काठमाडौँ । आज (मङ्गलबार) देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धान उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ । यसै सन्दर्भमा हामीले नेपालको धानको उत्पादन, माग र आत्मनिर्भरताको स्थितिबारे प्रदेशगत खोज गरेका छौँ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार छ हजार मेट्रिक टन धान थप उत्पादन भयो भने नेपालमा धानमा आत्मनिर्भर हुन्छ । २०७६÷७७ मा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ ।
नेपालीलाई एक करोड १२ लाख मेट्रिक टन खाद्यान्न चाहिन्छ । यी सबै नेपाली उत्पादनले पुग्ने गरेको छ तर धानमा केही अपुग भइरहेकाले धानमा आत्मनिर्भर हुन नसकेको हो । आत्मनिर्भर हुन सक्नुमा मुख्य कारण ऐन कानुन नै रहेको प्रवक्ता घिमिरेले बताउनुभयो । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ ।
प्रदेश १ धानमा आत्मनिर्भर रहेको छ । यो प्रदेश आत्मनिर्भर मात्र होइन, वार्षिक तीन लाख मेट्रिक टन अन्य प्रदेशलाई पनि पठाउँछ । यो प्रदेशलाई करिब १० लाख मेट्रिक टन धान भए पुग्छ जब कि यसको उत्पादन १३ लाख मेट्रिक टनभन्दा बढी छ । यो प्रदेशका तराईका तीन जिल्लाको तीन लाख ४० हजार हेक्टर क्षेत्रफललाई धान खेतीयोग्य मानिन्छ ।
तीन लाख २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । अनुकूल मौसम, उन्नत बीउ तथा मल, सिँचाइयोग्य जमिनको सहज प्रबन्धका कारण बर्सेनि उत्पादकत्व भने बढ्दै गएको छ । प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीका अनुसार पछिल्लो १० वर्षमा धान खेतीयोग्य २५ हजार हेक्टर क्षेत्रफल जमिन घटेको छ । यद्यपि अनुकूल मौसमका कारण गत वर्ष समयमै धान रोपिएका कारण २०७६÷७७ को तुलनामा २०७७÷७८ मा दुई हजार ६२५ हेक्टर थप क्षेत्रफलमा धान रोपाइँ भएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS