काठमाण्डौँ — चालु अंग्रेजी वर्षको पहिलो ११ महिना नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ ।
सन् २०१७ मा ९ लाख ४० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
गत वर्षको पहिलो ११ महिनाको दाँजोमा यस वर्षको पर्यटक वृद्धिदर १६ दशमलव ९ प्रतिशत रहेको छ ।
अध्यागमन विभाग तथा पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख १ हजार ९ सय ३० जना विदेशीले नेपाल भ्रमण गरेका छन् ।
बोर्डका अनुसार पहिलो ११ महिनामा आउने कम्तीमा ३१ वटा मुलुकमध्ये सर्वाधिक ५ मुलुकहरूमा क्रमशस् भारत, चीन, अमेरिका, बेलायत र जर्मनी छन् ।
नेपालकै इतिहासमा पहिलो पटक १० लाख पर्यटक आगमन भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।
उनका अनुसार यो तथ्यांकमा दक्षिणी सीमावर्ती बजारबाट सडकमार्ग हुँदै आउने भारतीयहरूको तथ्यांक समेटिएको छैन ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गर्दै १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
—कान्तिपुर
FACEBOOK COMMENTS