काठमाडौं, मंसिर २२ – सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा चिसोपना देखिएको छ । केन्द्रीय सचिवालय बैठकमा उनीहरुले पेस गरेको राजनीतिक प्रस्तावमा एकअर्काको राजनीतिक चरित्र खुइल्याइएको छ । चमात्कारिक र आश्चर्यजनक रुपमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्दै सरकारको नेतृत्व गरेको नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीचको सम्बन्ध अहिले टकरावपूर्ण छ ।
तर, उनीहरुबीचको सम्बन्ध कहिल्यै एकनासको छैन । कहिले सुमधुर त कहिले पानी बाराबार रहँदै आएको छ । कुनै एक स्वार्थमा अंकमाल गर्ने उनीहरु एकअर्कालाई बाँदर र पागलको संज्ञा दिन पनि पछि परेनन् ।
सशस्त्र युद्धकालमा होस् वा माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि किन नहोस् ओली सधैँ प्रचण्डको कटुआलोचक रहँदै आए । तर, माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनीहरुबीच देखिएको कटुतापूर्ण र सुमधुर सम्बन्धले मुलुकको राजनीतिमा तरङ्ग ल्याउने काम गरिरह्यो । ओली र प्रचण्डबीचको उतारचढावपूर्ण सम्बन्धले स्थायी शत्रु र मित्र नहुने राजनीतिको आख्यानलाई चरितार्थ गरिरहेको छ ।
तत्कालीन नेकपा एमालेका नेतालाई प्रधानमन्त्री बनाउने जस प्रचण्डले पाउँदै आएका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल र ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको ठूलो भूमिका मानिँदै आएको छ । तर, पनि प्रचण्ड र ओलीको सम्बन्ध एकनासे हुन सकेन ।
माओवादी सशस्त्र युद्ध छाडेर शान्ति प्रक्रिया हुँदै संसदमा छिर्यो । २०६४ चैत २८ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । जसबाट तत्कालीन नेकपा माओवादी पहिलो ठूलो दलको रुपमा संविधान सभा र व्यवस्थापिका संसदमा पुग्यो । कांग्रेस दोस्रो र एमाले तेस्रो दलको रुपमा संविधान सभामा प्रतिनिधित्व जनाए । तर, प्रचण्ड सत्तामा पुग्दा ओली झापामा पराजित भए । सो खबत प्रचण्डको कट्टर आलोचकको रुपमा आफूलाई ओलीले दर्ज गराए ।
तत्कालीन माओवादीको युवा संगठन वाइसीएललाई तह लगाउन ओलीले युथ फोर्सलाई जगाउँदै सक्रिय बनाए । माओवादीविरुद्ध तिखा शब्द वाण प्रहार गर्न खप्पिस ओलीले वाकयुद्धमा माओवादीलाई कडा चुनौती दिइरहे । तर, यही बेला पहिलो संविधान सभा आफ्नो कार्यभार पूरा नगरी २०६९ जेठ १५ मा अवसान भएपछि २०७० मंसिर ४ गते पुनः दोस्रो संविधानसभाको निर्वाचन भयो । जसबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो दलको रुपमा संविधान सभामा प्रतिनिधित्व गरे । दोस्रो संविधानसभाको निर्वाचन परीणामले माओवादीको साख गिराएको प्रष्ट्यायो ।
पहिलो संविधानसभामा जस्तै दोस्रो कार्यकालमा पनि नेताहरुबीचको टकराव बढिरह्यो । नेताहरु संविधान निर्माणका बाधकको रुपमा एकअर्कालाई दोषारोपण गरिरहेका थिए । सोही क्रममा साना दलहरुलाई समेटेर मोर्चा बनाउँदै माओवादीले सरकार विरोधी कार्यक्रम गरिरहेको थियो । २०७१ माघमा माओवादीको आन्दोलनलाई लक्षित गरेर ओलीले १० अर्ब रुपैयाँ दिए आन्दोलन स्थगित हुने अभिव्यक्ति दिए । जसको कडा आलोचनामात्रै भएन मोर्चाले ओलीलाई मानसिक रोगीको आरोप लगायो ।
ओलीको अभिव्यक्तिपछि बसेको मोर्चाको बैठकको निर्णयमा लेखिएको थियो, ‘ उहाँ (ओली)को अभिव्यक्तिले उहाँ शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछ।‘
यसपछि ओली–प्रचण्डबीचको दूरी झनै बढ्यो । सार्वजनिक मञ्च र बैठकमा ओली र प्रचण्ड एकअर्काविरुद्ध अभिव्यक्ति दिइरहे । सोही क्रममा बालुवाटारको एक बैठकमा माओवादीले जातीय मुद्दा निकालेर देशलाई रुवाण्डा बनाउन लागेको आरोप ओलीले लगाए । त्यसपछि प्रचण्डले बैठक छाडेर बाहिरिएका थिए।
यसको भोलिपल्ट संसदमा ओलीलाई जवाफ दिँदै प्रचण्डले आफूलाई राजा र अरूलाई रैती नठान्न चेतावनी पनि दिए । ओली–प्रचण्डबीच आरोप–प्रत्यारोपको श्रृंखला चलिरह्यो । २०७१ माघमा बसेको संसद् बैठकमा ओलीले प्रचण्डलाई लक्षित गर्दै माओवादीलाई बाँदरको संज्ञा दिए । उनले नेपालभाषा (नेवारी)मार्फत माओवादीलाई बाँदरको संज्ञा दिएका थिए । ओलीले भनेका थिए, ‘ धेरै नचाहिने कुरा गर्यो भने ‘माकः फूँइ’ भन्छ। कुनै ‘माकः फूँइ’सँग एमाले डराउनेवाला छैन।’ नेपाल भाषामा बाँदरलाई ’माकः’ भनिन्छ।
ओली–प्रचण्डको आरोप प्रत्यारोप र संविधान निर्माणको सकसपूर्ण समय गुज्रिरहँदा मुलुकमा २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गयो । मुलुकलाई धुजाधुजा बनाएको भूकम्पले नेताहरुलाई एक ठाउँमा ल्याउन सहयोग गर्यो । मधेशबाट प्रतिनिधित्व गर्ने दलको असहमतिकाबीच २०७२ असोज ३ गते संविधान जारी भयो । भूकम्पपछि र संविधान जारी गर्ने बखत ओली र प्रचण्डबीचको सम्बन्ध सुध्रिन थाल्यो ।
संविधान जारी गर्दा र भारतले लगाएको नाकाबन्दीविरुद्ध उत्रन ओलीलाई प्रचण्डले सहयोग मात्रै गरेनन् प्रधानमन्त्री बनाउन संसदमा प्रस्तावसमेत गरेका हुन् । ओली र प्रचण्डले एउटै मञ्चबाट भारतीय नाकाबन्दीविरुद्ध आवाज उठाए, जसले जनसमर्थन प्राप्त गर्यो ।
संविधान जारी गर्दा बखतको सहमतिविपरीत कांग्रेसले ओलीलाई प्रधानमन्त्री बनाउन चाहेन । प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्री उम्मेदवार बने । कांग्रेसका उम्मेद्वार सुशील कोइरालालाई हराएर ओली पहिलोपटक प्रधानमन्त्री बने ।
प्रचण्डको प्रस्तावमा २०७२ असोज २४ गते ओली पहिलोपटक प्रधानमन्त्री बनेका हुन् । तर, यो सुमधुर सम्बन्ध धेरै दिन टिकेन । आफैंँले अविश्वासको प्रस्ताव दर्ता गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाएका प्रचण्ड कांग्रेसको सहयोगमा दोस्रोपटक प्रधानमन्त्री बने ।
अविश्वासको प्रस्ताव दर्ता गरेपछि २०७३ साउन ७ गते बसेको संसद बैठकमा प्रचण्डले गरेको एक घण्टा लामो सम्बोधनमा अधिकांश समय ओलीको आलोचनामा खर्चिए । सोही क्रममा प्रचण्डले ओलीलाई संघीयता विरोधी आरोप लगाए ।
प्रचण्डको आरोपबारे ओलीले पनि जवाफ थिए । २०७३ साउन ९ गते प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भने, ‘म राजतन्त्रसँग लडाइँ गरेर जेलमा पर्दा कापी कलम बोकेर कुन स्कुलमा कुद्दै हुनुहुन्थ्यो?’
ओलीसँग सम्बन्ध बिगारेर देउवाको साहरामा प्रधानमन्त्री बनेका प्रचण्डले स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि २०७३ जेठमा देउवालाई सत्ता हस्तान्तरण गरे । देउवा २०७४ जेठ २३ मा प्रधानमन्त्री भए। तर, देउवा प्रधानमन्त्री बनेपछि प्रचण्डको सम्बन्ध ओलीसँग सुमधुर हुन थाल्यो । स्थानीय तहमा आएको परीणामले प्रादेशिक तथा प्रतिनिधि र राष्ट्रिय सभाको सम्भावित परीणमबारे आंकलन गरेर प्रचण्डले ओलीसँग सम्बन्ध सुधार्न थाले । स्थानीय तहमा तत्कालीन नेकपा एमालेले बढी स्थानमा विजयी हासिल गरेको थियो । ओलीको राष्ट्रवादी छविका कारण एमालेलाई जनमत प्राप्त भएको थियो ।
यो देखेका प्रचण्डले ओलीसँग सम्बन्ध सुधारेनन् मात्रै तत्कालीन एमाले र माओवादीबीच एकीकरण गर्ने प्रस्तावमा सहमति जनाए । २०७४ को दशैँ लगत्तै ओली र प्रचण्डले पार्टी एकीकरण गर्ने घोषणा गरे । संयुक्त चुनावी घोषणा पत्र बोकेर कांग्रेससँग प्रतिस्पर्धा गरे । पार्टी एकीकरणले औपचारिकता पाउनु अघि नै उनीहरुले सात प्रदेशमध्ये ६ प्रदेशमा र केन्द्रीय सरकारको नेतृत्व गर्ने गर्ने अवसर जनताले दिए ।
राजनीतिक स्थायित्व, मुलुकको विकास र समृद्धिलाई मूल लक्ष्य लिएको भन्दै चुनावमा होमिएको एमाले र माओवादीले दुईतिहाइ नजिक बहुमत ल्याए । सरकारको नेतृत्व ओली गर्न प्रचण्डले सहमति जनाए । २०७४ फागुन फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री बने । यसको तीन महिनापछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकीकरण भएर नेकपा गठनको औपचारिक घोषणा गर्दै ओली र प्रचण्डले आफूलाई एक जेटका दुई पाइलटको संज्ञा दिए ।
पार्टी एकीकरणपछि नेकपामा दुई अध्यक्षको व्यवस्था गरियो । दुवै अध्यक्षको सहमतिबिना कुनै निर्णय नगर्ने भनियो । ओलीले सरकार चलाइरहे । नेकपामा फेरि ओली र प्रचण्डबीच पार्टीको नेतृत्वलाई लिएर विवाद बढिरह्यो । ओलीलाई कार्यकारी अध्यक्ष बनाइयो । तर, गत फागुनदेखि नेकपामा बढेको विवाद अझै समाधान हुन सकेको छैन ।
अहिले ओली र प्रचण्डबीच पानी बराबारको अवस्था छ । प्रचण्डको प्रस्तावमाथि हुने छलफल र पार्टीको बैठकमा आफू सहभागी नहुने ओलीले पत्र पठाएर जानकारी गराएका छन् । आइतबार (मंसिर २१) बसेको स्थायी कमिटी बैठकलाई ओलीले पत्र पठाएर आफूमाथि गम्भीर आरोप लगाइएको प्रचण्डको प्रस्तावमाथि हुने छलफल र बैठकमा उपस्थित नहुने आफ्नो मान्यतामा अडिग रहेको जानकारी गराए । यता प्रचण्ड ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउनु पर्नेमा जोड दिइरहेका छन् ।
FACEBOOK COMMENTS