काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूविरुद्ध कसैले पनि दावी बिरोधको उजुरी गरेका छैनन् ।
महासंघको निर्वाचन समितिको कार्यालयले उम्मेदवारहरूको तेस्रो चरणको सूची सार्वजनिक गर्दै कोही उम्मेदवारविरुद्ध कसैले दाबी बिरोधस्वरुप उजुरबाजुर नगरेको जानकारी दिएको हो । प्रकाशित सूचीमा अधिकांशको नामको क्रमसङ्ख्या तलमाथि पारिएको छ ।
तेस्रो सूची अनुसार महासंघमा निर्वाचित भएर नेतृत्वमा पुग्ने ७३ पदका लागि कूल १४१ जना चुनावी मैदानमा छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाल र भावी अध्यक्ष तथा वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छुट्टा–छुट्टै समूह निर्माण गरी प्रतिस्पर्धामा उतारेका छन् ।
तेस्रो सूची प्रकाशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि वैशाख १८ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समय छुट्टयाइएको छ । सोही दिन साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने कार्यसूची रहेको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए ।
महासंघको ६०औँ साधारण सभा तथा निर्वाचन आगामी २१ र २२ गते हुँदैछ । महासंघका अनुसार साधारण सभा उद्घाटन ललितपुरको ग्वार्कोस्थित होटेल टुलिपमा र निर्वाचन कार्यक्रम काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुने भएको छ ।
