकाले यसअघि गुआमको एन्डरसन एअरबेसमा तैनाथीको लागि आफ्नो सबैभन्दा घातक लडाकु विमान बी–२ स्टिल्थ बमवर्षक पठाएपछि नै इरानमा आक्रमण गर्ने अनुमान गरिएको थियो । यो बमवर्षकको वास्तविक स्थान हिन्द महासागरमा अवस्थित टापु डिएगो गार्सिया एयरबेस हो । यसलाई इरानको सबैभन्दा सुरक्षित फोर्डो आणविक स्थललाई नष्ट गर्न पठाइएको मानिन्छ । यो आणविक स्थल जमिनबाट लगभग ९० मिटर मुनि रहेको र यसलाई बी–२ स्टिल्थ बमवर्षकले मात्र नष्ट गर्न सक्षम हुने बताइएको थियो ।
यसैबीच, इजरायलले इरानी आणविक र सैन्य स्थलहरूमा आक्रमण जारी राख्दै इरानविरुद्ध ‘लामो अभियान’ का लागि तयार रहेको बताएको छ । साथै, अहिलेसम्म इजरायली आक्रमणका कारण इरानमा मृत्यु हुनेको सङ्ख्या ४३० पुगेको छ । स्वास्थ्य अधिकारीहरूले यस क्षेत्रमा इजरायली आक्रमणमा ३५ सयभन्दा बढी व्यक्ति घाइते भएको बताएका छन् । इजरायलमा अधिकारीहरूले गत हप्ता द्वन्द्व बढेदेखि कम्तीमा २४ जनाको मृत्यु भएको आधिकारिक जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS