काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहितको वर्षा भएको छ । केहीबेरअघि हावाहुरीसहित वर्षा भएको हो । ५ बजे नै अध्यारो भएको छ ।
जल तथा मौसम विज्ञान विभागले हावाहुरीसम्बन्धी विशेष चेतावनी जारी गर्दै आज देशका विभिन्न क्षेत्रमा उच्च गतिका हावाहुरी चल्ने चेतावनी दिएको थियो ।
हावाहुरी आज अपराह्न ४:०० बजेदेखि भोलि बिहीबार बिहान ६:४५ रहेको विभागले जनाएको छ ।
विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
कञ्चनपुर, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा, मोरङलगायतका जिल्लामा यसको प्रभाव पर्ने सम्भावना औँल्याइएको छ ।
विभागका मौसमविद् सञ्जिव अधिकारीले हावाहुरी बुधबार अपराह्नदेखि सुरु भई बिहीबार बिहानसम्म जारी रहन सक्ने बताए ।
