काठमाडौं,फागुन ७ -आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । क्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ। प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए। प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।
प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गर्न आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ।
काठमाडौं उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्तगरेकी छिन् । उनले देशको आर्थिक–सामाजिक रुपान्तरण नेपाली नागरिकको चाहना भएको र नागरिकका ती चाहना सम्बोधन गर्न यो दिनले प्रेरित गर्ने बताइन् ।

यस्तै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् ।
