काठमाडौं,फागुन २०-हिमालय एअरलाइन्सले ए ३१९–११५ सिरिजको नयाँ विमान भित्राएको छ । नयाँ विमान सोमबार काठमाडौं आइपुगेको एअरलाइन्सले जनाएको छ ।
एयरलाइन्सले आफ्नो ५ औं वार्षिकोत्सवका अवसरमा नयाँ जहाज थप गरेको घोषणा गरेको हो । क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएराति अवतरण गराएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
नयाँ विमानको प्रवेशसँगै हिमालय एअरलाइन्ससँग तीन वटा एअरबस ए ३२०–२१४ र एक एअरबस ३१९–११५ गरी चार वटा विमान भएका छन् । एअरबस ए ३१९–११५ छोटोदेखि मध्यम दुरीको उडान भर्ने एअरबस ए–३२० परिवारकै विमान हो । एयरबस कम्पनीद्वारा निर्मित यो जहाजमा न्यारो–बडी, दुई इन्जिनयुक्त जेट विमान हो जस्ले व्यावसायिक यात्रीलाई ल्याउने–लाने गर्छ । आठ बिजनेस क्लास सिट र एक सय २० इकोनोमी क्लास सिट क्षमता रहेको विमानले १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्नेछ ।
यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान सङ्ख्या बढाउँदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्ने हिमालय एअरलाइन्सले जनाएको छ । एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुइयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS