काठमाडौं । नेपाली नागरिकहरूले अमेरिकाको बी–१/बी–२ भिसा आवेदन दिँदा अब ‘भिसा बन्ड’ राख्नुपर्ने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको भिसा नियमको अपडेटअनुसार नेपालीहरूलाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरिएको हो । अमेरिकामा पछिल्लो समय भिसा ओभर स्टे दरहरू बढ्दै गएपछि अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै यो नयाँ व्यवस्था लागू गरेको बताइएको छ । अमेरिकाको गृह सुरक्षा विभागको बी–१/बी–२ ओभर स्टे प्रतिवेदनले बढ्दै गएको बताएको छ ।
यो व्यवस्था अमेरिकाको ‘इमिग्रेसन एन्ड नेशनलिटी एक्ट’ को २२१(जी)(३) अन्तर्गतको अस्थायी अन्तिम नियम (टीएफआर) मा उल्लेख गरिएको छ, जसलाई पाइलट कार्यक्रमका रूपमा स्थापना गरिएको बताइएको छ ।
जारी गरिएको नयाँ नियमअनुसार बी–१/बी–२ भिसाका लागि योग्य ठहरिएका नेपाली पासपोर्ट बाहकहरूले आवेदनसँगै पाँच हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको बन्ड बुझाउनुपर्नेछ । तर बन्डको रकम भने भिसा अन्तर्वार्ताका क्रममा निर्धारण हुने बताइएको छ ।
आवेदकले कन्सुलर अधिकारीको निर्देशनअनुसार मात्र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको आई–३५२ फारम पेश गरी पे डट जीओभीमार्फत् बन्ड तिर्नुपर्नेछ । पे डट जीओभिको लिङ्क कन्सुलर अधिकारीले उपलब्ध गराउनेछन् । अमेरिकी सरकार यस्ता भुक्तानीका भिसा प्राप्त गर्न जिम्मेवार नहुने स्पष्ट गरिएको छ ।

FACEBOOK COMMENTS