काठमाडौं, पुस २६ – सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले कृषि तथा होमस्टे परियोजनामा लगानी गर्ने भएको छ । काठमाडौंको सीतापाइलामा मुख्य कार्यालय रहेको संस्थाले आफ्नो बहुउद्देश्यीय परियोजना अन्तरगत आधुनिक कृषि फर्मका साथै होमस्टे परियोजनामा लगानी गर्ने भएको हो ।
आधुनिक कृषि फर्म सञ्चालनका लागि कम्तिमा ३० देखि ५० रोपनी जग्गा र होमस्टेका लागि पहिलो चरणमा, नागार्जुन नगरपालिका वडा नं. ८ स्थित भिमढुंगा, थाप्ले गाउंलाई आन्तरिक पर्यटन केन्द्रको रुपमा विकास गर्न १ रोपनी १३ आना जग्गा खरिद प्रक्रिया अघि बढाइसकिएको संस्थाका अध्यक्ष केदार मानन्धरले जानकारी दिए ।
यसका साथै संस्थाले आगामी दिनमा बहुउद्देश्यीय परियोजना अन्तर्गत होम स्टे प्रवद्र्धन, नेट टि.भी सम्बन्धि कार्य तथा स्थानीय कृषक तथा सदस्य कृषकहरुको लागि शितगृह समेत सञ्चालन गरि सदस्य तथा स्थानीयवासीहरुको आय बृद्धि गर्ने योजनामा समेत संस्थाले लिएको अध्यक्ष मानन्धरले बताए ।
त्यसैगरी दोश्रो चरणमा संस्थामा आबद्ध महिला समुहसँग संयोजन गरि परम्परागत शैलीबाट घरहरु निर्माण गरि होम स्टे सञ्चालन गर्ने र उक्त तामाङ बस्तीमा निर्माण हुने नयाँ घरहरुलाई पनि होम स्टेको रुपमा परिणत गर्न प्रेरित गरि आयआर्जन र पर्यटकिय स्थलको रुपमा बिकास गर्ने अवधारणा संस्थाले लिएको बताए ।
सोही अवसरमा अध्यक्ष मानन्धरले सहकारी संस्थाहरुले उत्पादन गरेका खाद्यान्न तथा उपभोग्य वस्तुहरुको प्रशोधन तथा बजारीकरण गर्न संस्थाले उपभोक्ता सहकारी बजार, भण्डारण र चिस्यान केन्द्र सञ्चालन गर्न परियोजना तयार गरि सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।
संस्थाको २१ औं वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०७६/७८ को कार्यप्रगति सार्वजनिक गर्दै संस्थाले चालू आर्थिक २०७७/७८ का लागि यस्तो कार्ययोजना बनाएको हो । संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा निक्षेप १ अर्ब १० करोड र शेयर पूँजी ७ करोड ४० लाख संकलनको लक्ष्य लिएको छ भने, कर्जा लगानीमा १ अर्ब ५ करोडको लक्ष्य लिएको छ।
FACEBOOK COMMENTS