काठमाडौँ । नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाहरुले एउटै मत राखेका छन् । काठमाडौँ महानगरपालिकाको सभा कक्षमा आयोजित सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधि बिचको छलफलमा यस्तो साझा स्वर आएको हो ।
‘हरेक शुभकार्यसँग जोडिएको यमरीको महत्व र पहिचानलाई राष्ट्रियकरण गर्दै अभौतिक युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तरराष्ट्रियकरणको प्रक्रिया हो । यसले नेपालकै पहिचान वृद्धि हुन्छ ।’ छलफलमा समितिका संयोजक आशामान संगतले भने, ‘यमरी बनाउने परम्परा खाद्य परिकार मात्र होइन । यसले प्रकृति, कृषि पेशा, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँग गहिरो सम्बन्ध राख्छ ।
यमरीसँगै अनगिन्ती अभौतिक सम्पदामा सूचीकृत गर्नुपर्नेछ । यसले सम्पदाको एकीकृत विकासमा टेवा दिन्छ ।’ समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको उनको भनाइ थियो ।
त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, सूचीकृत हुने प्रक्रियालाई निर्धारित समयभित्रै सक्नु पर्नेमा जोड दिए । ‘महानगरपालिकाका पुराना सहरी क्षेत्रका चोक चोकमा, गुठीगुठीमा, हरेक संस्कार र परम्परामा अमूर्त सम्पदा छन् ।’ उनले, यस्ता सम्पदाको गरिमा प्रवर्धनमा सबै मिलेर काम गर्नु पर्ने बताए ।
यमरीको गरिमालाई स्थानीय स्तरमा पनि प्रवर्धन गर्नुपर्ने, परम्परागत जोगाउन अभिमुखीकरण र प्रशिक्षण सञ्चालन गरिनुपर्ने महर्जनको भनाइ थियो ।

यस्ता छलफल र अन्तरक्रियालाई नियमितता दिइने, त्यस्ता कार्यक्रममा समुदायका अगुवाहरुको सुझाव र प्रतिक्रियालाई ग्रहण गरिने सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको भनाइ छ ।

छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लव, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार (पूँ) समाज, केन्द्रीय मानन्धर संघ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, कसाः तध गुथि, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास संघ, द्योला समाज संघ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजका पदाधिकारी तथा प्रतिनिधिहरुले धारणा राखे ।

सांस्कृतिक सम्पदाहरुको संवाहकका रुपमा रहेको भाषा, साहित्य, मौखिक परम्प्रा तथा अभिव्यक्ति अभौतिक सम्पदा हो । युनेस्कोका अभौतिक सम्पदा विज्ञ डा मोनालिसा महर्जन भनिन्, अभिनय कला, सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव, प्रकृति र व्रह्माण्डसँग सम्बन्धित ज्ञान र व्यवहार तथा परम्परागत कला कौशल अभौतिक सम्पदा हुन् ।’

अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धी २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो । यसअन्तर्गत आफ्नो देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाहरुको सूची तयार पार्नु, अनुसन्धान गर्नु, सुरक्षा, संरक्षण र प्रवर्धन तथा परम्परालाई निरन्तरता दिनु यसअन्तर्गतका महत्वपूर्ण कामहरु हुन् ।

के हो यमरी ?
यमरी नेवारी खाद्यबस्तुमा बफ्याएर खाइने एकमात्र खाद्य बस्तु हो । प्रत्येक बर्ष फलेको धान थन्क्याएपछि त्यसबर्षको अन्नको पहिलो परिकार नै यमरी बनाउने चलन रहेको छ । यमरी बनाउन चामललाई ठिक्क पानी राखेर पिठो मुसिन्छ । त्यसमा राख्नका लागि तिल र चाकुसमेत तयार पारिन्छ । अहिले कुराउनी पनि राख्न थालिएको छ ।
पिठोको डल्लोलाई क्रमश एकातर्फ चुच्चो बनाउँदै लगेर एकातर्फ अंशोराको पिधँ र अर्कोतर्फ चुच्चो आकार बनाइन्छ । चोरी औलाको सहयोगमा एकातर्फबाट पिठोको डल्लोमा पारेको प्वालमा चाकु वा अन्य स्वाद अनुसारको खाद्यबस्तु राखी मुख बन्द गरिन्छ । त्यसपछि वाफमा पकाइन्छ । हातैले बनाइने यमरी बनाउन निकै समय लाग्छ । यसलाई बफ्याउनकालागि विशेष प्रकारको भाँडोको प्रयोग गरिन्छ ।
बर्षभरि खानकालागि प्रमुख अन्न धान भित्र्याएपछि त्यो धान कुटेर बनाइएको चामलबाट तयार पारिएको यमरी अर्थात् मन परेको रोटी तयार गरी यस दिनमा देवी देवतालाई चढाउने, आफू र आफन्तलाई खुवाउने चलन रहेको छ । ज्यापूहरुको परम्परागत पेशा किसान रहेको र किसानले उत्पादन गरेको अन्न पहिलो पटक देवतालाई चढाएपछि मात्र मानिस आफूले प्रयोग गर्ने परम्पराको निरन्तरतालाई यो पर्वको मौलिकतासँग जोडेर हेर्ने गरिएको छ । अन्न फलाउन सन्तुलित प्राकृतिक वातावरण आवश्यक पर्ने भएकोले यसलाई प्रकृतिसँग पनि जोडिएको हो ।
FACEBOOK COMMENTS