काठमाडौँ, असोज १ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफ्ना नियमित सेवाहरु असोज ४ गतेबाट पुन: सुचारु गर्ने भएको छ। यसअघि स्थगित गरेका सेवाहरु असोज ४ गते आइतबारदेखि सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रशासन कार्यालयले यसअघि साउन २५ देखि केही सेवाहरु स्थगित गरेको थियो। प्रशासन कार्यायले बिहीबार सूचना जारी गर्दै नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको छ ।
नागरिकता प्रमाणपत्र,नागरिकता प्रतिलिपि, नावालिग परिचयपत्र,राहदानी, हातहतियार दर्ता नवीकरण आदि सेवा लिन आइतबार काठमाडौं महानगरपालिका,सोमबार कीर्तिपुर, नागार्जुन, चन्द्रगिरी नगरपालिका, मंगलबार काठमाडौं महानगरपालिका, बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिका र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर, तारकेश्वर नगरपालिकामा तालिका मिलाइएको छ।
यस्तै पत्रपत्रिका र छापाखाना दर्ता र विधान संशोधनको काम शुक्रबार मात्रै हुने सूचनामा उल्लेख छ । संघसंस्थाको प्रतिलिपि पत्रचारसम्बन्धी सेवा भने प्रत्येक दिनको ४ बजेपछि गरिनेछ।
FACEBOOK COMMENTS