काठमाडौं, कार्तिक २५ – अस्पताल प्रशासनबाट माग सम्बोधन नभएपछि वीर अस्पतालका आन्दोलित कर्मचारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन्।
स्वास्थ्य राज्यमन्त्री नवराज राउतलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले चार बुँदे माग अघि सारेका छन्। आन्दोलन थालेको डेढ महिना भइसक्दा पनि मागहरु सम्बोधन नभएपछि मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए। ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री राउतले जतिसक्दो छिटो माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
जोखिममा काम गरेवापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलब भत्ता, औषधि खरिद खर्च, दसैं खर्च लगायत यसअघि पाउँदै आएको सुविधा भुक्तानी गर्न माग गरेका छन्।
प्रतिष्ठान सेवातर्फका कर्मचारी, स्वास्थ्यकर्मीको अवकाशपछि प्राप्त हुने सेवासुविधा र मासिक तलबभत्ता सम्बन्धमा सरकार उत्तरदायी हुनुपर्ने लगायत माग अघि सारेका छन्। उनीहरुले कात्तिक २८ गतेसम्म अस्पताल परिसरमा ब्यानर, प्लेकार्ड तथा कालोपट्टी सहित धर्ना, पदाधिकारी विरुद्ध नाराजुलुस गर्दै पोस्टर र पम्पलेट टाँस्ने कार्यक्रम गरिरहेका छन्।
कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नपाएको भन्दै उनीहरु कात्तिक ३ गतेदेखि आन्दोलनमा छन्। कोभिड उपचारका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने ग्लोब्स, मास्क, सेनिटाइजर, भाइजर, चश्मा, पिपिई लगायत स्वास्थ्य सुरक्षाका सामग्रीहरु आफैं खरिद गर्नु परेको उनीहरुको गुनासो छ।
FACEBOOK COMMENTS