काठमाडौं, पुस २३ – नेकपाका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै बिडारीले संविधानको व्यवस्थालाई कुल्चेर प्रधानमन्त्रीले संसद् विघटन गरेको आरोप लगाएका हुन्।
उनले संविधानको मस्यौदा कार्यदल र संविधान लेखनका लागि बनेको विज्ञ समूहमा पनि आफू रहेको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई गम्भीर प्रश्न गरे। ‘संविधान मस्यौदा गर्दा मस्यौदा कार्यदल बनाएको थियो। १५ जनाको म पनि एक सदस्य थिएँ। पाँच जनाका विज्ञ टोली बनाएको थियो कृष्ण सिटौलाको संयोजकत्वमा त्यसमा पनि थिएँ। केपी ओली निरन्तर आउनु भएको थियो। सुवास नेम्वाङ पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यहाँ भएको टेप रेकर्ड यहाँ बजाइयोस् हामीले कति नालायक काम गरेछौँ थाहा हुन्छ।’
उनले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्था नभएको पनि बताए। ‘प्रधानमन्त्रीको सनकमा विघटन हुन सक्दैन लेखिएको छ,’ उनले भने। सरकारी तबरबाट भ्रष्टाचार मौलाइरहेको उनको निष्कर्ष छ। बिडारीले एम्नेष्टिइन्टरनेशनलको रिपोर्ट इंकित गर्दै सरकारी तवरबाटै भ्रष्टाचारीलाई जोगाउने काम भएको बताए।
‘हुँदा खाँदाको बहुमतको सरकारलाई पार्टीविरुद्ध, आफैँले सही गरेको संविधानविरुद्ध, जुँगा मुसार्दै देखिस् त कसरी विघटन हुने रहेछ भनेर देखाइयो,’ उनले भने, ‘म दलको बैठकमा आउँदिनँ, निर्णय मान्दिनँ, संविधान मान्दिनँ भन्दै काम कसले गर्याे ?’
FACEBOOK COMMENTS