काठमाडौं, मंसिर १६ – कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन्।
स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्कोमा छन्। शङ्खरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए। “हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन शुरु गर्नु भनेर भन्न मिल्दैन। कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ”, प्रमुख श्रेष्ठले भने। यहाँँ २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय रहेको छ।
तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर मङ्सिर २१ गते बाट विद्यालय सञ्चालन गर्ने भएको छ। एकै पटक धेरै विद्यार्थी भेला गराउँदा सङ्क्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानले बताए।
FACEBOOK COMMENTS