काठमाडौं,माघ ९ -बेलायतको चर्चित पत्रिका ‘द इकोनोमिस्ट’ को वार्षिक ‘डेमोक्रेसी इण्डेक्स’ प्रजातन्त्रको सूचकाङ्कमा नेपालले पाँच स्थान सुधार गरेको छ । बुधबार जारी गरेको सूचकाङ्कमा नेपाल पाँच स्थान सुधार गर्दै ९२ औं स्थानमा परेको छ । यसअघि सन् २०१८ मा नेपाल ९७ औँ स्थानमा थियो ।
बेलायतको चर्चित प्रकाशन समूह ‘द इकोनोमिस्ट समूह’ ले आफ्नो अनुसन्धान विभाग ‘द इन्टेलिजेन्स युनिट’ को मद्दतमा प्रत्येक वर्ष डेमोक्रेसी इण्डेक्स जारी गर्दै आएको छ । यो युनिटले १६५ देशको बारेमा प्रतिवेदन जारी गरेको छ, जसको आधारमा नेपालले पाँच स्थान सुधार गरेको हो ।
उक्त रिपोर्टअनुसार भारतलाई भने यो पटक निकै ठूलो झड्का लागेको छ । भारत लोकतान्त्रिक मुलुकहरुको सूचीमा १० स्थान तल झरेको छ । यसअघि ४१ औं स्थानमा रहेको भारत यो पटक भने ५१ औं स्थानमा पुगेको छ ।भारत प्रशासित कश्मीरमा धारा ३७० हटाइनु, असममा एनआरसी र विवादित नागरिकता कानुन (सीएए_ को कारण भारत सूचकाङ्कमा खस्किएको हो ।
लोकतान्त्रिक मुलुकहरुको पहिलो नम्बरको सूचीमा भने नर्वे आएको छ । आइसल्याण्ड दोस्रो, स्विडेन तेस्रो, न्युजिल्याण्ड चौथो, फिनल्याण्ड पाँचौ, आयरल्याण्ड छैटौ, डेनमार्क सातौँ, क्यानडा आठौँ, अस्ट्रेलिया नवौँ र स्विजरल्याण्ड १०औँ स्थानमा छ । साथै अमेरिका २५औँ, जापान २४औँ, इजरायल २८औँ र बेलायत १४औँ स्थानमा छ । त्यसै गरप् पाकिस्तान १०८ औं स्थानमा रहेको छ भने श्रीलंका ६९ औं स्थानमा रहेको छ । त्यस्तै बंगलादेश ८० औं स्थानमा रहेको छ ।
रिपोर्टमा सन् २०१९ लाइ खराब वर्षका रुपमा इङ्गित गरिएको छ । प्रजातन्त्रिक सुचांकमा विशेषगरी ल्याटिन अमेरिका, अफ्रिका र पश्चिम एसियामा गिरावट आएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अधिकांश एसियाली मुलुकमा पनि सुचांकमा गिरावट आएको उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS