नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक |
विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमात्र हुने प्रक्षेपण गरेसँगैसरकारले असन्तुष्टि जनाएको छ । बैंकले बिहीबार ‘नेपाल डेभपलमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत मात्रै रहने बताएको छ ।
गत वर्ष विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । सार्बजनिक प्रतिवेदनले यसअघि प्रक्षेपण गरिएको आर्थिक वृद्धिदरलाई संशोधन गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.४ हुने बताएपछि सरकारले असन्तुष्टि जनाएको हो ।
प्रतिवेदन अनुसार सन २०१९ अर्थात ०७५÷०७६ मा नेपालको वृद्धिदर ७.१ र आगामी वर्ष २०२१ मा यस वर्षभन्दा पनि कम ६.५ प्रतिशत मात्रै रहने उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका वृद्धिदर कम आँकलन गरिएको बताए । उनले भने, “नेपालले यस वर्ष ८.५ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको छ अहिले नै सरकारले आर्थिक वृद्धिको लक्ष्यमा कुनै सँसोधन गरेको छैन ।”
अर्थमन्त्रीले विश्व बैंकले आफ्ना वृद्धि प्रक्षेपणमा पुनरावलोकन गर्नु भन्दै नेपालमा थुप्र्रै राम्रा काम भैरहेकोले भन्दै आउने दिनमा नेपालका वृद्धि प्रक्षेपण बढन सक्ने बताए । “अहिलेसम्म हामीले लक्ष्यमा कुनै संशोधन गरेका छैनौं, भ्रममा नपर्नुहोला, नेपालको आर्थिक वृद्धिदरमा सुधार देखिने छ,” उनले भने । उनले नेपालको चालू खाता पनि तुलनात्मक रुपमा राम्रै अवस्थामा रहेकोले यसबारे पछिल्लो जानकारी प्रतिवेदनमा समेट्न पनि आग्रह गरे ।
बैंकका अनुसार चालू आर्थिक वर्षमा नेपालको कृषि क्षेत्रको वृद्धिदर ४ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धिदर ८.३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ७.२ प्रतिशत हुने बताइएको छ । नेपालका लागि विश्व बैंकका वरिष्ठ अर्थशास्त्री केन इमेजेनरीले गत वर्षको तुलनामा यस वर्ष नेपालको मुद्रास्फीति दर पनि बढेर ५ प्रतिशत नाघ्ने बताइन् ।उनले पछिल्लो समय आयात घट्दो र निर्यात बढ्दो प्रवृत्ति नेपालको व्यापारमा देखापरे पनि व्यापार घाटाको स्थितिमा खास परिवर्तन नभएको बताइन् ।
प्रतिवेदन अनुसार यस वर्ष नेपालको चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ६.८ प्रतिशतमा झरे पनि वित्त घाटा भने बढेर जीडीपीको २.६ प्रतिशत पुग्नेछ ।
बैंकले नेपाल भ्रमण वर्ष २०२० को आयोजना हुने, दोस्रो अन्तराष्ट्रिय विमानस्थल सम्पन्न हुने र विभिन्न मुलुकसँगका हवाई सेवा सम्झौतापछि ‘एयर कनेक्टिभिटी’ बढ्नेलगायतका आधारमा सेवा क्षेत्रको विस्तार हुने जनाएको छ । प्रतिबेदनमा बैंकले स्थानीय तहमा तथ्यांकीय अभाव रहेको र उनीहरू गरेको कामको विश्लेषणमा समस्या देखिएको पनि स्पष्ट पारेको छ ।
रेमिट्यान्स वृद्धिदर कम र औद्योगिक उत्पादन पनि कम भएको अवस्थामा त्यसको प्रभाव आर्थिक वृद्धिदरमा पर्न सक्ने बैकको निश्कर्ष छ । बैंकले लगातारको उच्च व्यापार घाटा बाह्य क्षेत्रमा जोखिम बढाउनेतर्फ पनि सचेत हुन पनि नेपालालाई सुझाएको छ ।
निर्यात व्यापार बढाउने र आयात घटाउने उपाय गरे कम जोखिम रहने विश्व बैंकको ठहर छ । बैंकले खर्च क्षमता बढाउन नसक्दा त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको जनाउँदै पुँजीगत खर्च बढाउनको लागि आग्रह गरेको छ । सो अवसरमा अर्थमन्त्री खतिवडाले पुँजीगत खर्च बढाउन नसकेको भने स्वीकार गरेका थिए ।
कार्यक्रममा सहभागिहरूले दीगो आर्थिक विकासका लागि पर्याप्त तथ्यांक (डेटा)को उपलब्धता र त्यसको सहज पहुँच र सही प्रयोगबाट आर्थिक विकासका लागि उपयुक्त रणनीति तय गर्न सहयोग पु-याउने धारणा राखेका छन् ।
FACEBOOK COMMENTS