काठमाण्डौँ — तनहुँ हाइड्रोले ठेक्का तोडेपछि इटालियन कम्पनी सीएमसीले कार्यसम्पादन जमानत (बैंक ग्यारेन्टी) बापतको २ अर्ब रकम रोक्का गर्न इटाली अदालतमा मुद्दा दायर गरेको छ ।
कम्पनीको मुद्दाको सुनुवाइ गर्दै इटालीको अदालतले इन्भेस्टमेन्ट बैंकलाई बैंक ग्यारेन्टीबापतको रकम तत्काल नदिन इटालीको बैंक इन्टेसा सान पाओलोलाई आदेश दिएको छ ।
इन्टेसा सान पाओलोको अनुरोधमा इन्भेस्टमेन्ट बैंकले सीएमसीलाई बैंक ग्यारेन्टी दिएको थियो ।
१४० मेगावाट क्षमताको तनहुँ हाइड्रोको हेडवर्क्स (नदी फर्काउने र बाँधसहितका संरचना) निर्माण गर्न सीएमसीले २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँको ठेक्का पाएको थियो ।
१५ असोजमा गरिएको ठेक्का सम्झौताअनुसार काम सुरु नगरेको भन्दै आयोजनाले फागुन २३ मा सीएमसीसँग सम्झौता तोडेको थियो ।
आयोजना र सीएमसीबीच भएको सम्झौतामा २८ दिनभित्र आयोजनास्थलमा काम सुरु गर्ने प्रावधान छ ।
सम्झौताअनुसार कम्पनी आयोजनास्थल नपुगेपछि आयोजना कार्यालयले फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना जारी गरेको थियो ।
दुई साताको म्याद दिएर सूचना जारी गरिए पनि सीएमसीको आधिकारिक जवाफ नआएको भन्दै आयोजनाले ठेक्का तोडेको हो । सीएमसीसँग ठेक्का तोडेको आयोजनाले अर्को बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ ।
ठेक्काको लागि सीएमसीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार यूरोको कार्यसम्पादन जमानत जारी गराएको थियो ।
सीएमसीसँग ठेक्का सम्झौता तोडेलगत्तै इन्भेस्टमेन्ट बैंकले जारी गरेको बैंक ग्यारेन्टी रकम तनहुँ हाइड्रोपावर लिमिटेडले लिइसकेको छ ।
ठेक्का सम्झौताको १० प्रतिशत रकम ठेकेदारले बैंक ग्यारेन्टीबापत राख्नुपर्छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS