काठमाडौं । विश्व भिगन महिनाको सन्दर्भमा काठमाडौँमा शनिवार नेपाल भिगन ग्यालरीु कार्यक्रम सम्पन्न भएको छ। पशुजन्य भोजन र उत्पादन प्रयोग नगर्ने व्यक्ति र जीवनशैलीलाई भिगन भनिन्छ। भिगनहरू मासुमात्र होइन, दहीदुध घिउ र पनिरसमेत खाँदैनन्।
वातावरण, स्वास्थ्य र पशुप्रति दयाका कारण युवामाझ भिगन जीवनशैली बढ्दो छ। काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजत सो कार्यक्रम ुकाठमाडौँ एनिमल सेभुले आयोजना गरेको हो।
पशुहिंसा रोक्न आह्वान गरिएका चित्रहरू तथा भिगन फुडस्टल र सांगितिक प्रस्तुती शनिवार आयोजित कार्यक्रममा मुख्य आकर्षण थिए। खानामध्ये गहुँ र अन्य पनस्पति स्रोतहरू प्रयोग गरेर बनाइएको सेइटान र भटमासको दुधबाट बनेको चिया सहभागीहरूले धेरै रूचाएको देखियो। झण्डै मासुजस्तै देखिने र खाँदा पनि उस्तै महसुस हुने सेइटान मासु छाड्न चाहनेहरूका लागि राम्रो विकल्प हो सेइटान। भटमासको दुध पछिल्लो समय युरोप अमेरिकामा परम्परागत गाईको-दुधको विकल्पमा रूचाइएको छ।
कार्यक्रममा भिगन व्यवसाय र जनावर अधिकारबारे प्यानल डिस्कसनसमेत रहेको थियो। जसमा भिगन कल्याण सिलवाल, सामु योन्जन र अनिश तुलाधरले आफ्ना धारणा राख्दै सहभागी तथा सर्वसाधारणले राखेका प्रश्नको उत्तर दिएका थिए।
योन्जनले आफूहरूले कमाउने भन्दा पनि पुण्य कमाउने ध्येयले भिगन खानाको व्यवसाय गरेको बताइन्। सिलवाले खाना र स्वादमा अझै निखार ल्याउन सक्दा भिगन खानाप्रति मान्छेको रूची झनै बढ्ने बताए। तुलाधरले आफूले खानाको व्यवसायलाई जीवनशैलीसँग जोडेको बताउँदै विशुद्ध अहिंसा र सेवाभावले संचालन गरेको बताए।
कार्यक्रममा पूर्व तुम्बाको लब्रेकुटीमा शाकाहारी कुकुर कविता संग्रह र घनश्याम खड्काको सेल्फहेल्प पुस्तक आनन्द संहिता वाचन कार्यक्रम पनि थियो।
काठमाडौँ एनिमल सेभकी शोभा भुजेलले गत सालभन्दा यो कार्यक्रम बढी प्रभावकारी भएको बताइन्। पशु व्यवसायमा जनावरमाथि हुने अन्याय र अपराधका कारण नयाँ पुस्ताहरू भिगन जीवनशैली अपनाउन थालेका छन्। खासगरी नयाँ पुस्ताले प्रेरणा पाउन् भनेर नै यो कार्यक्रम गरिएको हो।
विशुद्ध शाकाहारी भोजन र अहिंसाको प्रवर्द्धनको लागि कार्यक्रममा ओम्निभोर जीवन अपनाउनेहरूले पनि चाख दिएर अवलोकन गरेका थिए। तिनैमध्ये काठमाडौँ कोटेश्वरकी सुस्मिता लामाले भनिन्, पशुमाथि अत्याचार भइरहेको छ। यो ठीक छैन। यहाँका चित्र र कुरा सुनेपछि मेरो मन भारी भयो। म अब मासु खान्न होला।
काठमाडौँ एनिमल सेभले वर्षैभरी विभिन्न कार्यक्रम गर्दै पशुअधिकार, अहिसा र भिगन जीवनशैलीको प्रवर्द्धन गर्ने गरेको छ।
FACEBOOK COMMENTS