काठमाडौँ । हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आङ्कलन गरिएको थियो ।
एक महिनाको अवधिमा भुईँ भिज्ने गरी वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान समुदायमा पनि चिन्ता थपिएको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार वर्षाका लागि सक्रिय प्रणाली भित्रिन नसक्दा नेपालमा हिउँदे वर्षामा ढिलाइ भएको हो ।
एक महिनामा जति पनि पश्चिमी वायु नेपाल नभित्रिएर मौसम राम्रो नभएको उहाँ औँल्याउँछन् । उनले भने, “राम्रो प्रणाली आइदिएको भए आकाशमा जमेका प्रदूषित वायु तथा तुवाँलो हटेर वर्षाका लागि वातावरण बन्थ्यो ।”
एक महिनासम्म वर्षा नहुँदा पनि हिउँदमा औसतभन्दा बढी वर्षाको सम्भावनामा कुनै असर नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।