काठमाडौँ । झाडापखालाविरुद्धको दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आएको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट कोलेराविरुद्धको खोप दिइँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई कोलेराविरुद्धको खोप हस्तान्तरण गरे । युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गरेका हुन् ।
कतार एयरको नियमित उडानबाट दुई लाख ५२ हजार ३६३ मात्रा खोप दिउँसो ३ बजे काठमाडौँ आइपुगेको हो । सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो । कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले खोप काठमाडौँ आइसकेकोले अर्को हप्ता कपिलवस्तुका हैजा प्रभावित पाँचवटा पालिकाका स्थानीयवासीलाई लगाइने बताए । खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने विभिन्न अध्ययनले देखाएको उनले जानकारी दिए ।
जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु खोप लगाउने तयारीमा जुटेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जिल्ला खोप समन्वय समितिको बैठक बसी खोप अभियान सुरु गर्ने निर्णय गरिएको छ । प्रकोप फैलिएको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसी खोप लगाउने र नियन्त्रणका योजना बनाइएको छ । जिल्लामा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिका हैजा प्रभावित क्षेत्र रहेका छन् ।
ती पालिकाका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याई हैजा नियन्त्रण गर्न मङ्सिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गरिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । अन्य चार पालिकामा मङ्सिर ७ गतेदेखि खोप सञ्चालन हुने बताइएको छ । खोप अभियानमा शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी छ दिनसम्म लगातार चलाइने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS