काठमाण्डौँ — दोलखाको कुरी बजारदेखि कालिञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ ।
मुलुककै तेस्रो केबुलकारका रुपमा कालिञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो ।
दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ ।
धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालिञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको कालिञ्चोक दर्शन प्रालिका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले बताए ।
दशैँलगत्तै स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुगेपछि मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए ।
— अन्नपूर्ण
FACEBOOK COMMENTS