काठमाडौँ । आज वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै देशभर जनचेतनामूलक कार्यक्रम आयोजना गरेर मनाइदै छ ।
संयुक्त राष्ट्रसङ्घबाट अप्रिल १५ लाई अन्तर्राष्ट्रिय वेलनेस (आरोग्य) दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेसँगै पहिलो पटक अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन लागिएको हो । नेपालको प्रस्तावमा राष्ट्र संघले गत मार्चमा यो प्रस्ताव पारित गरेको थियो ।
सोही अनुसार नेपालमा पनि यस दिनलाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा मनाइँदैछ । आरोग्य दिवसको मुख्य उद्देश्य नागरिकमा स्वस्थ जीवन शैलीबारे जनचेतना फैलाउने रहेको छ ।
यस अवसरमा सङ्घ, प्रदेश तथा स्थानीय तहले विभिन्न कार्यक्रम गर्न लागेका छन् । स्वस्थ जीवनयापन, निरोगी रहन अपनाउनुपर्ने बानी व्यवहार तथा स्वास्थ्य शिक्षासम्बन्धी विषयमा जनचेतना फैलाउने उद्देश्यले देशभर कार्यक्रम गरेर यो दिवस मनाउने तयारी गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।
यो दिवसले स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायलाई प्रेरित गर्ने विश्वास लिइएको छ । यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलन गर्ने सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ ।

स्वस्थ जीवन शैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायले प्रेरित यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलनसहितको समग्र कल्याणका रूपमा बुझ्नुपर्ने सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ ।
