काठमाडौं, फागुन १४ – रुपन्देहीमाको बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकारले हकप्रद शेयर जारी गर्ने भएको छ । केबलकार निर्माणमा थप पुँजी जुटाउनको लागि कम्पनीले १४ लाख ५२ हजार ८ सय २८ कित्ता शेयर जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १४ करोड ५२ लाख ८२ हजार ८ सय रुपैयाँ पुँजीको हकप्रद शेयर जारी गर्ने जनाएको छ ।
गत माघ २६ गते कम्पनीको सञ्चालक समिति साधारण सभाबाट हकप्रद शेयर जारी गर्ने निर्णय भएको थियो । कम्पनीका शेयरधनीहरुले सो हकप्रद सेयरमा ३५ दिन भित्रसम्म आवेदन गरिसक्नु पर्नेछ ।
रुपन्देहीको बुटवलबाट पर्यटकीयस्थल पाल्पाको वसन्तपुर पुग्ने लुम्बिनी केबलकार निर्माण सुरु भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार एक कार्यक्रमबीच सो केबलकारको शिलान्यास गरेका थिए ।
लुम्बिनी केबुलकार प्रालिले निर्माण थालेको केबलकारले बुटवलको चिडियाखोलादेखि पूर्वी पाल्पाको बसन्तपुरसम्म जोड्ने छ । केबुलकारको बुटवल उपमहानगरपालिका–३ बम्घाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा अन्तिम स्टेसन रहने छ ।
३ अर्ब ५२ करोड रुपैयाँ लागतमा सो केबलकार निर्माणको काम सम्पन्न हुने बताइएको छ ।
FACEBOOK COMMENTS