काठमाडौं । अरबपति लगानीकर्ता वारेन बफेटले बर्कशायर ह्याथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उनले सन् २०२५ अन्तमा सो पद छाड्ने घोषणा गरेका हुन् ।
९४ वर्षीय बफेटले कम्पनीको वार्षिक बैठकमा उपाध्यक्ष ग्रेग एबललाई कम्पनीको नेतृत्व सुम्पने बताए ।
उनले भने, ‘मलाई लाग्छ, त्यो समय आइसकेको छ कि ग्रेग यस वर्षको अन्त्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नुपर्छ ।’
बफेटले बर्कशायर ह्याथवेलाई एक समयमा असफल हुँदै गरेको टेक्सटाइल कम्पनीबाट ठूलो लगानी कम्पनीमा परिणत गरेका गरेका थिए, जसको वर्तमान मूल्य लगभग १.१६ ट्रिलियन डलर (करिब ८७० अर्ब पाउण्ड) छ ।
उनलाई विश्वको सबैभन्दा सफल लगानीकर्ता मानिन्छ ।
बर्कशायर ह्याथवेसँग ६० भन्दा बढी कम्पनीहरू छन्, जसमा बीमा कम्पनी गेको, ब्याट्री निर्माता ड्युरासेल र डेरी क्वीन जस्ता धेरै रेस्टुरेन्टहरू समावेश छन् ।
यसबाहेक, एप्पल, कोकाकोला, बैंक अफ अमेरिका र अमेरिकन एक्सप्रेस जस्ता कम्पनीहरूमा पनि यसको ठूलो हिस्सेदारी छ।
ब्लूमबर्गका अनुसार गत महिना वारेन बफेट विश्वका चौथो धनी व्यक्ति थिए, उनको कुल सम्पत्ति १५४ अर्ब डलर छ ।
एपलका सीईओ टिम कुकले पनि बफेटको सेवानिवृत्तिबारे सामाजिक सञ्जाल एक्समा पोष्ट गरेका छन् ।
उनले लेखेका छन्, ‘वारेन जस्तो कोही छैन र उनको बुद्धिमत्ताबाट धेरै प्रेरित भएका व्यक्तिहरूमध्ये म पनि एक हुँ ।’
FACEBOOK COMMENTS