शिवराज गौतम
दोहा- कतारको आइओएस प्राप्त एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत आठजना नेपाली कामदारहरुलाई कम्पनी प्रमुख आसर अल अलीले जनही पन्ध्र हजार रियालको दरले एकलाख बीस हजार रियाल इनाम स्वरुप प्रदान गरेका छन् । जनही १५ हजार रियल नगद इनाम पाउने नेपालीहरुमा र्इलामका पोष्टबहादुर गुरुङ, हरि माधव प्रसाद मण्डल, कृष्णराज शर्मा, पाल्पाका बलबहादुर चाहारे, रामु सादा, अर्घाखाँचीका हरीबहादुर घर्ती मगर, रुपन्देहीका धनबहादुर गुरुङ र अर्घाखाँचीका गुणखर नेपाली छन् । २००८ मा कार्पेन्टरमा आएका इलामका पोष्टबहादुर गुरुङ स्काफोल्डीङ तालिम लिइसकेपछि अहिले सोही कम्पनीमा दक्ष स्काफोल्डर भर्इसकेका छन् । आफुले मेहनतको साथ आर्जन गरेको रकमले उनले शहरमा घरघडेरी समेत जोडीसकेका छन् ।
२००८ मा मेसनमा आएका सप्तरीका हरी माधवप्रसाद मण्डल सोही कम्पनीमा अहिले सवै प्रकारको ट्रेडको काम गर्न सक्ने भर्इसकेका छन् । कृष्णराज शर्मा २००९ मा सोही कम्पनीमा आएका थिए । मेसनमा आएका शर्मा अहिले सवै प्रकारको ट्रेडको काम गर्न सक्छन् । उनले पनि सोही कम्पनीमा काम गरेर नै आफनो परिवारको लागि राम्रो आर्थिक स्रोत जोहो गरिसकेका छन् । हेल्परमा आएका पाल्पाका बलबहादुर चाहारे अहिले सिभिल फोरमेनमा पदोन्नती भइसकेका छन् । रामु सादा २००८ मा सो कम्पनीमा आएका थिए उनले घरजग्गा जोड्नको साथै आफनो आर्थिक स्रोतमा सुधार गर्न सकेका छन् भने अब आफुले पाएको सो इनाम रकमले जग्गा जोड्ने मनशुवा रहेको सुनाए ।२००८ मै आएका अर्घाखाँचीका हरीबहादुर घर्ती मगर पनि अहिले पदोन्नती भएर सोही कम्पनीमा सिभिल फोरमेन भइसकेका छन् ।२००९ मा आएका रुपन्देहीका धनबहादुर गुरुङ अहिले सोही कम्पनीमा दक्ष कामदारमा गनिन थालेका छन् । उनी ट्रेडको जस्तोसुकै काम गर्न खप्पीस भर्इसकेका छन् ।
अर्घाखाँचीबाट २००८ मा आएका गुणखर नेपालीले पनि सोही कम्पनीमा काम गरेर आर्थिक सुधार राम्ररी गर्न सकेका छन् भने उनी राम्रो काम गरेवापत् अहिले सोही कम्पनीमा सिभिल फोरमेनमा बढुवा पाएका छन् । आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले स्टाफहरुलाई सदैव मित्रवत् व्यवहार गर्ने गरेको ती आठजना नेपाली कामदारहरुले बताए ।कम्पनी प्रमुख नासर अल अलीले आफुले बोसको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले अफिस संचालनमा कुनै समस्या नभएको बताए ।
यसै गरी १० जना अन्य र्इमान्दार स्टाफहरु मोहम्मद कविरुल इस्लाम, गुमाना राम विरमा राम, सोरीफुल मोहम्मद पन्जाव, मोहम्मद फिरोज फकिर, मोहम्मद जोनांगीर, मोहम्मद सामिनुल इस्लाम, सासुल रोवियुल, नासिर उद्दीन, मोहम्मद मोलाक मिया र किरण मियालाई कम्पनी प्रमुख नासर अल अलीले जनही १ हजार रियल इनाम प्रदान गरेका थिए । अलीले अन्य ५ जना स्टाफहरुलाई पनि इमान्दारीपुर्वक काम गरेवापत् ५ र ५ ग्रामको सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका थिए ।
नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउन समयसमयमा कम्पनीमा कार्यरत स्टाफहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि पुरस्कार दैदै आर्इराखेका छन् ।
FACEBOOK COMMENTS