सप्तरी, फागुन २७ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली खण्डमा सोमबार मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिका ५ का २६ वर्षीय प्रकाश चौधरी र त्यही मोटरसाइकलमा पछाडि बसेका कृष्णाशवरण गाउँपालिका ६ का २३ वर्षीय अनिल चौधरीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा विराटनगरमा रहेको नोबेल हस्पिटलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पश्चिमबाट पूवतर्फ आइरहेको स ५ प ९५४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ना ३ प ८५२८ नम्बरको म्याजिक भ्यान आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
FACEBOOK COMMENTS