काठमाडौं । चिकित्सकहरूले आज बिहानदेखि सबै अस्पतालका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक सङ्घ, कार्यकारिणी समितिको आकस्मिक निर्णय भन्दै उनीहरू इमर्जेन्सी सेवाबाहेक सबै सेवा स्थगन गरेर आन्दोलनमा उत्रिएका छन् ।
हालको विषम परिस्थितिमा चिकित्सकहरूलाई निरुत्साहित पार्ने काम भएको, असुरक्षित वातावरण सिर्जना गरिएको ठहर गर्दै नेपाल चिकित्सक सङ्घले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
सङ्घले स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने र आगामी असार २४ गते मङ्गलबार मेडिकल काउन्सिलमा प्रमाणपत्र बुझाउने लगायतका कार्यक्रम तय गरेको छ । त्यस्तै, सङ्घले चिकित्सकहरूलाई हतोत्साहित पारिएको र असुरक्षाको वातावरण सिर्जना गर्ने कार्य भएको निष्कर्ष निकाल्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाइएको थियो भने हिजो सबै अस्पतालमा चिकित्सकहरूले एक घण्टा धर्ना दिएका थिए ।
उपभोक्ता अदालतका कारण मेडिकल क्षेत्र थप असुरक्षित भएको ठहरसहित सङ्घको शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले आन्दोलनको कार्यक्रम तय गरेको थियो ।
आन्दोलनमा एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएशन, नेपाल भेटेरिनरी एसोसिएशन, एनभीएमआईए, एनपीएचओले ऐक्यबद्धता जनाएका छन् ।
FACEBOOK COMMENTS